इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले इलाम २ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस केन्द्रीय प्रचारप्रसार विभागका संयोजक मीनबहादुर विश्वकर्माले बताए। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन बोर्डको निर्णयलाई अनुमोदन गरेको हो। खड्का कांग्रेस इलामका सभापति हुन्।
२०७९ सालमा निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको हृदयाघातबाट निधन भएको थियो। उनको निधनपछि रिक्त प्रतिनिधि सभा सदस्यका लागि वैशाख १५ मा उपनिर्वाचन हुँदै छ।
त्यस्तै, बझाङ १ ‘क’ मा अभिषेकबहादुर सिंहलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ। उनी यसअघि निर्वाचित पृथ्वीबहादुर सिंहका छोरा हुन्।
२०७९ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा निधन भएको थियो। रिक्त पदमा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ।