नेपाल बरोदासँग ३७ रनले पराजित
एसएमएस फ्रेन्डशिप कप अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल बरोदासँग ३७ रनले पराजित भएको छ।
गुजरातमा जारी टी-२० प्रतियोगितामा बरोदाले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८.५ ओभरमा ११९ रनमै समेटिएको हो। नेपालका लागि सन्दीप जोराले ५६ रन बनाए। उनले ४३ बलमा चार छक्का र तीन चौका प्रहार गरे।
त्यस्तै, विवेक यादवले १७ र कुशल भुर्तेलले १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बरोदाका लागि ध्रुव पटेलले चार विकेट लिए। त्यस्तै, लक्षित टोक्सियाले तीन, जय आभालेले दुई र हेमन्त पुण्डेले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको बरोदाले आठ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। बरोदाका लागि शाश्वत रावतले ३१, ध्रुव पटेलले २९, अमित पासीले २६, मोहित मोंगियाले २० र अभिमन्यु सिंह राजपूतले ११ रन बनाए।
नेपालका लागि करण केसी र गुल्सन झाले दुई-दुई विकेट लिए भने आकाश चन्द, प्रतीश जिसी, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिएका थिए।
नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ। त्यस्तै, गुजरात पनि फाइनलमा पुगेको छ।