कात्तिक-पुसको आर्थिक वृद्धिदर ४ प्रतिशत
गत वर्षको तुलनामा यस वर्षको पहिलो ६ महीनामा अर्थतन्त्रमा सुधार देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको दोस्रो त्रैमास (कात्तिक-पुस)मा अर्थतन्त्र चार प्रतिशतले बढेको अनुमान गरेको छ। गत वर्ष यही अवधिमा अर्थतन्त्र ०.८ प्रतिशतले संकुचित भएको थियो।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्ष आर्थिक क्रियाकलाप बढेको छ। व्यवसायीले भने अर्थतन्त्र मन्दीमा गएको बताउँदै आएका छन्।
यस वर्षको पहिलो त्रैमास (साउन-असोज)मा पनि अर्थतन्त्रमा सामान्य विस्तार देखिएको थियो। यस आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको थियो। गत वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.४ प्रतिशत थियो।
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक क्रियाकलापको तथ्यांक, उत्पादन, लगानी, उपभोग र बचत केलाउने अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तमा आधारित रहेर कुल गार्हस्थ्य उत्पादनको तथ्यांक सार्वजनिक गर्दै आएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गर्ने तथ्यांकलाई नै देशको अर्थतन्त्रको आधिकारिक तथ्यांक मानिन्छ।
तथ्यांक कार्यालयका अनुसार यस वर्ष खानी र खनिजको क्षेत्र, विद्युत्, यातायात, होटल व्यवसाय, वित्त र बीमा क्षेत्र, प्रशासन र सहयोगी क्षेत्र आदिमा उल्लेख्य सुधार देखिएको छ। गत वर्षको दोस्रो त्रैमासका तुलनामा यस वर्षको दोस्रो त्रैमासमा खानी र खनिज ९.४ प्रतिशतले बढेको छ। त्यस्तै, विद्युत् १७.१ प्रतिशत, यातायात र भण्डार १४.३ प्रतिशत तथा होटल-रेस्टुरा २९.३ प्रतिशतले बढेको छ।
यद्यपि दोस्रो त्रैमासमा उत्पादन क्षेत्रमा भने ०.४ प्रतिशत कमी आएको देखाएको छ। बजारमा निर्माण सामग्री सहितका वस्तुको माग घटेका कारण उत्पादन क्षेत्र घटेको हो।
तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा अर्थतन्त्र ०.८ प्रतिशतले संकुचित भएको थियो। त्यसयता अर्थतन्त्रको वृद्धिदर मध्यम गतिमा छ। २०७९/८० को तेस्रो र चौथो त्रैमासमा अर्थतन्त्र क्रमशः २.४ र ४.३ प्रतिशतले बढेको थियो। यस आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र ३.२ प्रतिशतले बढेको थियो। सामान्यतया अर्थतन्त्र लगातार दुई त्रैमास संकुचित भएमा आर्थिक मन्दी भएको मान्ने अभ्यास छ।
तथ्यांक कार्यालयले मौसमी प्रभाव समावेश गरिएको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक पनि प्रकाशित गर्छ। अर्थतन्त्रमा मौसम अनुसार उत्पादन र कारोबार फरक फरक पर्ने भएकाले त्यसलाई समेत मापन गरिन्छ। उदाहरणका लागि प्रमुख कृषि बाली धान आर्थिक वर्षको दोस्रो त्रैमासमा फल्छ। यसलाई चार वटै त्रैमासमा समायोजन गर्दा आँकडाले अर्कै स्थिति देखाउँछ।
यस अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन-कात्तिक)को तुलनामा दोस्रो त्रैमास (कात्तिक-पुस)मा अर्थतन्त्र झिनो दरमा मात्रै बढेको छ। यस आर्थिक वर्षको पहिलो त्रैमासमा मौसमी प्रभाव समायोजित आर्थिक वृद्धि १.१ प्रतिशतले संकुचित भएको थियो। तर दोस्रो त्रैमासमा अघिल्लाको तुलनामा अर्थतन्त्र ०.७ प्रतिशतले बढेको छ।