पदमार्गमा बदलिएको भैंसीगोठको बाटो
दशकअघिसम्म पनि पाउद्वारका बासिन्दाका लागि भैंसीगोठ जाने बाटो अहिले देश-विदेशमा चर्चित बनेको छ, खोपारा पदमार्गका रुपमा।
ढकमक्क फुलेका लालीगुँराससँगै सुनसान वनको बाटो हिंड्न। कलकल बग्ने खोला तर्दै उकालो चढ्न। मठमन्दिरलाई दाहिने पार्दै हिमताल छुन। वा, धौलागिरि, अन्नपूर्ण लगायत हिमशृंखलाको नजिकबाट दृश्यावलोकन गर्न।
सबै अनुभव एउटै यात्रामा बटुल्न मिल्ने पदमार्ग हो- खोपारा। दशक पुरानो पदमार्गमा विदेशी पर्यटक रमाइरहेका भेटिन्छन्। स्थानीय होटल व्यवसायीका अनुसार स्वदेशीभन्दा विदेशी पर्यटक आउने गरेका छन्। कतिपय स्थानीय त खोपारालाई विदेशीले चिनेको तर नेपालीले नचिनेको पदमार्ग भन्छन्। खोपारा डाँडालाई स्थानीयहरू खोप्रा पनि भन्ने गर्छन्।
समुद्री सतहबाट तीन हजार ६६० मिटरको उचाइमा रहेको खोपारा डाँडाबाट धौलागिरि, अन्नपूर्ण दक्षिण, अन्नपूर्ण प्रथम लगायत हिमाल नजिकबाट नियाल्न सकिन्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा-५ मा पर्ने डाँडा पर्यटकीयसँगै धार्मिक र सांस्कृतिक हिसाबले पनि महत्त्वपूर्ण छ।
खोपारा डाँडाबाट एक दिनको बाटो हिंडेर पुगिने शक्तिपीठ छ, खयर भारानी। प्रख्यात धार्मिकस्थलका रूपमा रहेको खयर भारानीमा विशेषगरी जनैपूर्णिमाका दिन पूजापाठ गर्नेको भीड लाग्छ। खयर भारानी पुगेपछि चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास छ।
अन्नपूर्ण दक्षिण र अन्नपूर्ण प्रथम हिमालको फेदमा बसेको खयर हिमताल समुद्री सतहबाट चार हजार ६३० मिटरमा छ। हिमतालमा रहेको शिलालाई भारानीको प्रतीक मानिन्छ। खोपारा डाँडा चढ्ने पदयात्री हिमतालको अवलोकन गर्न पुग्छन्।
धार्मिक पर्यटनका रूपमा खयर भारानीको विकास गर्ने योजना सहित खोपारा डाँडा पदमार्ग सञ्चालमा ल्याइएको हो। बेलायती सेनाका लेफ्टिनेन्ट राजु पुनको नेतृत्वमा २०६८ सालदेखि खयर भारानी क्षेत्रमा पदमार्ग सुधार, धर्मशाला निर्माण, मन्दिर निर्माण लगायत काम भएका छन्।
हाल खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका रूपमा समग्र खोपारा डाँडा पदयात्रा र खयर भारानी क्षेत्रको सुधारका काम भइरहेका छन्। खोपारा डाँडा तथा खयर ताल पर्ने अन्नपूर्ण गाउँपालिका-५ का वडाध्यक्ष राजेश तिलिजा पुन पदयात्रा क्षेत्रको स्तरोन्नतिका लागि काम भइरहेको बताउँछन्।
खोपारा डाँडाको पदयात्रा गर्नेहरू कतिपय खयर भारानी (खयर ताल) पुग्छन् भने कतिपय डाँडाबाटै फर्किन्छन्। खोपारा डाँडामा पाउद्वार पर्यटन सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक लज छ। पदयात्रीले लजमै वास बस्नुपर्छ।
खोपारा डाँडाको टुप्पोमा पुग्दासम्म संसारसँग अलग हुनु पर्दैन। म्याग्दीकै वैज्ञानिक महावीर पुनको सक्रियतामा जडान गरिएको इन्टरनेट चौबीसै घण्टा चलाउन मिल्छ। पुनकै सक्रियतामा बनेको स्थानीय जलविद्युत् आयोजनाको बिजुलीले दैनिकी सहज बनाएको छ।
दशकअघि भने खोपारा डाँडा क्षेत्रमा भैंसीगोठ थिए। डाँडाको फेदको पाउद्वार गाउँमा पुनको बस्ती छ। स्थानीय बासिन्दाले खोपारा डाँडामा भैंसीगोठ राखेका थिए। पाउद्वारका सबैजसो परिवारका भैंसीगोठ हुन्थे।
पाउद्वार र भैंसीगोठमा ओहोरदोहोर गरिराख्ने गरेको स्थानीय बासिन्दा एवं खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका सचिव धनबहादुर पाइजा पुन सुनाउँछन्। “पाउद्वारका बासिन्दा भैंसीगोठका लागि खोपारा पुग्थे,” पुन भन्छन्।
भैंसीगोठ आवतजावत गर्ने स्थानीय सँगसँगै विदेशी पर्यटक क्याम्पिङ गर्न खोपारा डाँडा पुग्न थाले। उनीहरूलाई बसोबासको व्यवस्था मिलाउने उद्देश्यले लज खुल्यो। सचिव पुन भन्छन्, “भैंसीगोठ जाने र विदेशीहरू क्याम्पिङका लागि आउँथे, पछि सामुदायिक लज नै त्यहाँ खुल्यो।”
स्थानीय पहलमा बिस्तारै भैंसीगोठ जाने बाटोलाई पदमार्गका रूपमा विस्तार गरियो। आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेसँगै आर्थिक गतिविधि पनि बढ्न थाले। अहिले त भैंसीगोठको बाटो चर्चित पदमार्गमा बदलिएको छ।
कसरी पुगिन्छ?
खोपारा डाँडा पुग्ने तीन वटा बाटा छन्। एउटा, म्याग्दी भएर जान सकिन्छ भने अर्को पोखराबाट। पोखरा भएर जाँदा पनि दुई वटा बाटा छन्।
पोखराबाट वनठाँटी हुँदै खोपारा
पोखराको मिलनचोकबाट वनठाँटीसम्म गाडीमा यात्रा गर्न सकिन्छ। नयाँपुल पुगेर गाडी चढ्ने पनि गरिन्छ। तीन घण्टा यात्रापछि वनठाँटी पुगेर घोडेपानीका लागि पदयात्रा शुरू हुन्छ।
विदेशी पर्यटक भने पोखराको नयाँपुलबाट नै पदयात्रा शुरू गर्छन्। वनठाँटीबाट घोडेपानी पुग्न तीन घण्टा लाग्छ। चैत-वैशाखमा लालीगुराँसले ढाकेको वनको बाटोमा हिंड्दै, खोला किनार टहल्दै यात्रा गर्दा अनुपम दृश्यावलोकन गर्न सकिन्छ।
घोडेपानीमा वास बसेर अर्को बिहान पुनहिलको सूर्योदय हेर्न धेरै पदयात्री लालायित हुन्छन्। दोस्रो दिन यात्रा तय गर्न सकिन्छ। पुनहिल नपुग्ने हो भने घोडेपानी नबसेर स्वाँत पुगेर पहिलो दिनको पदयात्रा टुंग्याउन सकिन्छ।
घोडेपानीबाट चार घण्टामा स्वाँत पुगिन्छ। स्वाँतसम्म पुग्न अर्को विकल्प गाडी पनि हो। पोखराबाट बिहान म्याग्दी हुँदै घोडेपानी, स्वाँतसम्म गाडीमै हुइँकिन पनि सकिन्छ।
स्वाँतमा तीन वटा होटल छन्। पहिले फोन गरेर बूकिङ गर्दा सजिलो हुन्छ। सानो बस्ती भएको गाउँ हो, स्वाँत।
दोस्रो दिन स्वाँतबाट खोपारा डाँडाका लागि यात्रा शुरू हुन्छ। आलखर्क जलविद्युत् आयोजना हुँदै चिस्तिबाङ पुगेर दिउँसोको भोजनपछि खोपारा डाँडा पुग्न सकिन्छ।
पहिलो दिन घोडेपानीमै बस्दा दोस्रो दिन चिस्तिबाङसम्म पुग्न सकिन्छ। त्यहाँबाट तेस्रो दिन करीब चार घण्टा ठाडो उकालो चढेर खोपारा डाँडा पुगिन्छ।
खोपारा डाँडाबाट ६ घण्टाको यात्रा तय गरेर खयर ताल (भारानी) पुगिन्छ। खयर तालमा बस्ने ठाउँको व्यवस्था छैन। बाटोमा बस्न सकिन्छ भने फर्केर खोपारा डाँडामै आउन पनि सकिन्छ।
पोखराबाट घान्द्रुङ हुँदै खोपारा
यस पदमार्गमा मुल्डे भ्यू पोइन्ट पनि पर्ने भएकाले विदेशी पर्यटक र लामो यात्रा गर्नेहरूको रोजाइमा पर्छ। पोखराको नयाँपुलबाट घान्द्रुङसम्म गाडीमा हुइँकिन सकिन्छ। घान्द्रुङबाट करीब चार घण्टा हिंडेर टाढापानी पुग्न सकिन्छ।
टाढापानीबाट सोहिन दोबाटो हुँदै मुल्डे भ्यू पोइन्ट पुग्न सकियो। हिंड्न सक्नेले एकैदिन दोबाटोमा आएर वास बस्छन्। भोलिपल्ट बिहान मुल्डेको सूर्योदय हेर्ने पनि हुन्छन्। मुल्डेबाट दुई घण्टामा बयेलीखर्क हुँदै चिस्तिबाङ पुगिन्छ। त्यहाँबाट चार घण्टाको ठाडो उकालो हिंडेर खोपारा डाँडा चढ्न सकिन्छ।
पोखराबाट पाउद्वार हुँदै खोपारा
पदयात्राको दिन छोट्याउन वा एकैदिन धेरै हिंड्न यो पदमार्ग उत्तम छ। पोखराबाट म्याग्दीको पाउद्वार गाउँसम्म गाडीमै पुगिन्छ। पुनको बसोबास रहेको पाउद्वार गाउँ खोपारा डाँडाको फेद हो। विशेष गरी खयर भारानी पुग्नेहरू पाउद्वार गाउँको नै बाटो तय गर्छन्। खयर भारानी पुग्ने द्वार भएकाले यसलाई पाउद्वार भनिएको हो।
पाउद्वारबाट बिहानै खोपारा डाँडाका लागि यात्रा गर्न सकिन्छ। खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषले विभिन्न थानको निर्माणदेखि पदयात्रा सजिलो बनाउन ढुंगा ओछ्याएको छ।
यो पदमार्गमा सिंढी उक्लिनुपर्ने भएकाले यात्रा कठिनै हुन्छ। स्थानीय बासिन्दा चार घण्टामै खोपरा डाँडा पुग्ने गरेको भए पनि पदयात्रीलाई भने अलि बढी समय लाग्छ। खोपारा डाँडा पुग्न नसक्दा पनि बीचतिर बसोबासका लागि होटल छन्।
कति लाग्छ समय र खर्च?
खोपारा डाँडा र खयर भारानीसम्मको यात्राका लागि कम्तीमा पाँच दिन छुट्याउनै पर्छ। पदमार्गको छनोट हेरेर यात्राको दिन अझै लम्बिन सक्छ।
यस पदमार्गमा बिहान-बेलुकाको खाना र वास गरी प्रतिदिन प्रतिव्यक्ति एक हजार रुपैयाँले पुग्छ। चिस्तिबाङ, दोबाटो, स्वाँतको बाटोमा भने प्रतिव्यक्ति ८०० देखि हजार रुपैयाँसम्म खर्च हुन्छ।