मूल्यवृद्धि अढाई वर्षपछि न्यून बिन्दुमा, खानेतेलको मूल्य घट्यो
नेपाल राष्ट्र ब्यांकले मूल्यवृद्धि साढे दुई वर्षकै न्यून बिन्दुमा ओर्लिएको तथ्यांक सार्वजनिक गरेको छ।
केन्द्रीय ब्यांकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले फागुन महीनामा मूल्यवृद्धि दर ४.८२ प्रतिशत मात्रै रहेको देखाएको हो। गत वर्षको यही अवधिमा मूल्यवृद्धि दर ७.४४ प्रतिशत थियो। अघिल्लो वर्षको सोही अवधिका तुलनामा अहिले वस्तुको मूल्यमा आएको परिवर्तनलाई गणना गरेर मूल्यवृद्धिको आँकडा निकालिन्छ।
फागुनको मूल्यवृद्धि दर पछिल्लो अढाई वर्षयताकै कम हो। २०७८ असोजमा मूल्यवृद्धि दर ४.२४ प्रतिशत मात्रै थियो। त्यसयताका दुई वर्ष मूल्यवृद्धि उच्च स्थितिमा रह्यो।
गत भदौ महीनायता मूल्यवृद्धि दर घटिरहेको तथ्यांकले देखाएको छ। भदौमा मूल्यवृद्धि ८.१९ प्रतिशत पुगेको थियो। यो असोजमा ७.५ प्रतिशतमा ओर्लिएको थियो। त्यसयताका महीनामा पनि मूल्यवृद्धि दर घटेर पाँच प्रतिशतको हाराहारीमा कायम थियो। मूल्यवृद्धि दर गत माघमा ५.०१ प्रतिशत थियो भने फागुनमा पाँच प्रतिशतभन्दा पनि तल ओर्लिएको हो।
केन्द्रीय ब्यांकका अनुसार फागुनमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि दर ५.९४ प्रतिशत र गैरखाद्य समूहको मूल्यवृद्धि दर ३.९५ प्रतिशत छ। यसले तुलनात्मक रूपमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि उच्च नै रहेको बुझाउँछ। भान्सामा प्रयोग हुने खाद्यान्न लगायत वस्तुको मूल्यवृद्धि धेरै हुँदा न्यून आय भएका नागरिक मर्कामा पर्छन्।
फागुनमा अघिल्लो वर्षको तुलनामा सबैभन्दा धेरै मरमसलाको मूल्य २८.१७ प्रतिशतले बढेको देखिएको छ। त्यसैगरी, तरकारीको मूल्य १४ प्रतिशतले, दाल र गेडागुडीको मूल्य ११.२२ प्रतिशतले बढेको छ। खाद्यान्नको मूल्य ७.३५ प्रतिशतले बढेको छ।
तर फागुनमा घ्यूतेलको मूल्य गत वर्षको सोही अवधिका तुलनामा ११.७९ प्रतिशतले घटेको छ। रूस-युक्रेन युद्धपछि दुई वर्षदेखि बढिरहेको तेलको मूल्य पछिल्ला महीनामा घट्दो क्रममा छ। यसको असर मूल्यवृद्धिको तथ्यांकमा देखिएको हो। गत वर्षको फागुनको तुलनामा यस वर्ष माछामासुको मूल्य पनि नगण्य अर्थात् ०.९८ प्रतिशतले मात्रै बढेको छ।
केन्द्रीय ब्यांकले घरपरिवारले खपत गर्ने ४९६ वटा वस्तु तथा सेवाको औसत भार निकालेर त्यसको बजार मूल्यमा आएको परिवर्तन गणना गरी मूल्यवृद्धिको तथ्यांक सार्वजनिक गर्छ। त्यसैले, कुनै एउटा वस्तुको मूल्य उच्च गतिमा थपघट हुँदैमा सबै सरदरमा मूल्यवृद्धि दरमा ठूलो परिवर्तन आउँदैन।
केन्द्रीय ब्यांकले फागुनमा निर्माण सामग्रीको मूल्य गत वर्षको तुलनामा ५.६९ प्रतिशतले घटेको जनाएको छ।
फागुनमा मूल्यवृद्धि दरको तुलनामा तलब र ज्यालादर बढी भएको देखिएको छ। तलब र ज्याला दर गत वर्षको तुलनामा ५.५६ प्रतिशतले बढेको छ। मूल्यवृद्धिका तुलनामा औसत तलब र ज्याला बढ्नु रोजगारीमा रहेकाहरूका लागि सुखद हो।