वाइडबडी खरीदमा एक अर्ब ४७ करोड भ्रष्टाचार, पूर्व मन्त्री सहित ३२ विरुद्ध मुद्दा
वाइडबडी विमान खरीद प्रकरणमा पूर्व मन्त्री जीवनबहादुर शाही सहित ३२ जना तथा कम्पनी विरुद्ध मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको प्रवक्ता नरहरि घिमिरेले बताए। अख्तियारले दर्ता गरेको आरोपपत्रमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा हिनामिना भएको उल्लेख गरिएको छ।
अख्तियारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारीलाई विपक्षी बनाएको छ। तीनै जनाबाट बिगो असूल गरी कैद सजाय गराउन पनि विशेष अदालतमा माग गरेको छ।
त्यस्तै, निगमका तत्कालीन सञ्चालक समिति सदस्यहरू शिशिरकुमार ढुंगाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानिरु शेर्पा र मुक्तिराम पाण्डे विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। यससँगै निगम सञ्चालक समितिका सदस्य जीवनप्रकाश सिटौला र अच्युतराज पहाडीलाई पनि विपक्षी बनाइएको छ। पहाडी अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य छन्।
निगमका तत्कालीन कायममुकायम निर्देशक रामहरि शर्मा सेढाईं, तत्कालीन कायममुकायम निर्देशक एवं हालका नायब महाप्रबन्धक जनकराज कालाखेती, तत्कालीन उपनिर्देशक प्रभासकुमार कर्माचार्य, तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन कायममुकायम निर्देशक कर्णबहादुर थापा र निमित्त निर्देशक सुवास रिजाललाई पनि विपक्षी बनाइएको छ।
अख्तियारले दायर गरेको मुद्दामा निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, निमित्त निर्देशक रवीन्द्रकुमार शेरचन, तत्कालीन कायममुकायम निर्देशक रवीन्द्र श्रेष्ठ, तत्कालीन कायममुकायम निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक श्रवण रिजाल, तत्कालीन उपनिर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक बृहत्मान तुलाधरलाई विपक्षी बनाइएको छ।
यससँगै विमान आपूर्तिकर्ता र प्रस्तावकर्तालाई पनि विपक्षी बनाइएको छ। अमेरिकाको एएआर कर्प इन्क कम्पनीका अध्यक्ष दीपक शर्मा, जर्मन एभिएशन क्यापिटलका प्रतिनिधि क्रिस्टियन न्युहलेन, जर्मन एभिएशन क्यापिटलका फाइनान्स निर्देशक ओलेक क्यालिस्ट्रु विरुद्ध पनि मुद्दा दायर गरिएको छ।
त्यस्तै, एएआर इन्टरन्याशनल इन्क कम्पनी र कम्पनीका अध्यक्ष जोन एम. होम्स, जर्मन एभिएशन क्यापिटल कम्पनी र कम्पनीका प्रबन्ध निर्देशक अना टोपा, पोर्चुगलको हाई फ्लाई ट्रान्सपोर्ट एरोस कम्पनी र कम्पनीका अध्यक्ष पाउलो मिरपुरी, हाई फ्लाई एक्स आयरल्यान्ड कम्पनी र कम्पनीका निर्देशकद्वय जेराल्ड थोरटन र क्रिस्टिन न्युलेन, नोर्टन रोज फुलब्राइट कम्पनी र कम्पनीका एभिएशन प्रमुख मार्कस रडबर्च तथा सिनियर कन्सल्टेन्ट रफ स्प्रिङलाई पनि विपक्षी बनाइएको छ।