लुम्बिनी सरकारलाई विश्वासको मत नदिने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
जसपा केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो। जसपा बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदलाई कांग्रेस नेतृत्वको सरकारको विपक्षमा मत हाल्न निर्देशन समेत दिएको छ।
लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन्। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ।
अहिले सरकारको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका नेता मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विश्वासको मत जुटाउन सकस भएको छ। कांग्रेसका २७ सांसद छन्।
उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तीन, जनमत पार्टीका तीन, राष्ट्रिय जनमोर्चाका एक र स्वतन्त्र एक सांसदले समर्थन गरिरहेका छन्।
चार सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा भने विवाद छ। अध्यक्ष रञ्जिता चौधरीले विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन् भने संरक्षक रेशम चौधरीले पक्षमा मतदान गर्न भनेका छन्।
त्यस्तै, विपक्षी गठबन्धनमा रहेका नेकपा (एमाले)का २९, नेकपा (माओवादी केन्द्र)का सभामुख सहित १०, जसपाका तीन र नेकपा (एकीकृत समाजवादी)का एक गरी ४३ सांसद छन्। तर सभामुखको मत नजोडिने भएकाले गठबन्धनलाई पनि बहुमत पुर्याउन दुई सांसद पुगेका छैनन्।
चार सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कुनै पनि पक्षमा देखिएको छैन। यस्तो अवस्थामा दुवै पक्ष नाउपालाई मनाउने प्रयासमा छन्। नाउपाले समर्थन गर्ने पक्षले बहुमत पुर्याउने देखिन्छ।