सुदूरपश्चिमका मुख्यमन्त्रीले चैत २२ मा विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ मा विश्वासको मत लिने भएका छन्।
मंगलबार मुख्यमन्त्री शाहले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्। उनले दर्ता गराएको प्रस्तावमा चैत २२ गते विश्वासको मत लिने व्यवस्था गराइदिन अनुरोध गरिएको प्रदेश सभासचिव देवबहादुर बोगटीले जानकारी दिए।
नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री शाहले गत फागुन २२ मा माओवादीका मन्त्रीलाई बर्खास्त गरेका थिए। त्यसपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसैका आधारमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।
सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ सांसद छन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।
सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सरकारमा सहभागी छ। सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा नाउपाभित्र पनि विवाद छ। नाउपासँगै राप्रपा र स्वतन्त्र सांसदको समर्थन पाउने मुख्यमन्त्रीको विश्वास छ।
विपक्षमा रहेका नेकपा (माओवादी केन्द्र)का सभामुख सहित ११, नेकपा (एमाले)का १० र नेकपा (एकीकृत समाजवादी)का चार सांसद छन्।