नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छ : दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिएका छन्।
मध्यपश्चिम विश्वविद्यालयको १४औं सभा बैठकमा प्रधानमन्त्री दाहालले पाठ्यक्रम पुनःसंरचना, भौतिक एवं मानव संसाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए।
उनले भने, “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक वृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदानप्रदान र पूर्वाधार विकास सम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सह्रानीय छन्।”
विश्वविद्यालयका सम्पूर्ण शैक्षिक क्रियाकलाप पूर्व निर्धारित शैक्षिक पात्रो अनुसार सञ्चालन गर्ने नीति लिनु सुधारको पाटो भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रो अनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतीजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने विश्वास दिलाए।
उनले परिवर्तनशील वैश्विक परिवेश एवं राष्ट्रिय, क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको माग अनुसार विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई थप प्राथमिकता दिन सुझाव दिए।
कृषि तथा वन विज्ञानका क्षेत्रमा कर्णाली प्रदेश र समग्र नेपालकै भौगोलिक, सामाजिक एवं आर्थिक अवस्थालाई मध्यनजर गर्दै जल, जमीन, जंगल, जडीबुटी र जनशक्तिमा आधारित शैक्षिक, व्यावसायिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।