लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महराले दाबी गरेका छन्।
महराले शुक्रबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेका हुन्। गठबन्धनका तर्फबाट ४४ सांसदको हस्ताक्षर बुझाएका छन्।
मुख्यमन्त्रीका लागि दाबी पेश गर्न महरासँगै नेकपा (एमाले) संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री लीला गिरी सहितका नेता प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।
महराले पेश गरेको दाबीमा एमालेका २९, माओवादीका १०, जसपाका तीन, नेकपा (एकीकृत समाजवादी)का एक र एक स्वतन्त्र सांसदको हस्ताक्षर छ।
नयाँ समीकरणको गठबन्धनलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि समर्थन गर्ने संसदीय दलका नेता धर्मबहादुर चौधरीले बताए। नाउपाका चार सांसद छन्।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीराम चौधरीले बिहीबार राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुखले मिलिजुली सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।