बाघलाई प्रदर्शनमा राखिएकोमा विरोध (तस्वीरहरू)
बाघलाई सार्वजनिक प्रदर्शनका लागि राखिएको विषयलाई लिएर नागरिक अगुवाहरूले विरोध प्रदर्शन गरेका छन्।
पशु अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था तथा नागरिक समाजका अगुवाले मंगलबार विश्व वन्यजन्तु कोष नेपालको कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले वन्यजन्तुमाथि भइरहेका सबै किसिमका क्रूरता अन्त्य गर्न माग गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएका दुई वटा बाघलाई भरतपुरमा खोरमा राखेर प्रदर्शनमा राखिएको छ। भरतपुर भ्रमण वर्षका अवसरमा निकुञ्जले बाघको अवलोकन गर्न सकिने व्यवस्था गरेको हो।
त्यस्तै, पर्सा राष्ट्रिय निकुञ्जमा खोरमा राखिएका तीन वटा बाघ मरेका छन्। यी सबै घटनालाई उद्धृत गर्दै नागरिक अगुवा तथा पशु अधिकारकर्मीले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले वन्यजन्तुको उचित व्यवस्थापन गर्न माग गरेका छन्।