हङकङमा नयाँ पुस्ताका नेपाली : नयाँ काममा फड्को मार्दै, सफलता चुम्दै
हङकङमा रहेका नेपाली युवाले अग्रजले गर्दै आएको पेशाभन्दा पर नयाँ क्षेत्र र काममा हात हाल्दै सफलता चुमिरहेका छन्।
कोभिड-१९ को विश्वव्यापी महामारीले आर्थिक क्षेत्रलाई गलाइरहेको थियो। व्यापार-व्यवसाय धर्मराइरहेका थिए। हङकङका रेस्टुरेन्ट र बारहरू एकपछि अर्को गरी डुब्दै थिए। सरकारी तथ्यांक अनुसार सन् २०२० मा हङकङभरि एक हजार रेस्टुरेन्ट र बारका सटर बन्द भए। २०२२ सम्मै यो अवस्था रह्यो।
त्यस अवधिमा जेनतेन टिक्ने बारमध्ये कोए बार पनि एक थियो। यस बारका सञ्चालकमध्येका एक हुन्, पोखराका २९ वर्षीय अजित गुरुङ। उनी बारका अपरेशन डाइरेक्टर छन्।
सन् २०१७ मा खोलिएको कोए बार तीन वर्षमै कोभिड महाव्याधिको आपत् निम्तिँदा पनि सुस्ताएन। बरु नाफा नसोची ग्राहकलाई सहज र पारिवारिक वातावरण दिंदै जुटिरह्यो। अजित लगायत समूहको अथक प्रयासकै परिणाम यो बार एशियाका उत्कृष्ट ५० बारमध्ये नम्बर एकमा पर्न सफल भयो, त्यो पनि २०२१, २२ र २३ गरी लगातार तीन पटक।
अजितका बुबा हङकङमै निर्माण क्षेत्रमा काम गर्छन्। तर उनले त्यो बाटो पछ्याएनन्। हङकङमा पढेर बारमा काम गर्न थाले। त्यसमा खारिंदै गएपछि कर्मचारीमै सीमित भइराख्न उनको मन मानेन। १२ वर्षको अनुभवको बलमा उनले हङकङको व्यस्त र महँगो बजार सेन्ट्रलमा ‘द सेभरी प्रोजेक्ट बार’ खोले।
“राम्ररी चलेका बारहरू कोभिडका कारण धमाधम बन्द भइरहेका कारण नयाँ खोल्ने कि के गर्ने भन्नेमा दुविधा थियो,” अजित सम्झन्छन्, “मेरो मनमस्तिष्कमा बार बिजनेश मात्र भएकाले डटिरहें। त्यही मिहिनेतको परिणाम हो, सेभरी प्रोजेक्ट।”
नयाँ पुस्ताका नेपालीको मिहिनेतको यो परिणामलाई हङकङको प्रतिष्ठित अंग्रेजी दैनिक साउथ चाइना मर्निङ पोस्टले फिचरिङ गरिसकेको छ। त्यस्तै, प्रेस्टिज म्यागजिनले पनि अजित र ‘सेभरी प्रोजेक्ट’ माथि लामो फिचर लेखेको छ।
रोजगारीका लागि हङकङ आएका नेपालीहरू विशेषतः निर्माण, सुरक्षा, होटल र सरसफाइ क्षेत्रमा जाने गरेका छन्। पछिल्लो पुस्ताले भने नयाँपन खोज्न थालेको छ। यीमध्ये केहीले आफूले रोजेको पेशामा प्रगति गरेका छन्।
हङकङमै जन्मेका या सानैमा यहाँ आएर बढेपढेकाहरूको यो पुस्तामा आफ्ना अग्रजले अपनाएको पेशामा खासै आकर्षण छैन। यिनैमध्येकी एक हुन्, २३ वर्षीया सुम्निमा कन्दङवा। उनी साउथ चाइना मर्निङ पोस्ट दैनिकमा कार्यरत छिन्। १०० वर्षभन्दा लामो इतिहास बोकेको यो पत्रिका दक्षिणपूर्वी एशियाकै प्रतिष्ठित अंग्रेजी दैनिक हो। हङकङमै जन्मिएकी सुम्निमा बाप्टिस्ट युनिभर्सिटीबाट पत्रकारितामा स्नातक गरेर २०२२ मा तीन महीने इन्टर्नशिपका लागि पोस्टमा छानिएकी थिइन्। उनी एडिटोरियल स्टाफका रूपमा स्थायी भएको डेढ वर्ष भइसकेको छ।
पत्रकारितामै स्नातकोत्तर गर्ने योजनामा रहेकी सुम्निमाका अनुसार साउथ चाइना मर्निङ पोस्टमा थप दुई नेपाली कार्यरत छन्– एक सफ्टवेयर इन्जिनीयर र अर्का भिडिओ एडिटर।
हङकङको प्रमुख पत्रिकाको न्यूजरूमबाट नेपाली समुदायलाई हेर्दा स्थानीय समुदाय जस्तै चलायमान देख्छिन् उनी। “हङकङको राजनीतिक वातावरण जे-जस्तो भए पनि यहाँका नेपालीको चासो मूलतः आर्थिक-सांस्कृतिक क्षेत्रमा छ, जसमा उनीहरू स्थानीय समुदाय जस्तै चलायमान देखिन्छन्,” उनी भन्छिन्।
तेह्रथुमबाट हङकङ आएका सुम्निमाका बाबुआमाले शुरूका केही वर्ष निर्माण र सरसफाइ क्षेत्रमा काम गरे। त्यसपछि रेमिटेन्स कम्पनी खोलेका उनीहरूले अहिले नेपालीहरूको अधिक बसोबास रहेको जोर्डनमा ‘द नेस्ट बार एन्ड रेस्टुरेन्ट’ चलाएका छन्।
सन् १८४१ देखि १९९७ सम्म बेलायतको अधीनमा रहेको हङकङमा सबैभन्दा पहिला बेलायती सेनामा कार्यरत गोर्खाका रूपमा नेपालीहरूको प्रवेश भएको थियो। १९९७ मा हङकङ चीनलाई सुम्पनुपर्ने भएपछि बेलायतले १९८३ पछाडि यहाँ जन्मिएका गोर्खाका सन्तानले स्थायी बसोबास गर्न पाउने प्रावधान ल्यायो। १९९४ मा नियम लागू भएपछि नेपालीहरूको हङकङ प्रवेश बाक्लिएको थियो। त्यसअघि नेपालबाट गोर्खा सैनिक, केही घरेलु कामदार र व्यापारीहरू मात्र हङकङ आउने-जाने गरेका थिए।
हङकङ संसारकै ठूला वित्तीय केन्द्रमध्येको एक हो। मुख्य भूमि चीनको प्रवेशद्वारका रूपमा हङकङलाई लिइन्छ। लामो समय बेलायती व्यवस्थापनमा रहेको हङकङमा विश्वका ठूल्ठूला कम्पनीहरूको कार्यालय छ। अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूका विशाल भवन र त्यहाँका स्मार्ट कर्मचारीहरू देख्दै हुर्किएकी स्वेना ढकालले त्यही प्रभावका कारण फाइनान्स पढ्ने निर्णय गरिन्। त्यस क्रममा उनले हङकङको सिटी युनिभर्सिटीबाट ग्लोबल फाइनान्समा स्नातक र सिंगापुरको न्याशनल युनिभर्सिटीबाट स्नातकोत्तर गरिन्। नेपालको साविकको लक्ष्मी ब्यांक र शाङहाईको चुङ आन इनस्योरेन्स कम्पनीमा इन्टर्नशिप गरेकी उनी अहिले फिनिक्स हङकङ लिमिटेडमा प्राइभेट इक्युटी फन्ड डाइरेक्टर छिन्। फिनिक्सको कोरिया, जापान र सिंगापुरमा शाखा छन्।
स्वेनाका बुबा सिभिल इन्जिनीयर हुन्। हङकङमा बुबाको आफ्नै निर्माण कम्पनी भए पनि उनी त्यता लागिनन्। “मेरो रुचि फरक भएकाले बुबाले खडा गरेको व्यवसायमा सामेल भइनँ, अर्कै वित्तीय संसारमा गएँ,” २६ वर्षीया स्वेना भन्छिन्।
बुटवलबाट हङकङ आएका ३१ वर्षीय निर्मल अर्याल शेयर बजारको उतारचढावमा आँखा लगाइरहेका हुन्छन्। १८ वर्षको हुँदादेखि शेयर बजारमा लगानी गर्न थालेका उनको ‘चेन भेली’ कम्पनी पनि छ। नौ जना युवा साझेदार रहेको कम्पनीले शेयर, क्रिप्टोकरेन्सी र फोरेक्समा लगानी गर्नेबारे तालीम दिन्छ।
बचत हुनेहरूले हङकङमा शेयर बजारबाट राम्रो फाइदा लिने निर्मल बताउँछन्। “यहाँको आर्थिक माहोल र वित्तीय कानून बुझेर शेयर मार्केट लगायतमा लगानी गरे मनग्य आम्दानी हुन्छ,” उनी भन्छन्।
निर्मल अहिले हङकङमा लगानीका नयाँ क्षेत्रबारे खास गरेर नेपालीहरूलाई बुझाउने काम गरिरहेका छन्। उनको उठान भने सडकबाटै भएको हो। शुरूमा उनले हङकङको व्यस्त बजार सेन्ट्रल र वान्चाईका गल्ली गल्लीमा नेपाली, पाकिस्तानी र भारतीयका पसल पसलमा विभिन्न खाद्यान्न र पानीदेखि मदिरासम्म आपूर्ति गरे। “सेन्ट्रलमा राति पार्टी हुँदा सूटबूटमा जान्थें, अनि बिहान लजाउँदै त्यहींका पसल पसलमा सामान पुर्याउँथें,” उनी भन्छन्।
हङकङको नेपाली समाज शेयर बजारबारे अनभिज्ञ रहेको निर्मलको अनुभव छ। यसमा बिस्तारै परिवर्तन हुने उनको अपेक्षा छ। यस क्षेत्रमा उनले पाएको सबभन्दा ठूलो सन्तुष्टि चाहिं सेफको काम गर्ने ५४ वर्षीय बुबा र भान्सामा काम गर्ने ४८ वर्षीया आमालाई वेलैमा रिटायर्ड गराएर नेपाल पठाउनु हो। “उहाँहरू काम गर्न सक्ने उमेरमै नेपाल फर्कन चाहनुहुन्थ्यो,” उनी गर्वका साथ भन्छन्, “मैले पसल पसलमा सामान पुर्याएर बचत गरेको रकम शेयर बजारमा लगाउने आँट गरेकै कारण त्यो सम्भव भयो।”
हङकङका नेपालीहरूका लागि ‘थ्री डी’ (डेन्जर, डर्टी र डिफिकल्ट) भन्ने शब्द नयाँ होइन। धेरैजसो काम जोखिमपूर्ण, गाह्रो र फोहोर पनि हुने भएकाले कुनै पनि वेला बिरामी पर्न सकिन्छ। त्यसैकारण बीमा गर्नुपर्छ भनेर सुझाइरहेका हुन्छन्, ताप्लेजुङका ३१ वर्षीय दिवस लिम्बू।
उनका बुबा र दाजुहरू सुरक्षा गार्ड छन्। सन् २०१५ मा हङकङ आएका उनी भने हङकङ ओपन युनिभर्सिटीबाट एमबीए गरेर मेनु लाइफ इन्सुरेन्समा सिनियर युनिट म्यानेजर बने। चार वर्षअघि उनी सहित दुई जना मात्र नेपाली रहेको यस कम्पनीमा अहिले ४० जना जति नेपाली एजेन्ट छन्।
नेपालीले काम परिवर्तन गरिरहने भएकाले उनीहरूको सञ्चय कोष विभिन्न कम्पनीमा जम्मा भएको हुन्छ। त्यस्तो रकम एकै ठाउँमा राख्न सघाउनु र बीमाको महत्त्वबारे बुझाउनु दिवसको युनिटको काम हो। उनका मुख्य ग्राहक नेपाली, भारतीय र पाकिस्तानी हुन्।
दिवसका अनुसा, अग्रजहरूले इमानदार भएर श्रम गरेकै कारण हङकङमा नेपालीको छवि राम्रो बनेको छ। अबको पुस्ताले यो छवि कायम राख्दै नेपालीहरूले श्रम मात्र नभई सीप पनि बेच्न सक्छन् भनेर देखाउन सक्नुपर्ने उनी बताउँछन्।
हङकङमा अहिले शिक्षण र नर्सिङ क्षेत्रमा पनि नेपालीको सक्रियता बढेको छ। हङकङमा १९ हजार नेपाली रहेको हङकङ सरकारको आँकडा छ। नेपाली संघसंस्था र नेपाली महावाणिज्यदूतावासमा कागजात मिलाउन आउने सेवाग्राही हेर्दा ३० हजार हाराहारी नेपाली रहेको अनुमान गर्न सकिन्छ।