यस्तो छ कालीबहादुर खामको अपराध शृंखला
सत्ता र शक्ति सधैं दाहिना बनाएर जोगिंदै आएका माओवादीका पूर्व कमान्डर कालीबहादुर खाम फरार रहेको १५ वर्षपछि दोस्रो पटक पक्राउ परेका छन्।
काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपश्चात् २०६४ वैशाखमा हत्या भएको थियो। यही घटनामा खोजी सूचीमा रहेका खामलाई बौद्ध प्रहरीले २०६५ सालमै चाबहिलबाट पक्राउ गरेको थियो। स्वचालित हतियार एसएमजी सहित पक्राउ परे पनि त्यसको ‘रेकर्ड’ कतै राखिएको थिएन।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार खाम पक्राउ पर्ने बित्तिकै प्रधानमन्त्री कार्यालयबाट छोड्न आदेश आएको थियो। त्यति खेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री थिए। “गाडीमा हतियार सहित फेला पारेका थियौं,” हाल सेवामै रहेकाले नाम खोल्न नमान्ने ती प्रहरी अधिकृत भन्छन्, “प्रधानमन्त्री कार्यालयबाट छोड्न भनियो। त्यति खेर उपत्यका प्रहरी प्रमुख भरत जीसी थिए। उहाँलाई सोधेर मिलिकमै छोडिदियौं।”
खाम विरुद्ध जिल्ला अदालत, काठमाडौंमा परेको हातहतियार खरखजाना कसूरमा २० हजार रुपैयाँ जरिवाना भएको र रामहरिलाई अपहरण गरेको भन्दै चलेको मुद्दामा भने सफाइ पाएको देखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले बताए। मनाङमा समेत हातहतियार खरखजाना अभियोगमा मुद्दा चलेको भेटिएको खत्रीले हिमालखबरलाई जानकारी दिए।
भर्खरै शान्ति प्रक्रियामा आएको माओवादी लडाकूको तेस्रो डिभिजनको सम्पर्क कार्यालय रामहरिको घरमा थियो। सम्पर्क कार्यालयबाट १७ लाख रुपैयाँ र पेस्तोल चोरिएको भन्दै रामहरिलाई माओवादीले अपहरण गरेको थियो।
उनलाई माओवादी लडाकूको तत्कालीन तेस्रो डिभिजन कमान्डर गोविन्दबहादुर बटाला सहितको टोलीले २०६५ वैशाख १५ गते मध्यराति १२ बजे ‘सानो काम छ भनी’ घरबाट लगेको रामहरिकी पत्नी रमिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। त्यसअघि श्रीमान् खोजी गरिपाऊँ भन्दै पनि प्रहरीमा निवेदन दिएकी थिइन्। बटालाले पनि डिभिजन हेडक्वार्टरले छानबिनको निर्देशन दिएपछि रामहरिलाई नियन्त्रणमा लिएको बताएका थिए।
अपहरण गरेको २९ दिनपछि रामहरिको शव चितवनको नारायणी नदी किनारामा भेटिएको थियो। दूध बेच्न जुगेडी बजार गइरहेकी भगवती सुवेदीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।
कोटेश्वरबाट रामहरिलाई माओवादी लडाकू शिविर राखिएको चितवनस्थित शक्तिखोरमा लगिएको अनुसन्धानबाट खुलेको थियो। खाम त्यही शिविरका कमान्डर थिए। बटालाले खामकै निर्देशनमा रामहरिलाई शक्तिखोर पुर्याएको बताएका थिए।
चोरीको बात कबोल गर्न शिविरमा रामहरिलाई यातना दिइएको थियो। त्यही क्रममा २०६५ वैशाख २६ गते रामहरिको ज्यान गएको थियो। उपचारका क्रममा वैशाख २६ गते मृत्यु भएको व्यक्ति र लासको उमेर मिल्दोजुल्दो रहेको भरतपुर मेडिकल कलेज शिक्षण अस्पतालका डा. अमन अग्रवालले अनुसन्धानका क्रममा गरेको घटना विवरण कागजमा उल्लेख छ।
कुटपिट र यातनाबाट सिकिस्त रामहरिलाई वैशाख २५ गते भरतपुर अस्पताल पुर्याइएको थियो। टाउकामा लागेको गम्भीर चोट लागेका कारण उनको मृत्यु भएको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको शव परीक्षण प्रतिवेदनमा उल्लेख छ।
रामहरिको हत्या अभियोगमा प्रहरीले बटालालाई पक्राउ गरेको थियो। खाम, रघु भन्ने केशव अधिकारी, एटम भन्ने गंगाराम थापा र अर्जुन कार्की फरार थिए। अधिकारी र थापा दुवै पूर्व लडाकू हुन्। थापा खामका अंगरक्षक समेत थिए।
बटालालाई चितवन जिल्ला अदालतले २०६८ जेठमा दोषी ठहर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो भने फरार सबैको मुद्दा मुल्तबीमा राखेको थियो। हिरासत र पुर्पक्षका लागि थुनामा बस्दा नै यो कैद अवधि भुक्तान भइसकेकाले बटाला थप जेलमा बस्नु परेन।
यद्यपि उनले सफाइ पाउन सर्वोच्च अदालतसम्मै पुनरावेदन गरे। तत्कालीन पुनरावेदन अदालत, हेटौंडाले जिल्लाकै फैसला सदर गरे पनि सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासले २०७६ फागुनमा सफाइ दिएको थियो। सर्वोच्चको फैसला पुनरावलोकनको अनुमति भएर अहिले विचाराधीन छ।
कार्की भने पछि अदालतमा उपस्थित भएका थिए। अदालतले २०६८ मंसीरमा दोषी ठहर गर्दै २० हजार रुपैयाँ जरिवाना तिर्ने फैसला गरेको थियो। कार्की लडाकू शिविरका चालक हुन्। केसी र मोक्तानको इजलासले नै कार्कीको फैसला भने जिल्ला र उच्चकै सदर गरेको थियो।
खाम पक्राउ परेसँगै मुल्तबीमा राखिएको मुद्दा न्यायिक प्रक्रियामा जानेछ। उनलाई काठमाडौं प्रहरीले जिल्ला अदालत, चितवनमा बुझाउने जनाएको छ।
युद्धकालमा आँटिला लडाकूका रूपमा चिनिने खाम शान्ति प्रक्रियामा आएपछि भने एकपछि अर्को आपराधिक क्रियाकलापमा जोडिएर विवादित बनेका थिए। २०६७ असारमा काठमाडौंको गोंगबुस्थित खामको डेरामा छापा मार्दा प्रहरीले विभिन्न हतियारका गोली, जिल्ला वन कार्यालयको छाप र अधिकृतहरूको दस्तखत फेला पारेको थियो। खामको डेरामा छापा मार्दा माधवकुमार नेपाल प्रधानमन्त्री थिए।
हत्या गरिएका रामहरि नेपालकै निर्वाचन क्षेत्रका बासिन्दा हुन्। प्रधानमन्त्री बन्नासाथै पीडित परिवारको घरमै पुगेर नेपालले खामलाई पक्राउ गर्ने आश्वासन दिएका थिए। त्यसपछि प्रहरी सक्रिय भएको थियो।
खाम २०६७ सालमै एक चिनियाँ व्यापारीलाई लूटपाट गरेको घटनामा समेत मुछिएका थिए। चिनियाँ जडीबुटी व्यापारी मा मायर लीले खाम विरुद्ध जाहेरी नै दिएका थिए। खामको समूहले यार्सागुम्बा बिक्री गर्न बोलाएर २१ लाख २० हजार रुपैयाँ लुटेको चिनियाँ व्यापारीको जोहेरीमा उल्लेख थियो। मित्रनगरस्थित मोरङ नवमित्र गेस्ट हाउसको कोठा नम्बर ३०१ मा बोलाएर लीको रकम लुटिएको प्रहरी अनुसन्धानमा पनि देखिएको थियो।
यी त अभिलेखमा राखिएका घटना हुन्। यस बाहेक पनि उनी रक्तचन्दन, सुन, गिटी-बालुवा तस्करीमा पनि संलग्न रहेको आरोप लाग्ने गरेको छ। २०६७ सालमा डोल्पा लगायतका जिल्लामा लुटिएका यार्सागुम्बामा पनि खाम समूहकै संलग्नता रहेको बताइन्छ। खामले प्रहरीसँग प्रारम्भिक सोधपुछमा आफू यार्सागुम्बा लूटपाटमा सामेल भएको पनि स्विकारेको एसएसपी खत्री बताउँछन्। तर कुन कुन घटनामा उनको संलग्नता थियो भन्ने खुलिसकेको छैन। पूर्वी रुकुमको हुकामका बासिन्दा खाम द्वन्द्वको शुरूआती चरणदेखि नै माओवादीमा संलग्न भएका हुन्।
शिविरमा राखिएका लडाकूलाई एक वर्षसम्म सरकारले दिने भनेको रासनभत्ता नदिएपछि तत्कालीन डिभिजन कमान्डर खामले तस्करी नियन्त्रणको खाका बनाएर विभिन्न सामान नियन्त्रणमा लिने गरेको थियो। अग्रभागमा त्यति वेलाको योङ कम्युनिस्ट लिग (वाईसीएल)ले साथ दिएको थियो।
शक्तिखोरमा तस्करी नियन्त्रणका नाममा लडाकूका कमान्डर नै अवैध कार्यमा लागेको भन्दै माओवादीको बालाजु पाँचौं विस्तारित बैठकमा दीपक चलाउने सहितका केही नेताले आक्रोश पोखेका थिए। तस्करी नियन्त्रणको आवरणमा खाम अवैध गतिविधितिर लागेको पाइएको प्रहरी अधिकृतहरू पनि बताउँछन्।
हत्या जस्तो संगीन कसूरमा मुछिएर फरार अभियुक्तमा दरिएपछि खामको राजनीतिक यात्रामा गतिरोध आयो। तर सार्वजनिक कार्यक्रममा देखिंदा पनि उनी कहिल्यै पक्राउ परेनन्। २०६५ सालमा तत्कालीन रक्षामन्त्री रामबहादुर थापासँगै चितवनमा एउटा सार्वजनिक कार्यक्रममा खाम देखिएपछि सरकारको आलोचना भएको थियो।
त्यसपछि उनी सार्वजनिक कार्यक्रममा नेताहरूसँग नारिन छोडेका थिए। “तर चाहेको वेला भेटघाट हुन रोकिएको थिएन,” एक प्रहरी अधिकृत भन्छन्।
२०६८ सालमा त सशस्त्र प्रहरीले खामको सुरक्षाका लागि तीन जना अंगरक्षक नै दिएको थियो। त्यति वेला बाबुराम भट्टराई प्रधानमन्त्री र विजयकुमार गच्छदार गृहमन्त्री थिए। “प्रहरीको सूचीमा खाम हत्या घटनाको योजनाकारका रूपमा फरार अभियुक्त हुन्,” प्रहरी मुख्यालयका एक उच्च अधिकृत भन्छन्, “तर जहिल्यै राज्यले नै संरक्षण दिएर राखिरह्यो।”
एमाले र माओवादी मिलेर बनेको नेकपा कालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुसमा खामलाई बालुवाटारमा बोलाएर भेटेका थिए। नेकपाको आन्तरिक विवाद बढिरहेका वेला पूर्व लडाकूलाई आफ्नो पक्षमा पार्न ओलीले प्रहरीको फरार सूचीमा रहेका खामलाई बालुवाटारमा निम्तो दिएका थिए।
यस पटक भने काठमाडौं प्रहरीले माथिल्लो निकायलाई थाहै नदिई खामलाई पक्राउ गरेको स्रोतको भनाइ छ।