‘मुकाम रणमैदान’ नियाल्दा
नेपाल-अंग्रेज युद्धबारे बढीभन्दा बढी कागजात केलाएर लेखिई कीर्ति राखेको मुकाम रराामैदान तथ्यहरूको स्पष्टता, मूलस्रोतको उद्धरण, पुराना लेखको सम्पादन आदि पक्षमा ठाउँ ठाउँमा चुकेको देखिन्छ।
हामीकहाँ इतिहासका उपकरण जोगाएर राख्ने परम्परा नभएकाले सच्चा र पूरा इतिहास लेख्न निकै गाह्रो छ। तर पश्चिममा इतिहासको सामग्रीको सुरक्षा गरेर राख्ने परिपाटी अक्षुण्ण भएकाले इतिहास लेख्न सजिलो छ। उदाहरणका लागि विसं १८७१-७२ मा नेपाल र ब्रिटिश भारतको बीचमा भएको लडाइँकै कुरा गरौं। नेपालसँगको लडाइँमा भएका चिठीपत्र जति समेटेर पेपर्ज् रेस्पेक्ट्इङ् द नेपाउल् वार् अर्थात् नेपालसँगको लडाइँसँग सम्बद्ध कागजात भन्ने नाउँले एउटा महाकाय ग्रन्थ लडाइँ टुंगिएको आठ वर्ष नपुग्दै ईसं १८२४ (विसं १८८०)मा लन्डनबाट ब्रिटिश ईस्ट इन्डिया कम्पनी सरकारका तर्फबाट छापियो।
यसभन्दा केही अगाडि ईसं १८२२ (विसं १८७९)मा लन्डनबाट मिल्इटरि स्केच्इज् अफ् द गूर्खा वार् इन् इन्डिअ इन् द यर्ज् १८१४, १८१५ यान्ड् १८१६ अर्थात् ईसं १८१४, १८१५ र १८१६ मा भारतमा गोरखासँग भएको लडाइँका सांग्रामिक वर्णन प्रकाशित भयो। यता नेपालमा भने त्यस्तो प्रबन्ध केही थिएन, भएका कागजात पनि छरपस्ट भए। बचेका कागजातमध्ये केही दरबार अर्थात् हनूमान्ढोकामा, केही जैसीकोठा अर्थात् अहिलेको परराष्ट्र मन्त्रालयमा र केही भाइभारादारसँगै रहे।
श्री ३ जुद्ध (विसं १९३२-२००९, शासनकाल १९८९-२००२) को पालामा विसं १९९६ तिर हनूमान्ढोका दरबारमा रहेका पुराना कागजात धुल्याई कागत कारखानालाई दिने क्रममा कागत छान्न खटिएकामध्येका रामजी तेवारी (विसं १९७३-२०४०)ले इतिहासका लागि काम लाग्ने ठहर्याएका केही कागतपत्र आफूसँग राखे। तीमध्ये केही कागजात संशोधन-मण्डलका सदस्य बनिसकेका रामजी तेवारीको जीवनकालमै छापिए, अप्रकाशित अवस्थामा रहेका अरू निकै कागजात उनी परलोक भएपछि विसं २०४१ मा पूर्णिमा ५७ पूर्णांकमा र विसं २०४३ मा पूर्णिमा ७० पूर्णांकमा छापिए। मूल कागजात अहिले संशोधन-मण्डलको संग्रहमा राखिएका छन्।
उनले ल्याएका ती कागतपत्रबाट पनि नेपालको तात्कालिक इतिहासमा धेरै प्रकाश पर्यो। नेपालसँग लडाइँको तयारी गर्ने सिलसिलामा विसं १८६९ मा डा. विलियम मूर्क्रोफ्ट (विसं १८२४-१८८२) र हैदर यङ हेर्सी (विसं १८३९-१८९७)हरूले गुप्त रूपमा गरेकोे नेपाल भ्रमणको कुरा परेको पत्र पनि तिनै कागजातमध्येकै हो (महेशराज पन्त, ‘नेपालसँग लडाइँ खोल्नुअघि अंग्रेजहरूले गुप्त भेषमा गरेको नेपाल-भोटभ्रमण’, पूर्णिमा २६ पूर्णांक, २०२९, ६७-१०० पृ.)।
नेपाल र अंग्रेजको लडाइँ हुँदा नेपालीहरूले परस्परमा लेखेका चिठीपत्र पनि मौका परे बीचैमा जफत गरी अंग्रेजहरू लग्थे। यसको उदाहरणका रूपमा श्री ५ गीर्वाणयुद्ध (विसं १८५४-१८७३, राज्यकाल विसं १८५५-१८७३)को नाउँमा बडाकाजी अमरसिंह थापा (विसं १८०८-१८७३)ले लेखेको अर्जी पनि काठमाडौं पुग्न नपाई बीच बाटैमा अंग्रेजहरूको हातमा परेको र त्यो पछि अंग्रेजीमा उल्था भई पेपर्ज् रेस्पेक्ट्इङ् द नेपाउल् वार् (५५३-५५७ पृ.)मा छापिएको कुरातर्फ औंल्याउन सकिन्छ।
अंग्रेजहरूले यसरी चिठीपत्र जफत गरी आफ्नो रहस्य थाहा पाउने गरेकाले नेपालीहरूले अर्कै उपायले खबर ओहोरोदोहोरो गर्ने नीति लिए। दुवै भाषा अर्थात् नेपाली भाषा र हिन्दवी, हिन्दी वा हिन्दूस्तानी जे भने पनि हुने भाषा नागरी लिपिमा लेखिने मात्र नभई एउटै वर्गका भाषा भएकाले निकै मिल्दाजुल्दा छन्। यसैले हिन्दी जान्नेले कोशिश गरेको खण्डमा उसलाई नेपाली बुझ्न त्यति अप्ठेरो पर्दैन। स्थिति यस्तो भएकाले लडाइँमा अंग्रेजहरूले आफ्नो कुरा बुझी नहालून् भनी लिपि मात्र फरक नपरी मूलतः किरात वर्गमा पर्ने नेवारी भाषामा नेपालीहरू चिठीपत्र गर्थे त उता अंग्रेजहरू चाहिं जसरी भए पनि ती चिठीपत्र हात पारी नेवारीमै लेखिएका भए पनि तिनबाट नेपालको रहस्य बुझ्न टाठो भएर बसेका थिए भन्ने कुरा पेपर्ज् रेस्पेक्ट्इङ् द नेपाउल् वार्बाट थाहा पाइन्छ।
धुल्याउन भनी हनूमान्ढोका दरबारमा छुट्याइएका कागजातमध्ये तेवारीले आफूकहाँ ल्याएकोमा अंग्रेज र नेपालको लडाइँ भएको समयमा श्री ५ गीर्वाणयुद्धविक्रमलाई नेवारी लिपिले नेवारी भाषामा लेखिएको एउटा अर्जी भेटिएकाले पेपर्ज् रेस्पेक्ट्इङ् द नेपाउल् वार्मा केही नेवारी पत्रको विषयमा पढेकोमा कमसेकम तीमध्ये एउटाको भए पनि मूल देख्न पाइयो। दुर्भाग्यवश यो पत्र खण्डित भएकाले सबै विषयवस्तु बुझिंदैन तापनि यस विषयमा केही कुरा लेखी पौने ११ वर्ष अगाडि लेख प्रकाशित गरेको थिएँ (राजधानी दैनिक, ‘अंग्रेजसँगको लडाइँमा नेवारी भाषाको उपयोग’, १३ वर्ष ५६ अंक, २०७०।४।१५।३, ७ पृ.)।
सरकारी प्रयासबाट ऐतिहासिक अभिलेख र कागजातको जगेर्ना गर्ने प्रयास नेपालमा नभए पनि निजी रूपले चाहिं ती विषयमा केही काम भएको थियो भन्ने यतासम्मका कुराबाट स्पष्ट भएको छ।
खुद नेपालीहरूले नेपालको इतिहास विषयमा पुस्तक प्रकाशन गर्ने कामको शुरूआत नेपालबाट होइन, प्रवासबाट अम्बिकाप्रसाद उपाध्याय (विसं? -१९९८)को नेपालको इतिहास र रामनगरको इतिहास (बनारसः देवीप्रसाद उपाध्याय) विसं १९७९ मा छापिएपछि भयो। त्यहाँ अंग्रेजहरूले प्रकाशन गरेका पुस्तकको आधारमा अंग्रेज र नेपालको लडाइँको विषयमा पनि केही पाना लेखिएको छ।
सूर्यविक्रम ज्ञवाली (विसं १९५५-२०४२)ले आफ्नो ३५ देखि ५१ वर्षको उमेरसम्मका १६ वर्षभित्र प्रकाशित गराएका ६ वटै कृति गोरखाली इतिहास सम्बन्धी भएका र तिनमध्ये दुई वटा पुस्तक अर्थात् वीर बलभद्र (दार्जीलिङः नेपाली साहित्य सम्मेलन १९९७) र अमरसिंह थापा (दार्जीलिङः नेपाली साहित्य सम्मेलन, विसं २०००) अंग्रेजसँगको लडाइँमा बहादुरीसाथ लड्ने दुई जना सेनापतिका विषयमा प्रामाणिक ढंगले लेख्ने कोशिश गरिएको छ। यी पुस्तक खालि अंग्रेजपट्टिका सामग्रीको ऊहापोह गरी लेखिएको भए पनि प्रकारान्तरले नेपालीले लेखेको अंग्रेजसँगको लडाइँको इतिहास भन्न सकिन्छ।
अंग्रेजसँगको लडाइँको विषयमा नेपालीले लेख्दा नेपालतर्फका सामग्री पनि केलाएर लेख्ने कामको शुरूआत मलाई थाहा भएसम्म नयराज पन्त (विसं १९७०-२०५९)बाट भएको हो। खुलाएर भन्दा, तोत्रराज पाण्डेय (विसं १९६७-२०१४) र उनको नाउँमा विसं २००४ मा छापिएको नेपालको संक्षिप्त इतिहास (काशीः तोत्रराज पाण्डेय) एसएलसीका लागि लेखिएको भए पनि भित्तै पुगेर लेख्ने बानी नयराज पन्तको भएकाले त्यस इतिहासमा आजभोलिको भाषामा भन्दा फर्स्ट-रेट् रिसर्च परेको छ र इतिहासका नयाँ नयाँ खोजी त्यहाँ परेका छन्। ग्रन्थकारको त्यही प्रकृति अनुरूप नेपाल-अंग्रेज युद्धको विषयमा पनि पूरै १ अध्याय त्यस इतिहासमा छ र त्यो लेख्दा नेपाली सामग्रीको पनि पाइएसम्म उपयोग गरिएको छ।
पाठशाला बन्दोबस्त अड्डामा नागरी फाँटका हाकिम बाबुराम आचार्य (विसं १९४४-२०२९)का दुवै आँखा बन्द भएपछि विसं १९९८ तिर उनको जागीर गयो। पछि उनलाई महीनाको रु.५०।- खाने गरी विसं २००६ देखि फेरि नियुक्ति गरी लेखनदास पनि दिने गरी नेपाली भाषाप्रकाशिनी समितिका तर्फबाट नेपालको समग्र इतिहास लेख्ने जिम्मेवारी दिइयो। यसरी विसं २००८ को मंसीर महीनासम्म काम गर्दा विसं १८७३ सम्मको इतिहास लेख्ने काम सकिएको थियो, पुस्तक पूरा हुन भने सकेको थिएन।
विसं २००८ मा ६० वर्ष नाघेका जागीरदारलाई खारेज गर्ने नियम लागू भएकाले बाबुराम आचार्य ‘रिटायर्ड’ भए। बाबुराम आचार्यका एक जना लेखनदास देवीप्रसाद भण्डारी (विसं १९७६-२०५६)सँग रहेका जति कापी विसं २०३१ मंसीरदेखि २०५० वैशाखभित्र संशोधन-मण्डलको पूर्णिमा पत्रिकाका १४ वटा अंकमा क्रमशः छापिए। त्यस इतिहासका २९ देखि ३२ परिच्छेदसम्म त्यस युद्धको विषयमा विस्तृत ढंगले लेखिएको छ र यसले पूर्णिमा पत्रिकाका ३९ पृष्ठ ओगटेको छ।
नेपाली भाषाप्रकाशिनी समितिद्वारा विसं २००७ मा प्रकाशित, ललितजंग सिजापति (विसं १९५८-२०५१)को विशाल गोरखा राज्यका केही प्रसिद्ध राजाहरूमा पनि ‘गोरखाली र अंग्रेजको लडाइँ’ भन्ने शीर्षकमा एउटा सिंगै अध्याय छ।
अंग्रेजसँग नेपालको सम्बन्ध विषयक नेपाली सामग्रीको परिशीलन गर्ने कामको शुरूआत भने धनवज्र वज्राचार्य (विसं १९८८-२०५१) र ज्ञानमणि नेपाल (विसं १९८९ मा जन्म) द्वारा सम्पादित ऐतिहासिक पत्रसंग्रह पहिलो भागको प्रकाशनबाट भयो। विसं २०१४ मा नेपाल सांस्कृतिक परिषद्द्वारा प्रकाशित त्यस पुस्तकमा पृथ्वीनारायण शाह (विसं १७७९-१८३१, राज्यकाल विसं १७९९-१८३१)देखि रणबहादुर शाह (विसं १८३२-१८६३, राज्यकाल विसं १८३४-१८५५)को पालासम्मका २४ वटा सरकारी पत्र व्याख्या सहित छापिएका छन्। तिनमध्ये माथि चर्चा गरिएको, डा. विलियम मूर्क्रोफ्टहरूले गुप्त रूपले गरेको नेपाल यात्रा सम्बन्धी पत्र पहिलो पटक त्यहीं छापिएको हो (१०४-११० पृ.)।
नेपाल-अंग्रेज युद्ध सम्बन्धी, नेपालतर्फका कागजातको परिशीलन गर्ने कामले साँच्चै भन्ने हो भने संशोधन-मण्डलद्वारा विसं २०२१ वैशाखमा पूर्णिमा पत्रिकाको प्रकाशनबाट गति लियो। यस सम्बन्धी कागजातको परिशीलन गर्ने अभिभारा संशोधन-मण्डलका गुरुहरूले मलाई दिएकाले पूर्णिमाको पहिलोदेखि २३ अंकसम्म- बीचमा १५ अंक छोडेर- विसं २०२७ आषाढसम्म मेरा लेख छापिए। यसरी आफ्नो १९ देखि २६ वर्षसम्मको उमेर मैले अंग्रेजसँग भएको नेपालको लडाइँ सम्बन्धी नेपालतर्फका कागजात प्रकाशित गर्ने र तिनको व्याख्या गर्ने काम गरेर बिताएँ। धुल्याउन भनी हनूमान्ढोकामा छुट्याएर राखिएका कागजातमध्येबाट तेवारीले ल्याएका, परराष्ट्र मन्त्रालयबाट वीर पुस्तकालयमा ल्याइएका र दैवज्ञशिरोमणि लक्ष्मीपति पाँडे (विसं १८१५-१८८८)को संग्रहका पत्र मेरा ती लेखमा प्रकाश गरिएका छन् र खास गरी त्यस्तै पत्रको आधारमा त्यस युद्धको विषयमा परिशीलन गरिएको छ।
मेरो यस प्रयासबाट त्यस युद्धको इतिहासको विषयमा के कति नयाँ प्रकाश पर्यो भन्ने कुरा त मैले भन्दा अरूले भन्नु राम्रो भए पनि नालापानीको लडाइँको विषयमा मेरो लेख आउनुभन्दा अगाडिसम्म एकतर्फी ढंगले मात्र बयान गरिंदै आएकोमा मेरा लेख (‘नालापानीको लडाइँ’, पूर्णिमा ३ पूर्णांक, ५८-७२ पृ., २०२१; ‘नालापानीका लडाइँसम्बन्धी अरू ६ पत्र’, पूर्णिमा ४ पूर्णांक, ६५-८२ पृ., २०२१) आएपछि त्यो बयान निकै परिमार्जन गर्नुपर्ने भयो सम्म चाहिं म भन्छु। नेपाल-अंग्रेज युद्धमा वीरगति पाउने भक्ति थापा (विसं?-१८७२)को चरित लेख्ने काम पनि मैले यसै प्रसंगमा गरें। भक्ति थापाको त्यो चरित ‘वीर भक्ति थापा’ भन्ने नाउँले पूर्णिमामा विसं २०२३ देखि २०२७ सम्म क्रमशः छपाएँ। यसरी झन्डै ४ वर्ष बिताइसकेपछि व्यक्तिविशेषको विषयमा लेखिने यस्तो खालको इतिहासमा मलाई वितृष्णा हुन थाल्यो र भक्ति थापाले वीरगति पाउनुभन्दा ६ महीना अगाडिसम्मको इतिहास लेखिसकेपछि फेरि यस विषयमा मैले कलम चोपिनँ र उनको चरित अधूरै रह्यो।
आफूले लेख्दै गइरहेको, भक्ति थापाको चरित पूरै नगरी चटक्कै छोड्नुको कारण गोरखा राज्यको विस्तारमा पृथ्वीनारायण शाहको प्रत्यक्ष वा परोक्ष निगरानीमा हुर्केका वा भक्ति थापा जस्ता पछि गोरखा राज्यमा जोडिन आएका भारादारहरूको ठूलो हात भए पनि राज्यविस्तारको योजना मूलतः उनीहरूको थिएन, शास्त्रीय शब्दमा भन्नुपर्दा उनीहरू आदेशहर किंवा कर्मकर थिए। सूर्यविक्रम ज्ञवालीले वीर बलभद्र र अमरसिंह थापा लेखी त्यस्ता सैनिकको यशोगान गर्ने कामको आरम्भ गरे। पछि हुँदा हुँदा कसैले गुरुङ जातिको, कसैले पाँडेको, कसैले बस्नेतको र कसैले थापाको गुणगान गरी नेपाल राज्यको एकीकरणमा र सुदृढीकरणमा ती ती जाति वा वंशको अवदानमा पुस्तक लेख्ने मात्र काम नभई विश्वविद्यालयको उपाधिका लागि थीसिस लेख्ने काम समेत हुन थाल्यो। यसरी मूलधारको इतिहास लेख्नमा जुन उपकरणको उपयोग हुन्छ, तिनै उपकरणको आधारमा जातिको वा वंशको महिमा गाउने चलन चल्न जाँदा इतिहास लेखनको भिन्नै धारा हामीकहाँ मौलायो।
मेरो यही अन्वेषण भजाएर कसैले वंशगौरवको दृष्टिले र कसैले आफ्नो करीअरका लागि पुस्तक लेखे पनि उनीहरूको काम मैले गरेको कामभन्दा अघि बढेको छैन र शास्त्रीय भाषामा भन्ने हो भने मेरै कामको चर्वितचर्वण वा पिष्टपेषण भइरहेछ भन्दा बढ्ता बोलेको ठहरोइन।
विसं २०२३ मा वीर पुस्तकालयबाट शाहकालीन ऐतिहासिक चिठ्ठीपत्र संग्रह भन्ने नामले शंकरमान राजवंशी (विसं १९८१-२०५६)को सम्पादकत्वमा दुई भागमा कागजात छापिए। तिनमा पहिलो भागमा परेका सबै पत्र र दोस्रो भागमा छापिएकामध्ये पहिलो पत्र अंग्रेजसँगको नेपालको सम्बन्ध वा नेपाल-अंग्रेज युद्धको विषयमा छन्। राम्ररी पाठ पनि नपढी, पूर्वापर सम्बन्ध नजोडी छापिएका ती पत्रलाई कच्चा सामग्रीका रूपमा नेपालको अंग्रेजसँगको सम्बन्धको सन्दर्भमा उपयोग गर्न सकिन्छ।
नेपाल-अंग्रेज युद्ध वा यस युद्धका नायकहरूको बारे जजसले लेखे, तिनीहरूलाई एकाध अपवाद नगन्ने हो भने मोटामोटी रूपमा चार वर्गमा बाँड्न सकिन्छ। बाबुराम आचार्य र नयराज पन्तहरूले आआफ्ना इतिहासमा यस विषयमा जे लेखे, त्यो सिलसिलेवार इतिहास तयार गर्ने क्रममा लेखिएको हो। सूर्यविक्रम ज्ञवालीले भने, मैले अन्त लेखे जस्तै, गोरखाली शासनको उत्कर्षको इतिहासको सन्दर्भमा यतापट्टि कलम चलाएका हुन् (नेपाली इतिहासको परिवेश- केही ऐतिहासिक र मसीजीवी, दोस्रो संस्करण, काठमाडौंः मार्टिन चौतारी, २०८०, १४६ पृ.)। एक थरीले आफ्नो वंशगौरवको दृष्टिले यसतर्फ दृष्टि दिएका छन् त अर्का थरीले आफ्नो ‘करीअर’ का लागि यस विषयमा काम गरेका हुन्।
वंशगौरवको दृष्टिले जे लेखिन्छ, त्यो ज्ञानले भन्दा अनुरागले बढी प्रेरित हुने हुनाले त्यस्तो पुस्तकबाट हामीले माथिल्लो तहको अन्वेषणको अपेक्षा राख्न मिल्दैन। तर त्यस्तो पुस्तक विशेषज्ञले लेखेका हुन् भने त्यसबाट हामीले निकै अपेक्षा गर्नुपर्छ। तर वंशगौरवको दृष्टिले लेखिएको नालापानीका सेनानायक वीर बलभद्र कुँवर (ऐतिहासिकतामा आधारित जीवनी) (रामराजा कुँवर र धन बहादुर कुँवर, काठमाडौंः प्रवेश कुमार कुँवर र देवकी कुँवर, २०६९) मा त्रिभुवन विश्वविद्यालयका एक जना प्रोफेसर गाँसिंदा गाँसिंदै पनि त्यो पुस्तक अन्वेषणको दृष्टिले विद्वद्ग्राह्य छैन भनी भन्नैपर्छ।
नेपाल-अंग्रेज युद्धको विषयमा मलाई थाहा भएसम्म पुस्तकाकारमा नेपालबाट भएको पहिलो प्रकाशन नेत्रराज्यलक्ष्मी राणाको दि याङ्ग्लो गोर्खा वार्, १८१४-१८१६ (काठमाडौं, ईसं १९७०) हो। यो पुस्तक खासगरी बाहिरबाट छापिएका कृतिको आधारमा लेखिएको छ। ठाउँ ठाउँमा पूर्णिमामा छापिएका मेरा लेखको उल्लेख भए पनि तिनको खास विवेचना भने त्यहाँ हुन सकेको छैन।
यस विषयमा बढी काम इन्दिरा जोशीबाट भएको छ। यस युद्धका नायक बूढाकाजी अमरसिंह थापाको विषयमा उनका दुई वटा पुस्तक- १) आधुनिक नेपालको निर्माणमा बडाकाजी अमरसिंह थापाको योगदान (काठमाडौं, २०५७; दोस्रो संस्करण, २०६३) र २) बुढाकाजी अमरसिंह थापा र बृहत् नेपाल (काठमाडौं, २०६३) निस्किए पनि ती पुस्तकमा खास तात्त्विक भेद नभएको जस्तो मलाई लाग्छ। उनीले नेपाल-अंग्रेज युद्ध नाउँले अर्को पुस्तक (काठमाडौं, २०६३) र आफ्ना गुरु तुलसीराम वैद्य (विसं १९९६ मा जन्म)सँग मिलेर सरदार भक्ति थापाः राष्ट्र भक्तिका प्रतीक (काठमाडौं, २०६४) निकालिन्। ‘करीअर’ का लागि लेखिएका यस्ता पुस्तकको छ्यानविचार गर्ने राम्रो निकाय विश्वविद्यालयमा नभएकाले यस्ता खालका पुस्तक बारम्बार छापिने क्रम चलिरहेको छ।
आकर अर्थात् स्रोतसम्म नपुगी द्वैतीयीक र तार्तीयीक मात्र होइन, अझ पछिपछिका कृति अर्थात् अरूले लेखिसकेको कुराका आधारमा मात्र इतिहास लेख्ने परिपाटी यहाँ बसेकाले यस्तो अवस्था आएको हो। प्राचीन कालका, ढुंगामा वा तामाको पातोमा कुँदिएका तथा ताडपत्र र कागतमा थरीथरीका लिपिले संस्कृत वा तात्कालिक जनभाषामा लेखिएका अभिलेख साधिकार पढ्न सक्ने पुरुषसम्पद् अर्थात् जनशक्ति त हाम्रा विश्वविद्यालयबाट उत्पादन त भएन भएन, नेपाली भाषामा उन्नाइसौं शताब्दीमा लेखिएका दस्तावेजले पनि विश्वविद्यालयका प्रोफेसरहरू र पुरातत्त्व विभागका अधिकृतहरूबाट उचित न्याय पाउन नसकेको कुरा तिनीहरूका कृतिबाट व्यक्त हुन्छ। यस अवस्थामा जबसम्म विश्वविद्यालयको शिक्षामा इतिहास सम्बन्धी उपकरणको पढाइ राम्रोसँग चल्दैन, तबसम्म मूलधारकाहरूबाट यस विषयमा खास काम हुन सक्दैन।
***
मूलधारको शिक्षाको यस्तो नैराश्यमय अवस्थामा नेपाल-अंग्रेज युद्ध सम्बन्धी कागजातको परिशीलन गरी अहिले मोहन मैनालीले मुकाम रराामैदान- नेपाल-अंग्रेज युद्धको बखान (काठमाडौंः बुकहिल पब्लिकेसन, २०८०) निकालेको देख्दा मेरो मन आफूले उद्दाम यौवनमा गरेको अन्वेषणतर्फ फर्केको छ। लामो समय पत्रकारितामा बिताएका मानिसले इतिहासका आकर केलाई लेखेको यस पुस्तकले कीर्ति राखेको छ भन्दा बढ्ता बोलेको ठहरोइन।
नेपाल-अंग्रेज युद्ध सम्बन्धी, मैले हेरेका कागजातभन्दा निकै बढी कागजात मोहन मैनालीले हेरेको कुरा मुकाम रराामैदानका पत्रपत्रबाट प्रकट हुन्छ। मैले जुन वेला नेपाल-अंग्रेज युद्धको विषयमा काम गरें, त्यस वेला त्यति कागजात उपलब्ध थिएनन्। परराष्ट्र मन्त्रालयमा थन्किएर रहेका, इतिहासका लागि काम लाग्ने भनी पोकाका पोका कागजात त्यसको धेरै धेरै वर्षपछि राष्ट्रिय अभिलेखालयमा ओसारिए। ती कागजातले यसरी अभिलेखालयमा वास पाएको धेरै वर्ष भइसके पनि अन्वेषकहरूको पहुँच सजिलैसँग तिनमा छैन, किनकि तिनलाई परराष्ट्र मन्त्रालयले अभिलेखालयलाई अझै विधिवत् नसुम्पेकाले तिनको मिल्कियत अभिलेखालयसँग होइन, अझै परराष्ट्र मन्त्रालयसँगै छ। ती कागजात हेर्न सार्न परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिनुपर्ने झन्झटिलो काम गर्नुपर्छ। तर ती सबै झन्झट पार गरी मैनालीले धैर्यपूर्वक कागजात केलाएर यो पुस्तक निकालेको अभिनन्द्य छ।
२० वर्षभन्दा बढी समय अखबारी ढंगका लेखनमा बिताएर होला, मैनालीको मुकाम रराामैदानको लेखनशैली अन्वेषणात्मक कृतिको जस्तो छैन, सरल भाषामा बगेर गएको शैलीमा यो पुस्तक तयार गरिएको छ। यति हुँदाहुँदै पनि मलाई खट्केको कुरा के छ भने, नेपाल-अंग्रेज युद्धको विषयमा ३०० पृष्ठको सिंगो पुस्तकमा पूर्वपीठिकाका रूपमा एउटा छुट्टै अध्याय नलेखिनु।
परराष्ट्र मन्त्रालयबाट राष्ट्रिय अभिलेखालयमा ल्याएर थुप्य्राइएका तर जो कोहीले हेर्न नपाउने कागजातमध्येबाट मुकाम रराामैदानमा चर्चा गरिएका केही दस्तावेज (२५५-२५६ पृ.)ले मलाई तानेकाले यस विषयमा केही लेख्न मन लाग्यो। कुरा के भने, नेपाल-अंग्रेज युद्ध टुंगिसकेपछि नेपाल सरकारले बाँकीबक्यौताको हिसाब गर्दा विसं १८६१ देखि १८७२ को १२ वर्षभित्र बूढाकाजी अमरसिंह थापाको मातहतमा भएको प्रदेशको आम्दानी-खर्चको हिसाब गर्दा उनले ७० लाख, उनका खरीदार पृथ्वीविलास उपाध्यायले १९ लाख र सुबेदार किसन थापाले सत्र सय रुपियाँ हिनामिना गरेको देखाइएको छ।
अमरसिंहका सहायक सुबेदार किसन थापाको चर्चा अन्यत्र आएको त मलाई अहिले सम्झना भएन, खरीदार पृथ्वीविलासलाई भने अमरसिंहले आफ्नो दूत बनाई पञ्जाबका राजा रणजित् सिंह (विसं १८३७-१८९६, राज्यकाल विसं १८५७-१८९६)कहाँ विसं १८७१ मा नेपाल-अंग्रेज युद्ध चलिरहेकै समयमा पठाएको सम्झन पुगें (भोलानाथ पौडेल र धनवज्र वज्राचार्यद्वारा सम्पादित गल्लीमा फ्याँकिएका कसिंगर- पण्डित भवानीदत्त पाँडेले गरेका मुद्राराक्षसहरूका नेपाली अनुवादमा नयराज पन्तको ‘उपोद्घात’, ललितपुरः जगदम्बा-प्रकाशन, २०१८, ७०-७३ पृ.)।
अमरसिंह थापा लडाइँ हारी फर्कंदा उनको मालसामान रोकी विजयी अंग्रेज सेनापति डेभिड अक्टर्लोनी (विसं १८१४-१८८२)ले हेर्दा उनीसँग ५९ लाख रुपियाँ भएको कुरा पनि अर्को गोरखाली दस्तावेजमा लेखिएको चर्चा मुकाम रराामैदानमा गरिएको छ। यो बाँकीबक्यौताको मुद्दा अमरसिंह बितेको २० वर्षपछिसम्म पनि नछिनिंदा उनीसँगै बसेका छोरा रणजोरलाई कप्तान रिपुमर्दन थापा मार्फत प्यादा कसिंदा ७३ हजार रुपियाँ असुलिएर दरबार दाखिल गरिएको कुरा त्यस्तै अर्को दस्तावेजमा छ (मुकाम रराामैदान, २५६ पृ.)।
‘जुन ठाउँको आम्दानी नै ५० लाख छैन, त्यस ठाउँको लडाइँ तथा प्रशासनको खर्च कटाएर बुढाकाजी, खरदार र सुबेदारले ९० लाख रुपियाँ हिनामिना गरेको आरोप मिथ्या देखिन्छ’ (२५६ पृ.) भनी मुकाम रराामैदानका कर्ताले अमरसिंह थापाको ओड बोलेकोमा विप्रतिपत्ति गर्न त्यति सजिलो नभए पनि मनमा लागेको कुरा म अब भन्छु।
चीन र भारतको बीचमा एउटा बलियो हिन्दू साम्राज्य बनाउन सर्वतोभावले लागेका पृथ्वीनारायण शाह विलासिताको कट्टर विरोधी थिए। यसैले उनको पालामा वसन्तपुर दरबार छोडेर अर्को दरबार बनेन। नयराज पन्तको शब्दमा, पृथ्वीनारायण शाहले ‘‘विलासमन्दिर’ भनी बनाएको वसन्तपुर दरबारले विलासी पुरुषलाई सन्तुष्ट पार्न गाह्रो छ। यो दरबार पनि पुरानो मल्लदरबारको एक अङ्ग भई एक चोक थपिएर बनेको थियो’ (धनवज्र वज्राचार्यद्वारा सम्पादित पण्डित सुन्दरानन्दविरचित त्रिरत्न-सौन्दर्य-गाथामा नयराज पन्तको ‘उपोद्घात’, काठमाडौंः नेपाल सांस्कृतिक परिषद्, २०१९, ६८ पृ.)। तर पृथ्वीनारायण शाह बितेको दुई वर्ष पनि नबित्दै यस्तो तापसी प्रवृत्तिको विरुद्ध भारादारहरू गएको कुरा विसं १८३३ मा काठमाडौं चिकंमुगलमा काजी सरूपसिंह कार्की (विसं १८०८-१८४२)ले बनाएको जयमन्दिर र त्यही साल केलटोलमा काजी अभिमानसिंह बस्नेत (विसं १८०१-१८५७)ले बनाएको मानमन्दिर अर्थात् तिलंगाघरबाट छर्लंग हुन्छ (धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठ, शाहकालका अभिलेख, काठमाडौंः नेपाल र एशियाली अनुसन्धान केन्द्र, २०३७, ३२ र ३३ संख्या)।
सरूपसिंहले राखेको शिलापत्रमा यस घरमा ‘नृत्यन्तु वाराङ्गनाः’ अर्थात् ‘पत्रियाहरू नाचून्’ लेखिएको छ र उनले आफूलाई ‘गीते स्वयं शंकरः’ अर्थात् ‘गानामा आफैं शिवजी’ भनी नाचगानमा अनुरक्ति देखाइएको छ। त्यसैगरी अभिमानसिंहले राखेको शिलापत्रमा आफ्नो घरको बयान गर्दा ‘नटनृत्यसुगीतगुणैर्ललितम्’ अर्थात् ‘नटुवाहरूको नाचगानले राम्रो भएको’ भनी लेखिएको छ। घर मात्र ठूलो नबनाई आआफ्नो घरमा भारादारहरूले रसरंग गर्ने गरेकाले यस्ता काम पृथ्वीनारायण शाहको नीतिको पूरै बर्खिलाफ हो भनी भनिरहनु पर्दैन।
सरूपसिंह कार्की पृथ्वीनारायण शाहका भित्रिया नभए पनि अभिमानसिंह बस्नेत चाहिं बाबु शिवरामसिंहको पालादेखि पृथ्वीनारायण शाहका आफ्ना मान्छे थिए। यसैले पृथ्वीनारायणको नीति उनले राम्रैसँग बुझेको भए पनि त्यसमा अडिग रहन सकेनन् र पृथ्वीनारायणका उत्तराधिकारी प्रतापसिंह शाह (विसं १८०६-१८३४, राज्यकाल विसं १८३१-१८३४) को शासनसँगै आएको विलासी जीवनतर्फ आकृष्ट हुन पुगे। यसै सिलसिलामा पछि विसं १८५० मा नारायणहिटीमा अभिमानसिंहका भाइ काजी धौकलसिंह बस्नेत (विसं १८०४-१८५८)को महल ठडियो (शाहकालका अभिलेख, ५० संख्या)। क्रमशः पाँडे, थापा आदि भाइभारादारका महल काठमाडौंमा ठडिंदै गए। महल मात्र होइन, उनीहरूले राजधानीमा र बाहिरफेर मन्दिर पनि ठड्याउँदै गए।
हाम्रा अमरसिंह थापाको काठमाडौंमा घरवास कहाँ थियो/थिएन, मलाई हेक्का भएन। तर उनले ठूलो खर्च गरी धर्मकार्य गरेको, ठाउँ ठाउँमा मन्दिर ठड्याएको दृष्टान्त नपाइने होइनन्। यी सब गर्न आवश्यक धनदौलतको जोहो भाइभारादारहरूले कसरी गरे, यो पनि अनुसन्धेय छ। यस अवस्थामा अमरसिंहले सरकारी पैसा मासे भन्ने कुरामा केही न केही सत्यता अवश्य होला भनी तर्क गर्न कता कता मन लाग्छ।
गोरखाली दस्तावेजमा डेभिड अक्टर्लोनीलाई ‘लुनिअषत्तर’ लेखेको विषयमा मुकाम रराामैदानमा गरिएको टिप्पणीले पनि मलाई तानेकाले यस विषयमा अलिकति लेखिहालूँ। डेभिड अक्टर्लोनीका छोरा रोड्रिक पेर्ग्रिन अक्टर्लोनी र बूढाकाजी अमरसिंह थापाका छोरा रामदासको विसं १८७० मा मीत लाएको बयान गरी जर्नेल अमरसिंह थापा (विसं १८१६-१८७१)लाई पठाइएको चिठीमा बाबु अक्टर्लोनीलाई ‘लुनिअषत्तर’ र छोरा अक्टर्लोनीलाई चाहिं ‘अषत्तरलुनि’ लेखिएको छ। अरू अरू गोरखाली पत्रमा पनि बाबु अक्टर्लोनीलाई ‘लुनिअषत्तर’ नै लेखिएको देखिन्छ (महेशराज पन्त, ‘नेपाल-अंग्रेज युद्ध शुरू हुनुभन्दा १ वर्षअगाडि अमरसिंह थापाका छोरा र अक्टरलोनीका छोराले मितेरी लाएथे’, पूर्णिमा ९ पूर्णांक, २०२३, ४९ पृ., १३ टिप्पणी)।
यी बाबुछोरामध्ये बाबु चाहिंको थरमा पदविपर्यय भएको विषयमा ‘बाबु र छोराका बीचमा अन्तर देखाउन उनले बाबुलाई लुनिअख्तर भनेका हुन् भनी कसैकसैले उल्लेख गरेका छन् तर अक्टरलोनीको पागलपनले गर्दा उनलाई लुनिअख्तर अर्थात् मूर्ख तारा पनि भनिन्थ्यो’ भनी मुकाम रराामैदान (१५५ पृ., १० टिप्पणी) मा लेखिएको छ र त्यसको प्रमाणका लागि आर.भी. स्मिटको अनलाइनमा पाइने द राइज् यान्ड् फल् अफ् क्रेजी स्टार् भन्ने पुस्तक देखाइएको छ।
त्यो किताब मैले हेरेको छैन, किन बाबु अक्टर्लोनीलाई पागल भनियो, त्यो कुरा पनि मैले बुझेको छैन। ‘लुनिअख्तर’ को उत्तरपद ‘अख्तर’ ले फारसी भाषामा ‘तारा’ र पूर्वपद ‘लुनि’ चाहिं ल्याटिन भाषाको ‘लुना’ बाट उद्भूत र त्यस भाषाबाट आफ्नो शब्दभण्डार बढाउने अंग्रेजी भाषामा पूर्वपद भई आउँदा चन्द्रमासँग सम्बद्ध अर्थ बुझाउँछ। चन्द्रमाको कलाको घटबढसँग पागलपनको सम्बन्ध हुन्छ भन्ने पाश्चात्त्य विश्वास पहिलेदेखि भएकाले नै ल्याटिन ‘लूना’ बाट निष्पन्न, अंग्रेजीको ‘लूनाटिक्’ शब्दले पागललाई बुझाउँछ भन्नेसम्म मात्र मलाई थाहा छ।
***
‘यो लडाइँका बेलामा लेखिएका चिठी र अन्य कागजपत्रमा विक्रम संवत्को तिथि राखिएको छ- जस्तै; संवत् १८७१ मार्ग वदि १२ रोज ५ (मुकाम रराामैदान ए पृ.) भन्ने लेखी त्यसलाई ‘अहिले हामीले चलाउने गरेको पात्रोअनुसारको ढाँचामा बदलेको छु’ (ऐजन) भनी लेखिएको छ। चान्द्रमान अर्थात् तिथि अनुसार मिति दिने त्यस वेला आम चलन थियो तापनि अपवादका रूपमा सौरमान अनुसार अर्थात् गतेमा पनि मिति लेखिन्थ्यो। धेरै टाढा नजाऔं, नेपाल-अंग्रेज युद्ध सम्बन्धी चिठीपत्र पनि गते अनुसार मिति भएका नपाइने होइनन्। दृष्टान्तका लागि, सुबेदार जगरूप खत्रीले बम शाहलाई लेखेको चिठीमा ‘इति संवत १८७१ मीति मंगसिर १४ गते मुकाम उल्खागढि शुभम’ (महेशराज पन्त, ‘नालापानीको लडाइँ’, पूर्णिमा ३ पूर्णांक, ६१-६२ पृ.) भनी मिति दिइएको छ र यस चिठीको चर्चा यही मिति दिई मुकाम रराामैदानमा पनि गरिएको छ (४५ पृ., २२१ टिप्पणी)। अन्तमा यस विषयमा भन्नुपर्ने कुरा के छ भने, हाम्रा कागजातमा भएका चान्द्रमान अनुसारका तिथिमितिलाई अहिले चलनचल्तीमा भएको सौरमानमा कसरी बदलिएको हो, यसको खुलासा गरिएको भए राम्रो हुन्थ्यो।
आकरबाट उद्धरण गर्दा जस्ताको तस्तो उद्धरण गर्नु अन्वेषकको धर्म हो। आकरका केही कुरा कालान्तरमा दुर्बोध्य हुँदा शोधकले मूलको वाक्य नखजमज्याई टिप्पणीमा वा अन्त कतै कुरा खुलस्त पार्ने चलन छ। तर यहाँ उद्धरणचिह्नभित्रै आकरका मूल वाक्यसँगसँगै ग्रन्थकारको तर्फबाट थपिने प्रक्रिया (ए-ऐ पृ.) अन्वेषणपद्धतिभित्र पर्दैन। यसैगरी कागजातका वर्णविन्यासलाई प्रचलित रूपमा परिवर्तित गर्नु (ऐ-ओ पृ.) पनि अन्वेषकको धर्म होइन।
अहिले ‘‘गर्लान्’ लेखिने ठाउँमा ‘गर्नन्’ लेखिंदो रहेछ’ भन्ने बुझी कागजातबाट उद्धरण गर्दा ‘गर्नन्’ लाई ‘गर्लान्’ बनाई छपाएको कुरा यहाँ लेखिएको छ (ओ पृ.)। ‘गर्नन्’ जस्ता क्रियापद हालसम्म पनि त्यति अप्रचलित होइनन्, पछिका कविहरूले पनि त्यस्तो प्रयोग गरेको नपाइने होइन (उदाहरणका लागि नयराज पन्त, विश्रान्ति, काठमाडौंः नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, २०५०, २९३ पृ.मा ‘टुङ्गो लाइदिने परीक्षक कुनै क्वै कालमा जन्मनन्’)।
वाक्यको अन्तमा राखिने ठाडो धर्कोलाई अहिले नेपाली हिन्दी आदि आधुनिक भाषामा मात्र होइन, संस्कृतको सन्दर्भ आउँदा समेत ‘पूर्णविराम’ भन्ने गरिएको छ। अंग्रेजीको ‘फुल स्टप’ को यो शब्दशः उल्था हो। त्यस्तो धर्कोको आकृति लट्ठी जस्तो भएकाले प्राचीन कालमा ‘दण्ड’ शब्दले त्यो चिनिन्थ्यो। त्यसैले केही वर्ष भयो, मैले यस्तो विरामचिह्नलाई ‘दण्ड’ भन्ने गरेको छु। छापाको व्यापक प्रयोग नहुँदासम्म नेपाली लेख्दा भने ‘दण्ड’ को सट्टा ‘बिन्दु’ हाल्ने चलन थियो। पहिले पहिले अरू अरू विरामचिह्नको प्रयोग बडो फारो गरेर हुन्थ्यो। भारतमा पाश्चात्त्य शासन आएपछि मात्र उद्धरण चिह्न, अर्धविराम चिह्न र विस्मयादिबोधक चिह्न आदिको प्रयोग हुन थालेको हो। हुँदा हुँदा प्राचीन संस्कृत ग्रन्थको सम्पादनमा पनि यस्ता चिह्नको छेलोखेलो प्रयोग हुने गरेको छ।
वास्तवमा हाम्रा भाषामा त्यस्तो खालका चिह्नको प्रयोगै नगरीकन भावबोध हुने हुनाले मैले आफूले सम्पादन गरेका प्राचीन कृतिमा र खुद आफ्ना लेखमा त्यस्ता चिह्नको प्रयोग नै नगर्ने वा अत्यन्त कम गर्ने पद्धति बसालेको छु। यस विषयमा मैले प्रसंगवश लेखेको पनि २५ वर्ष भइसक्यो (जातरूप’ज् कमेन्टरि अन् दि अमरकोष, १ भाग, दिल्लीः मोतीलाल बनारसीदास, ईसं २०००, ४५८-४६१ पृ.)। यस कारण ‘विस्मयादिबोधक चिह्न प्रयोग गरिँदो रहेनछ। मैले अहिलेको प्रचलनअनुसार तिनको प्रयोग गरेको छु’ (मुकाम रराामैदान, ओ पृ.) भनी यहाँ लेखेको देख्दा तात्कालिक लेखनपद्धति नबुझेको त देखिई नै हाल्यो, त्यसमाथि पुराना लेखको सम्पादन गर्दा उचित न्याय नगरेको पनि स्पष्ट भयो।
‘त्यति वेला अंग्रेजलाई बुझाउन उपयोग गरिएको कुइर्या शब्द हियाउने गरी उपयोग भएको छैन। अनि साहेब शब्द आदरार्थीका रूपमा उपयोग भएको छैन’ (ओ पृ.) भनी त्यस युद्धताकाका प्रशस्त कागजात हेरेका मोहन मैनालीले लेखे पनि यो कुरा मलाई भने कत्ति पनि पचेन।
एउटै नाम र थर भएका वा थर एउटै भएका भिन्नाभिन्नै मानिसको विषयमा खुलासा यस पुस्तकमा दिइएकाले यस विषयमा गहिरिएर पढ्नेका लागि सजिलो भएको छ। यति गर्दागर्दै पनि त्यस्ता विषयमा लेख्दा ‘नेपाली कमान्डरहरूले यी दुई गार्डनर दाजुभाइ भएको उल्लेख गरेका छन्। जोन पेम्बलका अनुसार यी दाजुभाइका छोरा हुन्’ (औ पृ.) लेखी टारिएको छ। कुन चाहिं नेपाली कमान्डरको कुन चाहिं पत्रमा यो कुरा आएको छ, जोन पेम्बल (विसं १९९८ मा जन्म)को दि इन्भेझन् अफ् नेपाल् (अक्स्फोर्डः क्लारेन्डन प्रेस, ईसं १९७१)को कति पृष्ठमा यो कुरा छ भनी खुलाइएको भए राम्रोसँग जान्न खोज्नेलाई अझ सजिलो हुन्थ्यो।
पादटिप्पणी राख्दा एउटै टिप्पणी हूबहू त्यही शब्दमा बारम्बार दोहोरिएको छ। कहीं कहीं त एकै पृष्ठमा पनि त्यस्ता टिप्पणी दोहोरिएका छन् (उदाहरणका लागि ५१ पृ.मा दुई पटक, ५३ पृ.मा पनि दुई पटक)। टिप्पणी राख्ने कुनै छरितो पद्धतिको अवलम्बन गरिएको भए यस्तो भद्दा हुने थिएन।
त्यति नसुनिने स्थानविशेषको चर्चा मुकाम रराामैदानमा आउँदा तिनको भुवनकोषीय संस्थान दर्शाइएको भए राम्रो हुन्थ्यो। जस्तै- मण्डलाको लडाइँको त्यत्रो लामो बयान छ, मण्डला कहाँ पर्छ भने खुलाइएको छैन (११९-१२७ पृ.)। कहाँ पर्छ भनी खुलाइँदा पनि अलमलिने अवस्था आएकोको दृष्टान्त एक ठाउँमा ‘झाम्टा’ नाहानमा (२४ पृ.) र अर्को ठाउँमा गढवालमा (२६४ पृ.) पर्ने भनी लेखिएकोमा पाइएको छ। स्थानविशेषको नाउँ कहीं कहीं शुद्धसँग उतारिएको छैन- अंग्रेजी कागजातको प्रभावमा ‘रोहिलखण्ड’ त्यसैले ‘रोहिलकुण्ड’ हुन गएको छ (२१ पृ.)।
***
बुटवलको लडाइँमा अंग्रेजतर्फबाट लड्न आएका सैनिकमा यूरोपियन, मुसलमान र हिन्दू थिए। तिनीहरूलाई पिउन भनी ‘युरोपेलीका लागि क्यारिजमा, मुसलमानका लागि छालाका थैलामा र हिन्दूका लागि गाग्रामा पानी ल्याउने व्यवस्था मिलाइयो’ (७७ पृ.) भनी यहाँ लेखिएकाले ‘क्यारिज’ भन्ने पात्रविशेष रहेछ भन्ने अर्थ लाग्छ। यहाँ ‘arrangements were made with the Commissariat for the carriage of water for the Europeans and Musselmans in leathern bags, and for the Hindoos in pots’ (पेपर्ज् रेस्पेक्ट्इङ् द नेपाउल् वार्, ५२४ पृ.)मा परेको क्यारिज शब्दको अर्थ बुझ्न नसक्दा यूरोपीयनहरूका लागि भिन्नै प्रकारको भाँडामा पानी ओसार्ने जोहो गरिएको रहेछ भन्ने अर्थ निकालिएको देखिन्छ।
यस पुस्तकमा ठाउँ ठाउँमा संस्कृत शब्दको वर्णविन्यास बिग्रिएकोको टड्कारा दृष्टान्त अरिमर्दन थापाको ठाउँमा अडिमर्दन थापा (१५१ पृ.) र साम, दान, दण्ड, भेदको ठाउँमा ‘साम, दाम, दण्ड, भेद’ (२१२ पृ.)मा पाइएको छ।
***
मूल दस्तावेजमा ‘माइला गुरुज्यू’ (१८ पृ.) मात्र लेखिएकाले मुकाम रराामैदानमा पनि नाउँ नखुलाई त्यति मात्र लेखी काम चलाइएको छ। यसरी पद मात्र नदिई खोजमेल गरी पदधारीको नाउँ पनि हालिएको भए राम्रो हुन्थ्यो। मेरो विचारमा ‘माहिला गुरुज्यू’ भनेर राजगुरु पण्डितराज व्रजनाथ (विसं १८१०-?) का माहिला छोरा पण्डितराज कृष्णलाई भनेको हुनुपर्छ। अर्को शब्दमा भन्दा, पण्डितराज मुख्तियार रंगनाथ (विसं १८३०-१९१६, मुख्तियारी विसं १८९४-१८९६)का भाइलाई भनेको हुनुपर्छ। पछि राजगुरु र राजपुरोहित भएका पाँडेहरूले जस्तै यी पौडेल राजगुरुहरूले पनि आफ्ना भैयादहरूभन्दा आफूलाई फरक देखाउन थर नलेखी ‘पण्डित’ उपाधि ग्रहण गरेकोको यो उदाहरण हो।
विसं १९११ मा ब्रिटिशले दोस्त मोहम्मदलाई अफगानिस्तानका राजा मान्नुभन्दा अगाडि त्यो भूभाग ‘काबुल’ नाउँले चिनिन्थ्यो। पछि ‘काबुल’ यो नाउँ त्यस मुलुकको राजधानीको नाउँमा खुम्चिन गएको त हामीलाई थाहै छ। यसकारण ‘पञ्जाब र अफगानिस्तानबीच लडाइँ भयो’ (२६२ पृ.) भन्नुभन्दा ‘अफगानिस्तान’ को ठाउँमा ‘काबुल’ लेखेको भए बढी राम्रो हुन्थ्यो।
***
तात्कालिक कागजातमा आएका, अहिले चलनचल्तीमा नभएका शब्दहरूको सूची ‘विशिष्ट शब्द र तिनको अर्थ’ मा दिइएकाले ती शब्दको अर्थ खुलस्त भएको छ (२७३-२७५ पृ.)। तर त्यहाँ अझै केही शब्द छुटेका छन् भन्ने कुराको दृष्टान्तका लागि पल्टनको एक ठूलो एकाइ बुझाउने ‘डिभिजन’ (१, २३ पृ.) जस्ता शब्द नगाभिएकोतर्फ औंल्याउनुपर्छ। पल्टनमा ‘कम्पनी’ शब्द चलेको छ भन्ने त हामी सबैलाई थाहा छ, तर एक कम्पनीमा कति सैनिक हुन्थे भन्ने स्पष्ट नगरी खालि ‘सेनाको एउटा एकाइ’ (२७३ पृ.) मात्र लेखेर छोडिएको छ। मुकाम रराामैदानमा चर्चा गरिएको तात्कालिक एउटा दस्तावेजमा ‘फर्सावर्दार’ भन्ने ओहदाको चर्चा आएको (२४४ पृ.मा ८ टिप्पणी, २४५ पृ.मा ९ टिप्पणी) र त्यस पदको कामकर्तव्य हामी जस्ताका लागि अस्पष्ट भएकाले त्यसको खुलासा हुनुपर्थ्यो। यही सूचीमा ‘धनुषी कम्पनी’ हाली त्यसको अर्थ ‘धनुषधारी सिपाहीको कम्पनी’ (२७४ पृ.) भनी दिइएको छ। यो शब्द पाल्पाको सैन्यको विषयमा आएको रहेछ (३१, ७६ पृ.)।
गोरखाली विजययात्रा नाउँले प्रकाशित एउटा टिपोटमा ‘धनुकि कम्पनि’ पाल्पाको लडाइँको प्रसंगमा आएको कुराको सम्झना अहिले मलाई भयो (दिनेशराज पन्तद्वारा सम्पादित, काठमाडौंः खिलशर्म-राजीवलोचनजोशीस्मारकप्रतिष्ठान, २०७०, ५७ पृ.)। मुकाम रराामैदानमा मूल दस्तावेजबाट सम्बद्ध अंश उतारी नदिइएकाले त्यस्तो सैन्यको नाउँ ‘धनुषी’ हो कि गोरखाली विजययात्रामा लेखिए जस्तै ‘धनुकि’ हो भन्ने प्रश्न उठ्न गएको छ।
मुसलमानी कालदेखि भारतको शासनमा चलेका सरकारी ओहदा सम्बन्धी धेरै शब्द नेपालमा पनि पछि भित्रिएकामध्ये एउटा शब्द ‘बख्शी’ पनि हो। यो शब्द ‘विशिष्ट शब्द र तिनको अर्थ’ मा नगाभिएको भए पनि मूल ग्रन्थमै ‘बक्सी (भँडारे)’ (१२१ पृ.) भनी लेखिएको छ। ‘बख्शी’ शब्दको मूल अर्थ सेनामा तलब बाँड्ने कर्मचारी भन्ने हुने र प्रधानसेनापतिसँग उसको काम गाँसिएको हुने हुनाले यस ओहदाको परिभाषा ‘बक्सी (भँडारे)’ भनी गर्दा अलि अर्थापकर्ष हुन गएको छ।
‘विशिष्ट शब्द र तिनको अर्थ’ मा ‘गुहार/गुहारा/गोहार’ पनि चढाई त्यसको अर्थमा ‘आपत परेका वेला मागिने/दिइने सहयोग’ (२७३ पृ.) लेखिएको छ। तर गुहार शब्द अहिलेको सामान्य बोलीचालीमा पनि चलेकाले त्यो शब्द हाली त्यसको अर्थ दिनु आवश्यक थिएन।
व्यक्तिविशेष वा स्थानविशेषको नाउँ वर्णानुक्रमले ‘अनुक्रमणिका’ मा दिंदा सबै नाउँ परेको छैन भन्ने दृष्टान्तका लागि ‘रणजोरसिंह’ (२४ पृ.मा परेको) र ‘बेतिया’ (१३ र २४ पृ.मा परेको)तर्फ औंल्याउनुपर्छ। ‘झोलाझाम्टा’ को उत्तरपद ‘झाम्टा’ (७८ पृ.) प्रमादवश ‘अनुक्रमणिका’ मा भएको स्थाननाम ‘झाम्टा’ मा परेको छ।
***
मुकाम रराामैदानमा उद्धृत वा प्रकाशित हुनुभन्दा अगाडि नै अन्त छापिएका कागजातको सन्दर्भ दिंदा धेरै ठाउँमा पूर्वसूरिको अर्थात् आफूभन्दा अगाडिका गवेषकको चर्चा आएको छैन। यसको दृष्टान्तका रूपमा केही कुरा यहाँ औंल्याउनु राम्रै होला।
मण्डलाको लडाइँको विषयमा नाहानबाट चन्द्रवीर कुँवरले पठाएको चिठी पहिलो पटक विसं २०२३ मा शंकरमान राजवंशीद्वारा प्रकाशित भएको हो (शाहकालीन चिट्ठी पत्रसंग्रह, १ भाग, १७-२२ पृ.)। पछि मूल चिठीसँग रुजु गरी विसं २०२६ मा शुद्ध पाठ मैले छपाएको हुँ (‘वीर भक्ति थापा’, पूर्णिमा २१ पूर्णांक, २०२६, ४०-४२ पृ.)। तर मुकाम रराामैदान (१२० पृ.)मा आफूभन्दा अघिबाट त्यो दस्तावेज छाप्नेको चर्चा नगरी सोझै राष्ट्रिय अभिलेखालयमा यस पत्रको माइक्रोफिल्म यति नं.मा दर्ता छ भनेर मात्र लेखिएको छ। त्यही लडाइँको विषयमा नाहानबाट चामु बस्नेत समेतले पठाएको चिठी पनि पहिलो पटक शंकरमान राजवंशीद्वारा नै प्रकाशित हो
(ऐतिहासिक चिट्ठीपत्र संग्रह, १ भाग, २३-३२ पृ.)। मूल चिठीसँग रुजु गरी विसं २०२६ मा शुद्ध पाठ मैले छपाएको हुँ (पूर्णिमा २१ पूर्णांक, ४३-४७ पृ.)। यसमा पनि यसैगरी अभिलेखालयको मात्र सन्दर्भ दिइएको छ (१२१ पृ.)।
बलभद्र कुँवर (विसं १८४६-१८७९), रिपुमर्दन थापा, चन्द्रवीर थापा, नाथु माझी, चामु बस्नेत, गजसिंह थापा, दलजित् कुँवर र दयाराम खड्काले भीमसेन थापा (विसं १८३२-१८९६, शासनकाल विसं १८६३-१८९४) र रणध्वज थापालाई कार्तिकशुदि ६ रोज ५ मा लेखेको चिठीको माइक्रोफिल्म अभिलेखालयमा यति नं.मा दर्ता छ भनी त्यस चिठीको धेरै अंश मुकाम रराामैदान (३७ पृ.)मा प्रकाश गरिएको छ। यो चिठी अविकल रूपमा पूर्णिमा ४ पूर्णांक, ६९-७० पृ.मा मैले छपाएको भए पनि मुकाम रराामैदानमा त्यसको चर्चा छैन। त्यसैगरी भीमसेन थापा र रणध्वज थापालाई रिपुमर्दन थापाले विसं १८७१ पौषवदि १२ रोज १ मा लेखेको चिठी सबभन्दा पहिले मैले नै छपाएको हुँ (‘नालापानीको लडाइँ’, पूर्णिमा ३ पूर्णांक, २०२१, ६६-७२ पृ.)। तर यहाँ ५१ पृ.का १ र २ टिप्पणीमा अभिलेखालयको मात्र सन्दर्भ छ।
मुकाम रराामैदानमा पहिलो पटक उद्धृत वा चर्चित कागजातकोे पूरा पाठ परिशिष्टमा कतै दिइएको भए यस विषयमा बढी खोज गर्न खोज्नेहरूलाई सजिलो हुन्थ्यो। छपाइखर्च बढ्ने इत्यादि कारणले होला, त्यस्तो गरिएको छैन। मुकाम रराामैदान छापिनुभन्दा ५९ वर्ष अगाडि नै लामो व्याख्या सहित मैले छापिइसकेको (पूर्णिमा ३ पूर्णांक, ६६-७२ पृ.) एउटा दस्तावेजको पूरा पाठ त्यहाँ (२७७-२७९ पृ.) दिइएको छ र त्यसको फोटो चाहिं जिल्दको पछाडि भागको ठीक अगाडि राखिएको छ। नालापानीको लडाइँको पूरापूर बयान त्यस दस्तावेजमा गरिएकाले नै त्यो फेरि छापिएको हुनुपर्छ।
***
‘१६६५ सालमा त्यस कम्पनीको जहाजका पहिलो कमान्डर विलियम हकिन्स दक्षिण भारतको गुजरातको सूरत शहरमा आइपुगे। त्यहाँबाट उनी आगरा गए, जहाँ उनलाई त्यहाँका महाराजाले स्वागत गरे’ (९ पृ.) भनी लेखिएकाले आगरामा भिन्नै राजा थिए भन्ने भ्रम पर्छ। वास्तवमा आगरा त मुगल बादशाहहरूको राजधानी थियो। विसं १६६५ मा विलियम हकिन्स (विसं १६१७-१६७०) आगरा आउँदा बादशाह जहाँगीर (विसं १६२६-१६८४, राज्यकाल विसं १६६२-१६८४)ले उनलाई स्वागत गरेका थिए।
एक ठाउँमा ‘बेतियाका जमीनदार’ (१३ पृ.) र अर्को ठाउँमा ‘बेतियाका राजा’ (२४ पृ.) भनी बेतियाका शासकलाई लेखिएकाले पाठकलाई भ्रम परेको छ। मुगल बादशाह, बंगालका नवाब, ईस्ट इन्डिया कम्पनी हुँदै ब्रिटिश भारतको शासनमा विसं १९५० सम्म अस्तित्व जोगिएको बेतिया राज एक प्रकारको जमीनदारी भए पनि सैनिक शक्तिले सम्पन्न थियो र त्यहाँका कुलक्रमागत शासक ‘राजा’ उपाधिले विभूषित थिए। बेतियाका राजाहरूको प्रशस्तिमा बाकायदा ‘महाराजाधिराज’ पदवी लाग्थ्यो भन्ने कुरा तात्कालिक दस्तावेजबाट थाहा हुन्छ (त्यस्तो एउटा दस्तावेजका लागि विसं २०४३ मा प्रकाशित पूर्णिमा ७० पूर्णांकका १५-१६ पृ. हेर्नू)। यसैले वीरकिशोरलाई ‘बेतियाका जमीनदार’ नभनी ‘बेतियाका राजा’ भन्नु नै उचित होला।
कुमाउका हर्षदेव जोशीलाई ‘किङ्-मेकर्’ भने पनि त्यतिविधि फरक पर्दैन। उनलाई यहाँ ‘हर्षदेव जैसी’ (२५ पृ.) भनी लेखिएकाले उनको जातको विषयमा भ्रम पर्ने सम्भावना हुँदा ‘हर्षदेव जोशी’ भनेको भए उचित हुन्थ्यो।
पाल्पाली राजा ‘पृथ्वीपाल सेन’ (विसं? -१८६३, राज्यकाल विसं १८५०-१८६१) यहाँ ‘पृथ्वीपाल सिंह’ (१६ पृ.) मात्र नभई उनको विषयमा लेख्दा गज्याङमज्याङ हुन गएको छ। गोरखाको आश्रित राज्य पाल्पाका राजा पृथ्वीपाल सेन काठमाडौंमा नजरबन्दमा राखिएका हुन्, पछि उनी छुटी स्वदेश पनि फर्किएका हुन्। विसं १८६१ मा पाल्पा गोरखा राज्यमा विलय भयो। विसं १८६३ मा स्वामी महाराज रणबहादुर शाह आफ्ना सौताने भाइ शेरबहादुर शाह (विसं १८३४-१८६३)को हातबाट मारिंदा पृथ्वीपाल सेन काठमाडौंमा थिए। शेरबहादुरका मतियार भनी मारिनेमध्ये पृथ्वीपाल सेन पनि भएकाले नेपाल-अंग्रेज युद्ध हुँदा यिनी मारिएको साढे आठ वर्ष भइसकेको हुँदा यहाँनिर अलि खुलाएर लेखेको भए स्पष्ट हुन्थ्यो।
अन्तमा म के कुरा जोड दिएर भन्छु भने, माथि जे लेखियो, त्यो एघाह्रौं शताब्दीका काश्मीरी ऐतिहासिक कल्हणको भाषामा भन्दा राग र द्वेषको बहिष्कारबाट जन्मिएको हो, अरू केही होइन।
यो पनि पढ्नुहोस् : ऐतिहासिक कागजात खोज्दाको रोमाञ्चक यात्रा