‘द स्पन्सर’ विकास–राजनीतिमाथिकाे व्यंग्यः निर्देशक प्रणय लिम्बू
आफ्नो पहिलो ‘फिक्सन’ चलचित्र ‘द स्पन्सर’को प्रिमियरमा अध्येता, बौद्धिक, पत्रकार र चलचित्रकर्मीको उपस्थिति र प्रतिक्रियालाई लिएर निर्देशक प्रणय लिम्बू उत्साहित देखिएका छन् ।
‘द स्पन्सर’को गत २९ साउनमा काठमाडौंको क्युएफएक्स कुमारी हलमा प्रिमियर गरिएको थियो ।
लिम्बूका ‘इतिहास जित्नेहरुका लागि’, ‘फरगिभ...फर्गेट नट’ जस्ता वृत्तचित्र चर्चित छन्।
सप्तकोशी किनारमा माछा मारेर जीविका चलाउने जातिको गरीबीमाथि बनेको चलचित्र ‘द स्पन्सर’ खासगरी ९ वर्षकी एक टुहुरी कौशिकीकाे कथा हो । जो हजुरआमा र काकाको सहारामा दयनीय जीवन बिताइरहेकी छिन् ।
यही बेला एक गैरसरकारी संस्थाको ‘स्पन्सर (सहयोगी दाता/प्रायोजक)’ कार्यक्रम आउँछ, जसमा एक अमेरिकी व्यक्तिले उनलाई नियमित रुपमा चिठी, उपहार, पैसा सहयोग गर्छन् । जीवनमा केही आश जगाउँछन् ।
स्पन्सर व्यक्ति र कौशिकीको ‘हुलाकी’ बन्छन्, गैरसरकारी संस्थाका प्रतिनिधि विकास (प्रवीण खतिवडा) ।
“सतहमा, द स्पन्सर गरीबीबाट मुक्त गराउने कार्यक्रमको नाम हो, तर, गहिराइमा सहयोगका नाममा गरीबको भावना र त्यहाँको सामाजिक भाष्यमाथि खेल्ने, गरीबमाथि ‘प्याट्रोनाइज (संरक्षण)’ गर्ने शहरी मध्यमवर्गीय सोचविरुद्ध व्यंग्य हो। ”, चलचित्रको कथा/पटकथासमेत लेखेका निर्देशक लिम्बू भन्छन्, “समग्रमा भन्दा गरीबीमाथिको विकास–राजनीतिबारे झल्को हो ।”
रंगमञ्चका हस्ती प्रवीण खतिवडा, कामेश्वर चौरसिया, रेखा कर्ण, रमेशरञ्जन झा, रामभजन कामत लगायतको प्रशंसनीय अभिनय रहेको चलचित्रमा नयाँ अनुहार ग्रीष्मा (कौशिकी) ले अनुभवीको झैं छाप छाडेकी छिन् । एलिना श्रेष्ठले पनि स्वाभाविक अभिनय गरेकी छन् ।
निर्देशक लिम्बू चलचित्र एक महीनाभित्रै काठमाडौं उपत्यकाका हलहरूमा प्रदर्शनमा आउने बताउँछन्। “त्यसपछि विस्तारै देशका अन्य स्थानमा प्रदर्शन गरिने योजना बनाइएको छ”, उनी भन्छन् ।
२ घण्टा ३१ मिनेट लामो यो चलचित्र आरबीए फिल्मस् प्रा.लिका तर्फबाट रुद्रबहादुर गुरुङले निर्माण गरेका हुन्।
बाबुराम नेपालीको सिनेमाटोग्राफी रहेको चलचित्रको सम्पादन चन्दन दत्त र सन्तोषी नेपालले गरेका हुन् ।