एकदिवसीय शृंखला नेपालको खराब शुरूआत
आयरल्यान्ड वुल्भ्ससँगको एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको बुधबारको पहिलो खेलमा आयरल्यान्डले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३६ रनमै समेटिएको हो। नेपालका लागि शहाब आलमले ३७, देव खनालले २६, वसिर अहमदले २० र रिजन ढकालले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
आयरल्यान्डका लागि म्याथ्यु हमफेयर्सले पाँच र लिन म्याकर्थीले चार विकेट लिए।
यसअघि ब्याटिङ गरेको आयरल्यान्डले ३८.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो। आयरल्यान्डका लागि केड कार्मिचलले अर्धशतक बनाए। उनले ७७ बलमा चार चौका प्रहार गर्दै ५१ रन बनाए।
त्यस्तै, निल रोकले ३९, पेटेर नूरले २१, जेम्स म्याकुलम र स्टेफेन डोहेनीले १२-१२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि कमल ऐरीले ह्याट्रिक गरेका थिए। उनले ६.१ ओभरमा एक मेडन राख्दै २१ रन खर्चिए। त्यस्तै, शहाब आलम र मौसम ढकालले दुई-दुई तथा रिजन ढकालले एक विकेट लिए।
आजदेखि नेपालको ‘ए’ टोली र आयरल्यान्ड वुल्भ्सबीच एकदिवसीय शृंखला शुरू भएको हो। यसअघि भएको टी-२० शृंखला आयरल्यान्डले जितेको थियो।