हत्या आरोपीलाई सफाइ दिएपछि उच्च अदालतको इजलासमै नाराबाजी, दुई जना पक्राउ
हत्या आरोपीलाई सफाइ दिएपछि असन्तुष्ट पीडित पक्षले उच्च अदालत, जनकपुरको इजलासमै नाराबाजी गरेको छ भने प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
धनुषाको सबैला नगरपालिका-१ की सिकिलदेवी गडेरी र श्यामकिशोर साह सहितको जाहेरीका आधारमा सरकारवादी मुद्दामा आरोपीलाई उच्च अदालतले शुक्रबार सफाइ दिएको छ। त्यसप्रति असन्तुष्ट पीडित पक्षले इजलासमै नाराबाजी गरेको हो।
नाराबाजी गर्ने सञ्जीव राउत र रामसागर साहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई इजलासबाटै पक्राउ गरिएको हो। अदालतको अवहेलनामा मुद्दा चलाउने गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उच्च अदालतका न्यायाधीशद्वय किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालको संयुक्त इजलासले जिल्ला अदालत, धनुषाको फैसला उल्टाउँदै सबै प्रतिवादीलाई सफाइ दिएको छ। जिल्ला अदालतले महेश यादव, महेन्द्र यादव, रामविहारी भन्ने लालविहारी यादवलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो।
त्यसैगरी, जगदीश यादव, पुष्पनारायण यादव, रामविलास यादव, प्रदीप यादव, बुधेश्वर यादव, राजदेव यादव, सीताशरण यादव, देवलाल यादव, लक्ष्मीनारायण यादव, सन्तोष यादव, जगदीश राउत, महेन्द्र यादव, जिवछ यादव, दुर्गाप्रसाद साह, देवनारायण मण्डल र अच्छेलाल महतोलाई एक-एक वर्ष कैद सजाय तोकेको थियो।
उनीहरू सबैलाई उच्च अदालतले सफाइ दिएको उच्च अदालतका उपरजिस्ट्रार सुशीलकुमार यादवले जानकारी दिए।
सबैलामा रहेको मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचनको विषयमा २०७१ चैत ८ मा छलफल भइरहेको वेला झगडा भएको थियो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को एक पक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कसलाई उम्मेदवार बनाउने भनी रामदेव ठाकुरको घरमा बसेर छलफल गरिरहेको थियो। त्यही वेला एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका स्थानीय योगनारायण यादवको नेतृत्वमा आएको समूहले आक्रमण गरेको थियो।
आक्रमणबाट रामसेवक राउत खडेरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि काठमाडौं लग्दै गर्दा बाटोमा मृत्यु भएको थियो।
त्यस्तै, छलफलमा सहभागी रामप्रकाश यादवलाई भने त्यही राति १ बजे गोली हानी हत्या गरिएको थियो।
दुवैका आफन्तको जाहेरीका आधारमा आक्रमण गर्नेहरू विरुद्ध मुद्दा दायर भएको थियो। त्यसमा जिल्ला अदालतले दोषी ठहर गर्दै कैद सजाय तोकेको थियो। तर उच्च अदालतले सबैलाई सफाइ दिएपछि पीडित पक्षले इजलासमै नाराबाजी गरेको हो।