परशु प्रधान : कथा भित्र, कथा बाहिर
परशु प्रधानले नेपाली साहित्यमा नयाँ आयाम थप्दै शुरू गरेको रचनागर्भ विधा यति पाठकप्रिय भयो कि पहिलो को भन्ने होडबाजी नै चल्यो। यद्यपि तथ्य प्रमाणले त्यसको श्रेय प्रधानकै खातामा सुरक्षित गरिदिएका छन्।
विसं २०३६ तिर प्रमुख जिल्ला अधिकारीका रूपमा पहाडी जिल्ला खोटाङ पुगेका थिए, परशु प्रधान। त्यहाँ तीन वर्ष बस्दा दिक्तेल बजार र बुइपाको बीचमा रहेको डल्लेखोला कुलोको भुक्तानीका लागि आदेश दिए। उनलाई कसैले सुनायो, “हजुरले हेरी पास गरेको कुलो जिल्ला विकासबाट आठ-दश पटक अनुदान लिई बनिसकेको कुलो हो। त्यो कुलो केही पनि बनेको होइन, कागजपत्र र नियम मात्र मिलाइएको हो।”
त्यसबाट अत्यन्त क्षुब्ध भए परशु। सम्बन्धित कार्यालयबाट कागजपत्र झिकाएर हेर्दा पो थाहा पाए- डल्लेखोला त त्यस क्षेत्रका ठगपञ्चहरूको मागीखाने भाँडो रहेछ।
कसैलाई जाँड खाएको पैसा तिर्न रकम चाहियो- डल्लेखोलामा नयाँ पुल हालिंदो रहेछ। कसैलाई छोरीको बिहे गर्नुपर्ने भयो- डल्लेखोलामा बाँध बनाइँदो रहेछ। डल्लेखोला खोला नभएर ‘कल्पवृक्ष’ पो रहेछ। खुला भ्रष्टाचार र अनियमितताको साक्षी रहेछ।
अन्ततः डल्लेखोलालाई मानवीकरण गरेर परशुले कथा लेखे र छापे। उनलाई डर पनि थियो- सीडीओको जागीर खाएर यस्तो कथा लेख्ता पञ्चायतको कृष्णलाल भइने त होइन? जेलमा सडेर मर्नुनपरे पनि जागीरबाट हात धुनुपर्ने त होइन? धन्न! त्यस्तो केही भएन। बरु उनलाई आफ्ना १५० भन्दा ज्यादा कथामध्ये सर्वश्रेष्ठ त्यही ‘डल्लेखोला’ लागिरह्यो।
कथा र रचनागर्भ (२०५७)मा परशु प्रधानले आफ्ना कथाभित्रका कथाहरूलाई यसरी नै खुलस्त गरेका छन्। रचनागर्भ लेखेर उनले साहित्यमा नै नयाँ आयाम थपिदिए। त्यसमा उनको लेखकीय इमानदारी समेत प्रशस्त झल्किन्छ।
साहित्यिक पत्रिका गरिमामा २०५४ फागुन (पूर्णांक १८३)मा परशुले आफ्नो पहिलो कथा ‘मेरो कोठाको आँखाबाट’ को रचनागर्भ प्रस्तुत गरेका थिए। झन्डै दुई दर्जन कथाका रहस्य भंग गर्दै कथाको कोरा र तयारी माल दुवै राखेर सिंगो किताब प्रकाशित भयो। आजको दिनमा रचनागर्भ नेपाली साहित्यको अजब, गजब र रोचक विधामा दरिएको छ।
त्यो विधा कति पाठकप्रिय भयो भने, पहिलो को भन्ने होडबाजी पनि चल्यो। चितवनका एक प्राध्यापकदेखि विश्वम्भर चञ्चलसम्मले त्यसमा दाबी पछारे। तर तथ्य प्रमाणले त्यसको श्रेय परशु प्रधानकै खातामा सुरक्षित भएको छ। साझा प्रकाशनका तत्कालीन सञ्चालक किशोर पहाडी भन्छन्, “त्यति वेला राजव र म साझा प्रकाशनका सञ्चालक थियौं। परशु प्रधानले नियमित रूपमा छाप्नका लागि मेरो कथाको कथा भनेर दिनुभएको थियो। त्यो स्तम्भलाई हामीले नै रचनागर्भ नाम दिएका हौं।”
नेपाली आख्यान साहित्यमा एकखाले साम्राज्य बनाएका परशु प्रधान गैरआख्यानमा पनि उत्तिकै गहकिला देखिन्छन्। कवि-लेखकहरूप्रतिको उनको आलोचनात्मक व्यक्तिचित्र केही क्षण केही अनुहार (२०३४) र केही अनुहार केही क्षण (२०५१) त्यसकै प्रमाणचिह्न हुन्। त्यसमा लेखकहरूका निजी जीवनका रोमाञ्चक र गुप्त रहस्य खोलिएका छन्।
अन्य कवि-लेखक विमोचनका लागि काठमाडौं धाइरहँदा परशु प्रधानले उपसचिवको जागीर छाडेर विराटनगरलाई साहित्यिक मुकाम बनाए। सहकारी मोडलको वाणी प्रकाशन खोले। त्यसको अध्यक्ष भएर १०० भन्दा ज्यादा पुस्तक प्रकाशन गरे। थुप्रै पुरस्कार बाँडे। पाक्षिक कविगोष्ठी गरे। रचना-विमर्श गराए। साहित्यकारहरूलाई डाके र आफू पनि देशदेशावर डुले। वास्तवमा उनी राजधानी र मोफसललाई जोड्ने सेतु बने। धेरैलाई साहित्यको कखरा सिकाए।
“साहित्य लेखेर मात्र हुँदैन, साहित्यलाई समाजमा संस्कृतिका रूपमा स्थापित गर्नुपर्छ भन्ने आदर्श सहित परशुजीले विराटनगरमा वाणी प्रकाशन खोल्नुभएको थियो,” काठमाडौंमा कुनै वेला परशुकी छिमेकी समेत रहेकी कथाकार सीता पाण्डे सम्झन्छिन्, “परशुजी राम्रो कथाकार हुनुहुन्थ्यो, यसमा कुनै दुबिधा छैन। उहाँ आफू मात्र राम्रो लेख्ने नभएर लेखकहरूलाई नेतृत्व दिने व्यक्तित्व हुनुहुन्थ्यो।”
१४ वर्ष विराटनगर बस्दा परशुले यो शहरलाई साहित्यको दोस्रो राजधानीका रूपमा चिनाए। ‘लेखकग्राम’ को परिकल्पना गरे। तर उनको काठमाडौं रवानासँगै त्यो योजना पनि तुहियो, वाणी प्रकाशन पनि ऋणमा डुब्यो। यद्यपि साझा प्रकाशन, नेपाल (राजकीय) प्रज्ञा-प्रतिष्ठानको समतुल्य संस्था खडा गरेर उनले साहित्यको श्रीवृद्धिका निम्ति गरेको सत्प्रयास आज पनि उत्तिकै स्मरणीय छ।
नेपालमा किताब विमोचनको सूत्रधार पनि उनै परशु मानिन्छन्। २०३४ तिर उनकै जोडबलमा प्रहरीका जागीरे ऋषिराज बरालको पहिलो उपन्यास भावना बागबजारको गल्लीमा रहेको राम दाइ (रामकृष्ण तण्डुकार)को भट्टीमा दौलतविक्रम विष्टको हातबाट विमोचन भएको थियो। त्यसयता किताब विमोचन एउटा अनिवार्य संस्कृति बन्न पुगेको छ। हिन्दी अखबारमा भारतीय पुस्तक विमोचन हुने गरेको खबर पढेर आफूले त्यसको थालनी गरेको परशु सुनाउँथे।
लेखकीय जीवनको पूर्वार्द्धमा परशुले दुइटा कवितासंग्रह निकाले, जीवनपथ (२०१६) र सपनाको ओतमा (२०१७)। नानीको कथा (२०२६), सुनको छाती (२०२८), रीताको स्कुल (२०२९), रंगीचंगी फूलबारी (२०३९), सुन्नेलाई सुनको माला (२०३०), घामछाया (२०३०) आदि बालसाहित्य लेखे। तर पछि आख्यानमै केन्द्रित भए। उनी भन्थे, “मैले कविता शैलेन्द्र साकार (भाइ) र बालसाहित्य कल्पना प्रधान (पत्नी)लाई जिम्मा लगाएको छु।” उनले यतिसम्म भने, “मेरो कथाको पूर्णविराम हटाइदिए भने त्यो कविता हुन्छ।”
परशुका १० भाइबहिनीमध्ये माइला शैलेन्द्र साकार दाइको कुरा सम्झेर भावुक हुन्छन्। परशुले आफ्नो कवितासंग्रह जीवनपथको पछाडिपट्टि साकारको कविता शंकर श्रेष्ठको नाममा छापिदिएका थिए। त्यसभन्दा अघि साकारको कुनै कविता कहींकतै छापिएको थिएन।
“परशु दाइभन्दा म तीन वर्ष कान्छो भए पनि हामीबीच साथीको जस्तो सम्बन्ध थियो। सँगै मर्निङ वाक जान्थ्यौं। सबै कुरा शेयर गर्थ्यौं,” तीन महीनादेखि अमेरिकामा रहेका साकार सम्झिन्छन्, “कतिपय कथा र उपन्यासको नाम मैले नै राखिदिएको हुँ, सबै बिर्सिएका अनुहार, चियाको पानी जीवनरङ ...।’
भोजपुरे हुलाकीका सन्तान परशु प्रधानलाई काठमाडौं बोलाएका थिए, केदारमान व्यथितले। त्यसैले परशु व्यथितलाई ‘गड फादर’ मान्थे। व्यथितले पनि परशुलाई पुत्रवत् स्नेह गरे र यातायात संस्थानमा जागीर लगाइदिए। रत्न पुस्तक भण्डारको सामान्य ज्ञानको गाइडदेखि अंग्रेजी भाषा बोलचालका किताब लेखेर परशुले चार छोराछोरीको लालनपालन र शिक्षादीक्षाको व्यवस्था मिलाए।
समीक्षक हरि अधिकारीले त्यही वेला भेटेका थिए उनलाई। “नेपाली साहित्यमा मैले पहिलो पटक भेटेको ठूलो मान्छे भनेको वासु शशी हो, वासु शशीको चिठी लिएर भेटेको दोस्रो ठूलो मान्छे परशु प्रधान,” उनी २०२५ सालको प्रसंग सम्झन्छन्, “यातायात संस्थानमा रफ्फू भरेको कोट लगाएको जेन्टलम्यान देख्दा म केही विस्मित भएँ। त्यसयताका पाँच दशकसम्म कुनै ठूलो वैमनस्य नभईकन हाम्रो मित्रता निरन्तर चलिरह्यो।”
नेपाली आख्यान साहित्यलाई अनुवाद सहितका १६ वटा कथासंग्रह सुम्पिएका परशु प्रधानले आफ्नो कथाको केन्द्रमा जहिल्यै महिलालाई राखे। उनीहरूका समस्यालाई नै आख्यानीकरण गरे। “प्रेममा धोका खाएका, लोग्नेले छाडेका, जीवनभरि कसैको पर्खाइमा रहेका, वेश्यावृत्ति गरेका वा भट्टी पसलबाट गुजारा चलाइरहेका आदि नेपाली समाजमा अप्ठ्यारामा परेका आइमाईका बहुधा दुःखी चरित्रलाई व्यापकताका साथ प्रस्तुत गर्ने निकै कम कथाकारमा परशु पर्छन्,” समीक्षक हरि थप्छन्, “तर पछिल्लो समयका कथामा उनी अपडेटेड थिएनन्। वेश्यावृत्ति आम भइसकेको उनलाई थाहा थिएन। उनको कल्पनाशीलता जमेर बस्यो। समृद्ध गद्यको रापताप बाँकी थिएन। सीताहरू वा घरमा पुनरावृत्ति मात्र भयो।”
अमेरिकामा ‘हाइपर नोबेल’ को लहर चलिरहँदा परशुले नेपालमा सीताहरू र घरलाई कथा र उपन्यास दुवैको प्रसाद गुण बोकेको विधा ‘कथोपन्यास’ नाम दिए। उनको शब्दमा कथोपन्यासलाई कथा मानेर पढ्दा कथा हुन्छ र उपन्यास मानेर पढ्दा उपन्यास। यसलाई पछाडिबाट पढे पनि हुन्छ, बीचबाट पढे पनि हुन्छ र अगाडिबाट पढे पनि हुन्छ। कथोपन्यास विधाले ५० वर्षपछि मान्यता पाउने र सीताहरूका सबै पात्र जीवित रहेको उनको दाबी थियो।
समालोचक दयाराम श्रेष्ठले परशु प्रधानका प्रतिनिधि कथाहरू (२०४१)को भूमिकामा प्रधानलाई ऐतिहासिक मूल्य पाइसकेको कथाकारका रूपमा स्थापित गराएको उल्लेख गरेका छन्। श्रेष्ठले लेखेका छन्, “प्रेम र यौन विषयबाट कथायात्रा थालेका प्रधानले अस्तित्व र निस्सारवाद सँगै जीवनका कुण्ठा, असन्तोष, नैराश्य र उदासीनताबारे कथाहरू लेखेर एक गतिशील कथाकारको स्थान बनाइसकेका छन्।” परशुका कथामा यौनको महत्त्व, नारी जीवन, ग्रामीण जनजीवन, नेपाली राजनीतिक व्यंग्य, शहरिया जीवनको विद्रूपता, गरीबी, भोक र रोग आदि विषयवस्तुको चित्रण छ। कतिपयले उनका कथालाई अश्लील टिप्पणी पनि नगरेका होइनन्। तर यथार्थमा उनी अश्लील होइन, प्रेमिल कथाकार हुन्। उनी भनिरहन्थे, “संसार कहाँबाट कहाँ पुगिसक्यो, हामी भने यौनमै गलफत्ती गरिरहेका छौं।”
आख्यानकार नारायण ढकाल परशुलाई प्रेम र स्त्री-पुरुष सम्बन्धका विषयमा लेख्ने कथाकार मान्छन्। उनी भन्छन्, “म परशु प्रधान स्कूलको कथाकार होइन। त्यसैले यसमा मभन्दा ध्रुव सापकोटा, हरि अधिकारीको जजमेन्ट आधिकारिक हुन्छ। मानिसले ८० प्रतिशत समय यौनका विषयमा सोच्छ भने त्यस विषयमा नलेख्नु पाखण्ड हो।” कथाकार सीता पाण्डे थप्छिन्, “परशुजीको कथाकारिता यथार्थपरक र जीवनसँग नजिक छ। खासगरी महिला र पुरुष सम्बन्धको मनोविश्लेषण मलाई गजब लाग्छ।”
परशुले सबै बिर्सिएका अनुहारहरू (२०२४) मार्फत उपन्यासमा पनि बलियो परिचय बनाए। २०२१ सालतिर तुवाँलो पत्रिकामा धारावाहिक रूपमा छापिरहेको उपन्यास रात जो पग्लन्छको पाण्डुलिपि हराएको पीडाका बीच उनले यो उपन्यास तयार पारेका थिए। वेश्यावृत्ति सम्बन्धी उक्त उपन्यास बापत सहयोगी प्रकाशनबाट प्राप्त अग्रिम भुक्तानी शंकर लामिछानेले नै खाइदिएको आरोप पनि परशुले लगाए। आकाश विभाजित छ र विसर्ग संयुक्त उपन्यासमा पनि परशुले काम गरे।
यी कथा-लेखकले जीवनको पछिल्लो दशकमा भने लेखनको गति घटाए वा लेखेनन्। उनी आफूले कथावस्तु नै नभेटेको बताउँथे। उनी भनिरहन्थे, “सरकारले लकडाउन गरेपछि मेरो त दिमागै लकडाउन भयो। पहिलेभन्दा राम्रो र असल कुरा लेख्न सकिंदैन जस्तो लाग्यो।” उनी साहित्यिक कार्यक्रमहरूमा पनि देखिएनन्। आँखा कमजोर हुँदै गएकाले श्रीमतीले पढेर सुनाउँथिन्। पछिल्लो समय गोविन्द गिरी प्रेरणासँग संयुक्त उपन्यास विसर्ग छापिए पनि त्यसमा परशु-प्रधान-छाप पाउन मुश्किल छ।
परशुलाई एकफेर नेपाल (राजकीय) प्रज्ञा-प्रतिष्ठानमा जाने रहर थियो। शैलेन्द्रका अनुसार परशुकै पहलमा तत्कालीन युवराज्ञी हिमानीलाई भनसुन गरेर वासुदेव त्रिपाठी उपकुलपति भए। तर परशुलाई त्रिपाठीले सदस्यसचिव बनाएनन्। आफ्नै सिफारिशमा छिन्नलता प्रतिष्ठानको अध्यक्ष बनेका वासुदेवबाट पाएको धोकाले उनमा गहिरो मानसिक धक्का पुग्यो। एक महीनापछि उनले प्राज्ञसभासद्बाटै राजीनामा दिए। जेनेटिक पोस्ट्रेटको शल्यक्रियापछि बाहिरफेर हिंडडुल गर्न सकेनन्।
परशुको जीवनमा धेरै किस्सा छन्। स्कूले जीवनदेखि लोक सेवा आयोगको परीक्षामा समेत दोस्रो नभएका उनले कुनै वेला अंग्रेजीको शब्दकोश नै कण्ठ गरेका थिए। प्रतिबोध प्रिन्टिङ प्रेस खोलेको, पुरस्कार गुठीमा रहँदा दौलतविक्रम विष्टको भोज खाएर पुरस्कार दिन नसकेको वा आफू अध्यक्ष हुँदा भाइलाई सिद्धिचरण प्रतिष्ठानको पुरस्कार दिलाएको बात लागेको आदि-इत्यादि प्रसंग पनि साहित्यकारबीच सुनिन्छन्।
नेपाली आख्यानलाई परशुले निश्चय नै एउटा उचाइ दिएका छन्। उनले कथा मात्र होइन, कथानकविहीन कथा पनि लेखे। तिनलाई ‘अकथा’ भन्न रुचाए। आत्मालाप शैलीमा लेखिएका उनका अकथामा लेखकीय विचार भरमार हुन्छन्।
‘छन्’ भन्ने परिचय एक्कासि ‘थिए’ भनेर दिनु पक्कै प्रिय होइन। अब नेपाली आख्यान साहित्यका एक युग परशु प्रधान रहेनन्। ८० वर्षे भौतिक चोला नरहे पनि उनले बनाएको कथाघर जीवित रहिरहनेछ। आख्यान साहित्यमा परशु प्रधानपन सुरक्षित हुनेछ। उनी लेखनको संसारमा युगयुग बाँचिरहनेछन्।