राप्रपा नेपालले प्रदेश उपनिर्वाचनमा भाग नलिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनमा भाग नलिने भएको छ।
राप्रपा नेपाल केन्द्रीय समितिको बैठकले बझाङ १ ‘क’ को उपनिर्वाचनमा उम्मेदवार नउठाउने निर्णय गरेको छ। संघीय संरचना खारेजीको माग राखेर आन्दोलनमा रहेकाले प्रदेश सभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार नउठाउने निर्णय गरिएको राप्रपा नेपालले जनाएको छ।
त्यस्तै, राप्रपा नेपालले इलाम २ मा गणेशबहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रतिनिधि सभा सदस्यका लागि आउँदो वैशाख १५ मा इलाममा उपनिर्वाचन हुँदै छ।
२०७९ सालको निर्वाचनमा इलाम २ बाट एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए। उनको निधन भएपछि रिक्त रहेको प्रदेश सभा सदस्यमा उपनिर्वाचन हुन लागेको हो।
यस क्षेत्रमा नेकपा (एमाले)ले सुहाङ नेम्वाङ, नेपाली कांग्रेसले डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लक्ष्मी गुरुङ, नेकपा (एकीकृत समाजवादी)ले जीतबहादुर राई र जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्। डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।