फागुनसम्म कस्तो छ अर्थतन्त्रको अवस्था?
रेमिटेन्समा वृद्धि भएकाले देशको विदेशी मुद्रा सञ्चितिमा लगातार सुधार आइरहेको नेपाल राष्ट्र ब्यांकले तथ्यांक सार्वजनिक गरेको छ।
केन्द्रीय ब्यांकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार फागुनमा देशको विदेशी मुद्राको सञ्चिति १४ अर्ब १४ करोड अमेरिकी डलर पुगेको छ। यो गत असारका तुलनामा २०.८ प्रतिशत धेरै हो। फागुनमा भएको विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै धेरै हो।
राष्ट्र ब्यांकका अनुसार यो सञ्चिति रकमले एक वर्षभन्दा बढी अवधिको वस्तु र सेवाको आयात थेग्छ। यो देशसँग थुप्रिएको मनग्गे विदेशी मुद्रा हो। सामान्यतया सात महीनाको वस्तु र सेवाको आयात थेग्ने विदेशी मुद्रा मुलुकसँग भए राम्रो मानिन्छ।
दुई वर्षअघि विदेशी मुद्राको सञ्चिति तीव्र गतिमा क्षयीकरण भएपछि सरकारले आयात नियन्त्रण गर्न विभिन्न नीति अघि सारेको थियो। जस अनुसार सवारीसाधन, महँगा मोबाइल फोन आदिको आयात रोकिएको थियो।
तर वैदेशिक रोजगारीमा जाने नेपालीको क्रम बढेसँगै पछिल्लो समयमा रेमिटेन्सको आप्रवाह लगातार बढिरहेको छ। जसले गर्दा विदेशी मुद्राको सञ्चितिमा ठूलो सुधार आएको हो।
साउनदेखि फागुनसम्म नेपालले सात अर्ब २४ करोड अमेरिकी डलर रेमिटेन्स नेपाल भित्र्याएको छ। यो गत वर्षको यही अवधिका तुलनामा १८.८ प्रतिशतले धेरै हो। नेपाली मुद्राका आधारमा यस आर्थिक वर्षको पहिलो आठ महीनामा नेपालले नौ खर्ब ६१ अर्ब रुपैयाँ रेमिटेन्स भित्र्याएको छ।
रेमिटेन्स लगातार बढिरहेको तथा आयात पनि खस्किएका कारण देशको अन्य मुलुकसँगको कारोबारमा नाफा देखिएको छ। वैदेशिक कारोबारमा भएको नाफाघाटाको स्थितिलाई चालू खाताको विवरणले देखाएको छ। फागुनसम्म नेपालको चालू खाता एक अर्ब २५ करोड अमेरिकी डलरले बचतमा छ। गत वर्षको यही अवधिमा चालू खाता ४२ करोड ९३ अमेरिकी डलरले घाटामा थियो। चालू खाता बचतमा हुनुले देशको बाहिरिनेभन्दा भित्रिने रकम धेरै भएको बुझाउँछ।
वैदेशिक कारोबारलाई जनाउने चालू खाता नाफामा भए पनि यो देशले धेरै वस्तु र सेवा निर्यात गरेर सम्भव भएको भने होइन। नेपालको वैदेशिक व्यापारमा ठूलो घाटा छ। अर्थात्, निर्यातभन्दा आयात अत्यधिक छ। राष्ट्र ब्यांकका अनुसार यस वर्षको साउनदेखि फागुनसम्म नेपालले एक खर्ब ६२ करोडको वस्तु निर्यात गरेको छ। तर यही अवधिमा आयात १० खर्ब ३० अर्ब रुपैयाँको छ। अर्थात्, आठ महीनाको अवधिमा देशको वैदेशिक व्यापार नौ खर्ब २९ अर्ब रुपैयाँ बराबर छ।
गत वर्षको तुलनामा यस वर्ष आयात र निर्यात दुवै खस्किएको छ। बजारमा वस्तु र सेवाको माग घटेका कारण आयात घट्न पुगेको व्यवसायीले बताउने गरेका छन्। गत वर्षको तुलनामा यस वर्षको फागुनसम्म आयात २.७ प्रतिशत र निर्यात ४ प्रतिशतले घटेको छ।
देशको वैदेशिक कारोबारको स्थिति तुलनात्मक रूपमा सकारात्मक नै देखिए पनि यही मात्रै तथ्यांकले अर्थतन्त्रको वास्तविक चित्र देखाउँदैन। अर्थतन्त्रका मुख्यतया चार क्षेत्र हुन्छन्, मानिसको आम्दानी वृद्धि, रोजगारीलाई जनाउने वास्तविक क्षेत्र, कर्जा, निक्षेप आदिलाई बुझाउने मौद्रिक क्षेत्र, सरकारको राजस्व तथा खर्चलाई जनाउने सरकारी वित्तको क्षेत्र र वैदेशिक कारोबारलाई बुझाउने बाह्य क्षेत्र।
बाह्य क्षेत्रका अतिरिक्त अन्य केही क्षेत्रमा भने निराशाजनक स्थिति छ। पछिल्लो समयमा देशको अर्थतन्त्रको विस्तार तथा मानिसको आम्दानीको वृद्धिदर सुस्त छ। गत आर्थिक वर्षमा १.९ प्रतिशतले मात्रै अर्थतन्त्रको विस्तार भएको अनुमान गरिएको छ।
विश्व ब्यांकले यस वर्ष पनि आर्थिक वृद्धिदर ३.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ। आर्थिक क्रियाकलाप धेरै चलायमान हुन नपाउँदा तथा नयाँ लगानी वृद्धिको गति शिथिल हुँदा रोजगारी पनि बढ्न सकेको छैन। व्यवसायीले बजारमा वस्तु र सेवाको माग घटिरहेको बताउने गरेका छन्। बजारमा माग घट्नुको अर्थ मानिसको खर्च गर्न सक्ने क्षमता नबढेको बुझाउँछ।
अर्कातिर, सरकारको आम्दानी र खर्च दुवैमा निराशाजनक स्थिति छ। सरकारी आम्दानी र खर्चको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार यस आर्थिक वर्षको चैत २१ सम्म सरकारले वर्षभरिमा उठाउने लक्ष्य राखेकोमध्ये ४७.५७ प्रतिशत मात्रै राजस्व उठाएको छ। यस वर्ष १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा ६ खर्ब ७६ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ।
त्यस्तै, विकासलक्ष्यित पूँजीगत कामका लागि यस वर्ष तीन खर्ब दुई अर्ब रुपैयाँ खर्च गरिने उद्देश्य राखिएकोमा अहिलेसम्म ९१ अर्ब २७ करोड रुपैयाँ मात्रै खर्च भएको छ। यसले आर्थिक वर्ष सकिन करीब तीन महीना बाँकी रहँदा सरकारले वार्षिक लक्ष्यको एकतिहाइ पनि खर्च गर्न नसकेको बुझाउँछ। पूँजीगत खर्च कम हुनुले लक्ष्य अनुसार विकास निर्माणका काम भइरहेका छैनन् भन्ने संकेत गर्छ।