गुजरातमा नेपालको लगातार दोस्रो जित
भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डशिप कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।
मंगलबार भएको खेलमा नेपालले बरोडाको टोलीलाई २७ रनले पराजित गरेको हो। नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा बरोडाले १२९ रन मात्रै बनाउन सक्यो।
बरोडाका लागि भानु पनियाले ३८, बाबा खानले २७, विष्णु सोलंकीले २५ र अमित पासीले १४ रन बनाए। त्यस्तै, नेपालका लागि करण केसीले तीन, सोमपाल कामीले दुई, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले ४०, सन्दीप जोराले २९, अनिल साहले २५ र रोहित पौडेलले १८ रन बनाए।
त्यस्तै, बरोडाका लागि बाबा खानले दुई र मोहित मोंगियाले एक विकेट लिए।
त्रिकोणात्मक शृंखला अन्तर्गत चैत १८ मा भएको पहिलो खेलमा नेपालले गुजरातलाई पराजित गरेको थियो।