इलाममा माओवादीको समर्थनले एमालेलाई फाइदा होला?
एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउन सत्तारूढ माओवादीले इलाम २ मा उम्मेदवारी नदिने भएको छ।
आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारी नदिने तय गरेको छ। सत्ता साझेदार नेकपा (एमाले)लाई समर्थन गर्न उम्मेदवार नउठाउने सहमति भएको माओवादी नेताहरूले बताएका छन्।
माओवादी नेता हरिबोल गजुरेल सत्ता गठबन्धनको प्रमुख दल भएकाले एमाले उम्मेदवारलाई सघाउने सहमति भएको बताउँछन्। गजुरेल भन्छन्, “इलाममा एमालेलाई समर्थन गर्ने सहमति भएको हो तर औपचारिक निर्णय भइसकेको छैन। सत्ता गठबन्धनमा एमाले प्रमुख पार्टी भएकाले स्वाभाविक रूपमा यहाँ समर्थन गर्ने सहमति भएको हो।”
इलाम २ मा नेपाली कांग्रेसले डम्बरबहादुर खड्का, एमालेले सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लक्ष्मी गुरुङ, नेकपा (एकीकृत समाजवादी)ले जीतबहादुर राई, जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उठाउने भएका छन्। डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
यस क्षेत्रमा २०७९ सालको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई झिनो मतान्तरले पराजित गरेका थिए। नेम्वाङ ३० हजार २० मत प्राप्त गरेर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९०६ मत पाएका थिए।
संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङको गत भदौमा निधन भएपछि रिक्त पदका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले खड्कालाई पुनः उम्मेदवार बनाउने निर्णय गरेको हो। एमाले उम्मेदवार सुहाङ सुवासचन्द्र नेम्वाङका छोरा हुन्।
गत निर्वाचनमा कांग्रेस उम्मेदवार खड्कालाई माओवादी र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेको थियो। केन्द्रमा गठबन्धनमा परिवर्तन भएसँगै माओवादीले एमाले उम्मेदवारलाई समर्थन गर्ने भएको हो।
माओवादीको समर्थनले के एमालेलाई फाइदा होला त? “माओवादीको भोट त थपिने नै भयो, कम्युनिस्ट पार्टी एक भएर निर्वाचनमा जाँदा मतदातामा सकारात्मक सन्देश पनि जान्छ,” एमाले स्थायी कमिटी सदस्य तथा इलाम इन्चार्ज शिवमाया तुम्बाहाङफे भन्छिन्।
यो निर्वाचन क्षेत्रमा माओवादी तेस्रो ठूलो पार्टी हो। २०७९ सालको चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ माओवादीले पाँच हजार १५३ मत प्राप्त गरेको थियो। त्यति वेला समानुपातिकमा एमालेको २६ हजार ५६२ र कांग्रेसको २२ हजार ३३३ मत थियो।
समानुपातिकतर्फ चौथो ठूलो दल रास्वपाले चार हजार ६८६, मंगोल नेशनल अर्गनाइजेशनले एक हजार ६६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार ४१३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार ३२९, राप्रपाले एक हजार १९१, जनता समाजवादी पार्टीले ९०६ र एकीकृत समाजवादीले ५८६ मत प्राप्त गरेका थिए।