संसदीय छानबिन समिति गठन नभए संसद् चल्न नदिने कांग्रेसको चेतावनी
गृहमन्त्री रवि लामिछाने सहित सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएमा संसद् अवरुद्ध पार्ने नेपाली कांग्रेसले चेतावनी दिएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले फरार सूचीमा रहेका जीबी राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको जिकिर गरेका हुन्। गृहमन्त्री लामिछानेले नै उनलाई लुकेर बस्न लगाएको समेत शर्माको आरोप थियो।
“माघ १६ गते रवि लामिछानेले भन्नुभयो- सरकारले जीबीलाई राई पक्राउ गर्न चाहेन, खोज्नै चाहेन,” शर्माले भने, “अहिले भन्नुभयो- आकाशमा होलान्, पातालमा होलान्, हामी लिएर आउँछौं।”
आफ्नै सम्पर्कमा रहेका जीबीलाई पक्राउ गर्न नखोजेको शर्माको आरोप थियो। “जीबी राई मलेशियामा छन्, दुनियाँलाई थाहा छ,” शर्माले प्रश्न गरे, “जीबी राईलाई लिएर आउन के कुरामा ढिलाइ भएको छ?”
मलेशियामा रहेका राईका विषयमा सरकारले नै थाहा नपाए जस्तो गरेको उनको भनाइ थियो। “खोज्ने काम सरकारका निकायले गर्ला तर हामीले पाएको सूचनाका अनुसार जीबी राई गृहमन्त्रीजीको सम्पर्कमा हुनुुहुन्छ,” शर्माले भने।
जीबी राईसँगै गोरखा मिडियाको सञ्चालक र प्रबन्ध निर्देशकका रूपमा काम गरेका गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ। लामिछाने प्रबन्ध निर्देशक रहेकै वेलामा पाँच वटा सहकारीको ८० करोड रुपैयाँ गोरखा मिडियामा लगानी गरिएको उनले संसद्मा उल्लेख गरे।
“गृहमन्त्री लामिछानेजी २०७७ चैत २५ देखि २०७९ असार १ गतेसम्म सञ्चालक र प्रबन्ध निर्देशक हुनुुन्थ्यो,” शर्माले विवरण सुनाए, “त्यही वेला पाँच वटा सहकारीको ८० करोड लगानी भएको छ।”
संसद्मा शर्माले प्रस्तुत गरेको विवरणमा काठमाडौंको सुर्वण लक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको सहारा, नेपालगन्जको समानता र वीरगन्जको सानो पाइला सहकारीको रकम गोरखा मिडियामा लगानी भएको छ। पाँचै सहकारीका ५० हजारभन्दा बढी बचतकर्ताको ८० करोडभन्दा बढी रुपैयाँ हिनामिना भएको छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यका नामबाट पनि सहकारीको रकम गोरखा मिडियामा लगानी गरिएको शर्माले सुनाए। “सहमहामन्त्रीको नाममा गोरखा मिडियामा सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ प्रवाह भएको छ। सूर्यदर्शन सहकारीबाट एक करोड प्रवाह भएको देखिन्छ,” शर्माले भने।
रास्वपाको ‘कोर’ टीम नै सहकारीको रकम हिनामिनामा संलग्न रहेको कांग्रेसको आरोप छ। सांसद शर्माले भने, “नयाँ जोश र जाँगरसाथ आएको नयाँ पार्टीभित्र एउटा ‘कोर’ टीम रहेछ, जो यो समग्र गतिविधिमा सामेल छ। कोर टीमभित्र बसेर काम गर्छ, अर्को ‘डोर’ टीम छ, ढोकामा बसेर ढाकछोप गर्छ। अनि ‘पुअर’ टीम छ, देशभर रास्वपा जिन्दाबाद भनेर फेसबूकमा लेखिरहन्छ।”
यसअघि प्रहरीले सहकारीको रकम हिनामिनामा अनुसन्धान गरिरहेको भए पनि लामिछाने गृहमन्त्री भएपछि रोकिएकाले संसदीय छानबिन समिति आवश्यक भएको कांग्रेसको जिकिर छ। “फागुन २१ गतेपछि अनुसन्धान रोकियो। सयौंमाथिको अनुसन्धान रोकिने भयो, पीडित मर्ने भए,” शर्माले भने, “त्यसैले संसदीय छानबिन आवश्यक छ।”
प्रतिनिधि सभाको अर्को बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसले माग गरेको छ। शर्माले भने, “आजबाट हाम्रो अल्टिमेटम पनि सकिएको छ। आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस्।”
अर्को बैठकमा पनि संसदीय छानबिन समिति गठन नभए कांग्रेसले संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ। संसद्का हरेक बैठकमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ।