निलम्बित जिल्ला न्यायाधीशलाई थुनामा पठाउन आदेश
सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार जिल्ला अदालत, काठमाडौं र उच्च अदालत, पाटनको आदेश बदर हुने ठहर गरेको हो। यससँगै गिरीलाई थुनामा पठाउन आदेश गरेको छ।
“पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अंगसँग सम्बन्धित ‘हाइमेन ओल्ड टिअर’ भन्ने देखिएको छ, पीडित र प्रतिवादीबीच यसभन्दा पहिले पनि वैवाहिक जबर्जस्ती करणी र सम्बन्धविच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको छ,” आदेशमा भनिएको छ, “सम्बन्धविच्छेद र वैवाहिक जबर्जस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने विषय स्वाभाविक देखिंदैन, यी समग्र परिस्थिति र प्रमाणलाई आधार मान्दा अहिले नै यी प्रतिवादी कसूरदार रहेनछन् भन्न सकिने अवस्था छैन।”
जिल्ला अदालत, काठमाडौं र उच्च अदालत, पाटनले निलम्बित न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए। त्यस विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको थियो।
गिरी जिल्ला अदालत, कपिलवस्तुमा न्यायाधीश थिए। त्यही वेला पत्नीले आफूमाथि बलात्कार भएको उल्लेख गर्दै जाहेरी दिएपछि प्रहरीले गिरीलाई पक्राउ गरेको थियो। उनी विरुद्ध वैवाहिक बलात्कारको मुद्दा चलेपछि न्याय परिषद्ले निलम्बन गरेको थियो।