लुम्बिनीका मुख्यमन्त्री चौधरीले पनि राजीनामा दिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीराम चौधरीले पनि राजीनामा दिने भएका छन्।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि नयाँ गठबन्धनतिर गएपछि मुख्यमन्त्री चौधरी राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। नाउपाका चार र लोसपाका तीन सांसद छन्।
अध्यक्ष रञ्जिता श्रेष्ठ नयाँ गठबन्धनमा र संरक्षक रेशम चौधरी कांग्रेसको पक्षमा उभिएपछि नाउपा सांसद दोधारमा छन्। उनीहरूको मत बाँडिने भएपछि मुख्यमन्त्री चौधरी विश्वासको मत जुटाउन नसकिने निष्कर्षमा पुगेका हुन्। नाउपामा विवाद नदेखिएको भए राप्रपाको समर्थन लिएर विश्वासको मत हासिल गर्ने मुख्यमन्त्रीको योजना थियो।
सरकारलाई विश्वासको मत नपुग्ने भएपछि लोसपा पनि नयाँ गठबन्धनतिर लागेको हो। “एमाले-माओवादी सहितको नयाँ गठबन्धनमा जाने निर्णय भएको छ,” लोसपा नेता सन्तोष पाण्डेले हिमालखबरसँग भने। उनी चौधरी नेतृत्वको सरकारमा आन्तरिक मामिलामन्त्री छन्।
बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिने तयारी गरेको ‘कोर’ टीममा रहेका नहकुल केसीले बताए। “विश्वासको मत प्राप्त हुने देखिएन, त्यसैले मुख्यमन्त्रीज्यूले राजीनामा दिने तयारी गर्नुभएको छ,” केसीले भने।
यस विषयमा निर्णय गर्न मुख्यमन्त्री चौधरीले कांग्रेस प्रदेश संसदीय दलको बैठक बोलाएका छन्। केही बेरमा बस्ने बैठकले निर्णय गर्ने कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका २७ सांसद छन्। कांग्रेसलाई समर्थन गरिरहेको जनमत पार्टीका तीन, राष्ट्रिय जनमोर्चाका एक र स्वतन्त्र एक सांसद छन्।
त्यस्तै, विपक्षी गठबन्धनमा रहेका नेकपा (एमाले)का २९, नेकपा (माओवादी केन्द्र)का सभामुख सहित १०, जसपाका तीन र नेकपा (एकीकृत समाजवादी)का एक गरी ४३ सांसद छन्। लोसपा पनि नयाँ गठबन्धनमा जाने भएपछि बहुमत पुग्ने भएको छ।
यसअघि कांग्रेसबाट गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका थिए। विश्वासको मत पाउन नसक्ने भएपछि उनले राजीनामाको बाटो रोजेका थिए।