चौतर्फी दबाबपछि कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्।
प्रदेश सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै शर्माले राजीनामाको घोषणा गरेका हुन्। यसअघि मंगलबार उनले विश्वासको मत लिने तयारी गरेका थिए। तर केन्द्रबाट माओवादी नेतृत्वले दबाब दिएपछि राजीनामा दिन बाध्य भएका हुन्।
नयाँ सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार कर्णाली प्रदेश नेकपा (एमाले)को भागमा परेको छ। जसले गर्दा विश्वासको मत लिने गरी बोलाएको प्रदेश सभा बैठक एक दिन सारेका थिए।
मुख्यमन्त्री शर्मा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन विपरीत विश्वासको मत लिने अडानमा थिए। मुख्यमन्त्रीले राजीनामा दिन नमानेपछि दाहालले पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायत नेतालाई सुर्खेत पठाएका थिए।
प्रदेश सभालाई सम्बोधनका क्रममा शर्माले आफूले गरेका उपलब्धिको चर्चा गरे। साथै, केन्द्रको निर्देशनप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन्।
शर्माले पदबाट राजीनामा दिएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने भएका छन्।