लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन्।
बिहीबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै चौधरीले मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका हुन्। आजै प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेश गर्ने कार्यसूची थियो। विश्वासको मत प्राप्त नहुने भएपछि उनले राजीनामाको बाटो रोजेका हुन्।
नयाँ गठबन्धन बनेपछि नेकपा (माओवादी केन्द्र)ले गत फागुन २३ गते समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्था अनुसार गठबन्धनमा सम्मिलित दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सरकारले विश्वासको मत लिनुपर्छ।
विश्वासको मतको प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बोलाइएको थियो। केन्द्रमा नयाँ समीकरण बनेपछि नयाँ सरकार गठनका लागि सजिलो बनाउन राजीनामा दिएको मुख्यमन्त्री चौधरीको भनाइ थियो।
उनी गत वैशाख १४ मा मुख्यमन्त्री नियुक्त भएका थिए। नेपाली कांग्रेस संसदीय दलका नेता चौधरी आठ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका २७ सांसद छन्। कांग्रेसलाई समर्थन गरिरहेको जनमत पार्टीका तीन, राष्ट्रिय जनमोर्चाका एक र स्वतन्त्र एक सांसद छन्।
त्यस्तै, विपक्षी गठबन्धनमा रहेका नेकपा (एमाले)का २९, नेकपा (माओवादी केन्द्र)का सभामुख सहित १०, जसपाका तीन र नेकपा (एकीकृत समाजवादी)का एक गरी ४३ सांसद छन्। चार सांसद भएको नाउपा र तीन सांसद भएको लोसपा पनि नयाँ गठबन्धनमा गएका छन्।