हामी कसरी मासिंदै छौं?
हिमालको काखसम्म थोत्रा ट्रक, केबलकार, संरक्षण क्षेत्रमा ठूल्ठूला होटल, लज र पार्कहरू, सगरमाथाको भीड र फोहर– यी सबै ताप उत्सर्जन गर्ने तत्त्वहरूलाई निर्बाध अनुमति दिएर हिमालय पग्लियो भन्दै रुनुको के अर्थ?
धेरैले सिफारिश गरे पनि दुर्भाग्यवश मैले नाटक मासिन्या हेर्न पाइनँ। तर नाटक हेरेका थुप्रै मित्रहरूबाट त्यसको सार वा सन्देश सुनें। हो, नाटकले अभिव्यक्त गरे झैं, तामाङहरूलाई ‘मासिन्या जाति वा मास्न हुने जाति’ भनिएकै थियो। र, मानिसको जिजीविषामा प्रश्न उठाउनु उचित नभए पनि यति भने निश्चित हो- अब हामी सबै मासिने नै हौं।
कोही खडेरीले पानी पिउन नपाई तड्पिएर मासिएलान्, कोही खान नपाएर भोकभोकै। कोही भलबाढी, पहिरोले बगाएर त कोही ‘हिटवेभ’ ले ल्याउने लू लागेर वा कोही बेमौसमी चिसोका कारण, जे-जसरी भए पनि हाम्रो नियतिमा मासिनु त छ नै। यो नियति कति वर्षपछि भोग्नुपर्छ भन्ने चाहिं अहिले अनुमान गर्न उचित हुँदैन।
यदि नमासिने हो भने आफ्ना दृष्टिकोण, व्यवहार, उपभोग, सिद्धान्त, उद्योग, व्यापार आदिलाई प्रकृति अनुकूल बनाउनैपर्छ। अन्यथा, आफू नभए पनि आफ्ना सन्ततिहरूमाथि आइपर्ने संकटले उनीहरूलाई भने मास्न सक्छ। साथै, मानिसका दुष्कर्मले ऊ मात्रै होइन, यस धराका अन्य प्राणीहरू पनि मासिनेछन्।
आजका उद्योग व्यवसाय परजीवी छन्। तिनमा स्रोतको भोक यति डरलाग्दो छ कि यी राज्य किनेर प्रकृति मास्न उद्यत छन्। आजको अर्थशास्त्र प्राकृत पर्यावरणको शोषणमा केन्द्रित छ। कम्पनीहरू यसैगरी मुनाफा कमाइरहेका छन्। यद्यपि आफैं व्यापारी भएर पनि साइमन एम. ल्याम्बले जंगलनोमिक्स पुस्तक प्रकाशन गराएका छन्। पुस्तकले धर्तीका मानिसलाई लामो समय बचाउने हो भने उद्योग, व्यापार र उपभोगका आधुनिक भनिएका चरित्र र व्यवहारमा सारभूत परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ।
प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि ‘लूक डीप इन्टु नेचर, एन्ड देन यू विल अन्डरस्ट्यान्ड एभ्रिथिङ बेटर’ (प्रकृतिलाई गहिरिएर हेर त्यसपछि बल्ल तिमीले सबै कुरा अझ राम्रोसँग बुझ्नेछौ) भनेका थिए। शायद प्रकृतिका नियमित आकस्मिकतामा आइरहेका अस्वाभाविक चरित्रहरू हेरेर उनले यसो भनेका होलान्।
दुर्दशा-उन्मुख पर्यावरण चेतना
नेपालीहरूको सांस्कृतिक विश्वास, थातथलो र जीवनपद्धति पर्यावरण अनुकूल छ। तर यी प्राकृत जीवनपद्धतिहरू पर्यावरणमा आएका नयाँ र विषम अवस्थालाई बुझ्न सकिरहेका छैनन्। सम्मुख संकट देखेर नागरिक सचेतनाको डिग्री उकालिनुपर्ने हो, तर ओर्लंदो छ। बुझाउने सरकारी प्रयास फिक्का छ।
अर्कातर्फ, तापक्रम वृद्धिलाई गर्मीसँग मात्र तुलना गरिएको छ। के तापक्रम बढोत्तरीले ल्याउने दुर्दशा त्यति मात्र हो? अवश्य होइन। यसले सबैभन्दा बढी कृषिमा असर पार्छ। घरपालुवा जनावरको प्रजननको समय, तिनले बच्चा जन्माउने समय, दूध दिने जनावरको दूधको मात्रा र गुणस्तर, कृषि बालीको उत्पादनमा असर गर्छ। रैथाने बीउबिजनहरू नउम्रिने र उम्रिए पनि उनीहरूको स्वचालित पद्धतिले जाडो-गर्मीको सन्तुलन कायम राख्न नसक्दा फल नलाग्ने जस्ता प्रभावहरू पर्नेछन्।
हिन्दीमा एउटा भनाइ छ, ‘जब सडक गावँ पहुँचा, गावँ गावँ छोडकर जा चुका था।’ नेपालको मध्यपहाडी राजमार्गको हाल अहिले यस्तै छ- जति वेला राजमार्ग मध्यपहाडका गाउँ पुग्यो, त्यति वेला गाउँ पहिल्यै शहर पसिसकेको थियो। पर्यावरण प्रणालीका मूल्यहरूलाई तिरस्कार गरेर बनाइएको यो सडकले रित्तिइसकेका गाउँलाई कस्तो योगदान गर्छ? पद्धतिसंगत अध्ययन शायद भएको छैन, तर नेपालको पहाडी भेगका गाउँ रित्तिइँदै जानुमा पानी अभाव मुख्य कारण हो।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंसीरमा दुबईमा आयोजित कोप सम्मेलनमा भावुक तवरले हिमालय पग्लिएको कुरा गर्नुभएको छ। सम्मेलनका सहभागीहरूले उहाँको हिमाल सम्बन्धी चिन्ता र चासोलाई ध्यान पनि दिएको देखिन्छ। तर हिमाल पग्लनबाट बचाउन हामी के गरिरहेका छौं? जसका कारण हिमालयहरू पग्लिरहेका छन् उनीहरूलाई उत्तरदायी बनाउन हाम्रा प्रस्ताव के के छन्? हामी आफैं के गर्न सक्छौं? यी प्रश्न मननीय छन्।
अहिले हिमालयको दक्षिणी भिरालो पाखाका वन क्षेत्र सडक वा अन्य पूर्वाधारका लागि मासिइँदै छन्। जबकि जंगल नमासी सडक खन्न सकिने कैयौं विधि र प्रविधि छन्। तिनको प्रयोग धेरै कठिन पनि छैन। हिमालको काखसम्म थोत्रा ट्रक, हिमालयको फेदीसम्म केबलकार, संरक्षण क्षेत्रमा ठूल्ठूला होटल, लज र आनन्द पार्कहरू र त्यहाँ मानव भीड, सगरमाथाको भीड र फोहर– यी सबै ताप उत्सर्जन गर्ने तत्त्वहरूलाई निर्बाध अनुमति दिएर हिमालय पग्लियो भन्दै रुनुको के अर्थ?
मानिसलाई यो विकास विरोधी कुरा लाग्न सक्छ। यो विकासले आत्मसात् गर्नुपर्ने चुनौतीहरूको पूर्व चेतावनी चाहिं हो, किनकि मुठ्ठीभरलाई त जलवायु परिवर्तन होस् वा जे होस्, आनन्द नै हुन्छ, पीडित हुने त गरीब र मध्यमवर्गीय हुन्।
कसरी मासिंदै छौं हामी?
नेपालको अर्थतन्त्र संकटग्रस्त छ। सरकार लगानी गर्न सक्ने अवस्थामा छैन। विकसित देशहरू पनि आफ्नै समस्यामा जेलिएका छन्। उनीहरू अमेजन वर्षावन र अन्टार्कटिकाको पुनःस्थापनामा केन्द्रित हुने लक्षण देखिंदै छ।
तर तापक्रम बढोत्तरीको ठूलो असर हिन्दूकुश हिमालयमा छ। हिमालयको दक्षिणतिरको भिरालो बृहत् पहाडी पर्यावरणमा जलवायु परिवर्तन र तापमान वृद्धिको थाम्न नसकिने भार परिसकेको छ। रैथाने प्रजातिका अन्न र हरिया तरकारीहरू लोप हुँदै छन्। त्यहाँ उद्विकास भएका वस्तु, वनस्पति र कीटपतंग लोप हुँदै छन्। त्यहाँको पर्यावरणीय प्रक्रिया नै भताभुंग हुँदै छ। पानीको स्रोत घटिरहेको छ। परम्परागत पानीका मूल सुकिसकेका छन् जसका कारण त्यहाँको जैविक विविधतामा ह्रास आइरहेको छ।
तापक्रम वृद्धिको मार यसरी नै बढ्ने हो भने, अबको केही दशकमा नेपालका ठूला भनिएका नदीहरूमा पानीको बहाव धेरै घट्नेछ। टर्की र सिरियामा बग्ने युफ्रेटस नदी सुक्दै गएको र त्यसमा आश्रित करोडौं जीवन गम्भीर आर्थिक र वातावरणीय संकटमा परिसकेको अध्ययनहरूको निष्कर्ष छ।
हाम्रा अधिकांश नदीको पानीको स्रोत हिमालयको हिउँ हो। हिमालयको अध्ययन गर्नेहरू बरफको बाक्लोपना तीव्र रूपमा घटिरहेको बताउँछन्। २८ पटक सगरमाथा आरोहण गरिसकेका प्रख्यात आरोही कामीरिता शेर्पाले पंक्तिकारलाई सुनाए अनुसार उनको अघिल्लो आरोहणमा देखिएका बरफ पग्लिएर गत वर्ष त्यहाँ खोल्सो बग्न थालेको छ। अर्का प्रख्यात आरोही स्पीडकाजी ?शेर्पाको भनाइ पनि यस्तै छ। अझ उनी त सगरमाथाको मात्र प्रचार भए पनि यो समस्या सबै हिमालमा रहेको बताउँछन्।
अर्कातर्फ नेपालका जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन्। पंक्तिकारले एक निजी जलविद्युत् उत्पादकलाई यस्ता आयोजनाको जोखिम मूल्यांकन गरिएको छ? बाढीको भारवहन क्षमता विचार गरेर नदी वा खोलामा बाँध बाँधिएको छ? भनेर सोधेको थियो। जवाफमा उनले भनेका थिए, “भूकम्प विचार गरिएको होला, तर कुनै विद्युत्गृहले भलबाढीको भारवहन क्षमतामा ध्यान दिए जस्तो लाग्दैन।”
जलवायु परिवर्तनका यसअघिका प्रवृत्ति हेर्दा यसले खडेरी मात्र ल्याएको छैन, डरलाग्दो भलबाढी पनि ल्याएको छ। उदाहरण- भारतको हिमाञ्चल प्रदेश र सिक्किमको टिस्टा नदीको भलबाढीलाई लिन सकिन्छ।
हामीलाई मास्न सक्ने अर्को पाटो कृषि पेशामा मानिसको घट्दो मोह पनि हो। तर यो मोहभंगलाई विदेश जाने रहर भनेर टार्ने गरिएको छ, त्यसका वास्तविक कारण खोतल्ने झन्झटबाट उन्मुक्ति लिन। जबकि कृषि सकिनुका कारण उत्पादन घट्नु र अपेक्षित आम्दानी नहुनु हो। बाली लगाउने समयमा पानी नपर्नु र बाली उठाउने समयमा पानी पर्नु हो। रैथाने बीउ र रैथाने कृषि पद्धतिले काम गर्न नसक्नु पनि हो। छिमेकी देशबाट खाद्यान्न आयात गरेर माग पूर्ति गर्नु निर्यात गर्ने देशलाई खाद्य अभाव नहुन्जेल वा उसलाई उभ्रिएको हदसम्म सम्भव होला, अन्यथा आफ्नै नागरिक भोकै राखेर भारतले खाद्यवस्तु आपूर्ति गरिरहन्छ भन्ने सोच्नुभन्दा ठूलो मूर्खता के हुन सक्छ?
अब के गर्ने?
धेरै उपाय छन्। हामीले गर्न सक्ने जति आफैं गर्नुपर्छ। नसक्ने कामका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सकिन्छ।
खासै कृषि बाली लगाउन नसकिने हिमालयका दक्षिणी भिराला पखेराहरूलाई वन क्षेत्रमा रूपान्तरण गर्न सकिन्छ। पानीका स्रोत बचाउन विकसित गरिएका ज्ञान र प्रविधिलाई यथाशीघ्र प्रयोगमा ल्याउनुपर्दछ। कृषिको आधुनिकीकरणभन्दा पनि कृषि पेशाप्रति मानिसको भरोसा जगाउनु अत्यावश्यक छ।
यस्तै, हिमालयमा कुम्भमेला लगाउने नीतिमा तुरुन्तै परिवर्तन गरी वर्षको निश्चित र गुणस्तरीय आरोही समूहलाई मात्र आरोहण अनुमति दिनुपर्छ।
नदीका पर्यावरणीय आयाममा नकारात्मक प्रभाव नपर्ने गरी मात्र व्यापारिक प्रयोजनका काम गर्न दिनुपर्छ। नदी वरपरका पर्यावरणीय चक्रमाथि नकारात्मक असर गरिरहेका पूर्वाधार तथा उत्खनन कार्य बन्द गरिनुपर्छ। नदीको बग्ने अधिकार र मानिसको नदी पर्यावरणबाट वातावरणीय लाभ पाउने सम्यक् अधिकार सुरक्षित गरिनुपर्छ।
काठमाडौं उपत्यकाका लागि पानीको वैकल्पिक र भरपर्दा स्रोत खोज्नुपर्छ। मेलम्चीमा मात्र भर पर्नु भनेको पानीको अर्को महाअनिकाल आमन्त्रण गर्नु हो। पर्यावरणीय चक्र कायम गरिरहेका तराईका प्राकृतिक घना जंगलहरूलाई चलाउनु वा बिगार्नु हुँदैन। देशभर भएभरका सिमसार क्षेत्रहरूलाई संरक्षण गर्न सकिन्छ। सरकारी तहबाट वातावरण अनुकूल शिक्षा चेतना सम्प्रेषण गर्न सकिन्छ। मूल कुरा विद्यालय तहदेखि नै वातावरण शिक्षा दिन थाल्नुपर्छ। यिनीहरू ठूलो बजेट लाग्ने काम होइनन्।
(शर्मा प्रकृति अधिकार क्षेत्रमा कार्यरत छन्।)