मिथ्या सूचनाबाट कसरी जोगिने?
मिसइन्फर्मेशन (गलत सूचना) र डिसइन्फर्मेशन (भ्रामक सूचना) जस्ता सूचना प्रणालीका विकृतिलाई चिर्न तथ्य जाँच, शोध अध्ययन तथा सूचना र सञ्चार साक्षरता आवश्यक छ।
के झूटो र के साँचो भन्ने कुरा छुट्याउन अब पहिला जस्तो सरल रहेन। डीप फेकको जमानामा असत्यलाई पनि सत्यको मुखौटा लगाइदिन सकिने भैसकेपछि आफ्नै आँखाले देखेको र कानले सुनेको कुरालाई पनि पत्याउन नमिल्दो रहेछ।
गत चैत पहिलो साता भरतपुरका मेडिकल व्यवसायी विमल लामिछानेले गरेको यो ट्वीटले अहिले सामाजिक सञ्जालमा सूचना र सामग्रीको अत्यधिक उपलब्धताले उपभोक्तामा पारेको अन्योल र अनिश्चय झल्काउँछ। हुन पनि, अहिले जति सूचना र सामग्रीको उत्पादन र वितरण यति सहज र व्यापक कहिल्यै भएको थिएन। सही-गलत छुट्याउन हामीलाई यतिविघ्न हम्मे पनि कहिल्यै परेको थिएन।
केही वर्षयता ‘डीप फेक’ भनिने श्रव्यदृश्य सामग्री र एक वर्षयता आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरी बनाइने सामग्री (फोटो, भिडिओ र पाठ)का कारण लामिछानेले भने जस्तै यो आमसमस्या बनेको छ। नक्कली फोटो, भिडिओ र अडियोको मिश्रण गरी एआई र ‘डीप लर्निङ’ प्रविधिबाट बनाइने श्रव्यदृश्य सामग्रीलाई डीप फेक भनिन्छ।
सही र मिथ्या सूचनाबीच फरक छुट्याउन नसक्दा हामी अन्योलग्रस्त मात्र हुँदैनौं, कुनै विषय वा व्यक्तिप्रतिको विश्वास र हामीले चाल्ने कदमलाई समेत त्यसले असर गर्छ।
एआईकै कारण खासगरी भारत र अमेरिका लगायत देशमा सन् २०२४ मा हुन गइरहेको आमनिर्वाचनको परिणाम प्रभावित हुन सक्ने आकलन गरिएको छ। यसका पूर्व संकेतहरू पनि देखिन थालेका छन्। जस्तो- दुई महीनाअघि भारतको तमिलनाडु राज्यका दिवंगत नेता एम करुणानिधिले अर्का राजनीतिकर्मी टी आर बलुलाई उनको आत्मकथा विमोचन कार्यक्रममा बधाई दिएको डीप फेक भिडिओ देखाइएको थियो। अल जजिराका अनुसार एक भारतीय कम्पनीले बनाएको उक्त भिडिओसँगै आसन्न चुनावमा यसको प्रयोगलाई लिएर कानूनी र नैतिक प्रश्न उठेका छन्। ओपन एआईको च्याट जीपीटी, गूगलको जेमिनाइ र मिडजर्नी जस्ता एआई प्रविधि उन्नत हुँदै जाँदा यसको प्रयोग गरी मतदातालाई प्रभावित पार्ने अभियान हुन सक्ने चिन्ता गरिंदै छ।
नेपालमै पनि गत साल मंसीरको आमनिर्वाचनमा मतदाता प्रभावित पार्न केही प्रयास भएका थिए। मौन अवधिमा केही मुख्य अनलाइनमा छापिएका समाचारको ‘स्क्रीनशट’ भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाइयो। ती ‘समाचार’ मा गठबन्धनका उम्मेदवारलाई भोट नहाल्न नेपाली कांग्रेसले सर्कुलर जारी गरेको गलत विवरण थिए।
कतिसम्म भने, भारतको तथ्य जाँचकी संस्था विश्वास न्यूजले समेत नेपालको चुनावबारे तथ्य जाँच भनेर भ्रम फैलाएको थियो। यस्तै, तनहुँमा भएको उपनिर्वाचनमा समेत मिथ्या सूचना फैलाइएको थियो।
यी घटनाक्रमलाई आधार मान्दा आगामी वैशाख १५ गते बझाङ र इलाममा हुन गइरहेको उपनिर्वाचनमा समेत मिथ्या सूचनाको प्रभाव पर्ने सम्भावना छ।
कसरी फैलिन्छ मिथ्या सूचना?
के सामाजिक सञ्जालका कारण मात्र मिथ्या सूचना फैलिएको हो त? सूचना प्रणालीमा देखा परेको यो विकृति लक्षण मात्र हो कि रोग नै हो? सामाजिक सञ्जालले मानिसमा रहेको विश्वास, बुझाइ र भ्रमलाई मलजल पो गरेको हो कि? गलत र भ्रामक सूचनाले मानिसको आनीबानी र विश्वासलाई नै प्रभावित पार्छ वा यो समाजमा विद्यमान समस्याहरू जस्तै सीमान्तीकरण, पृथकीकरण, लोकरिझ्याइँवाद, नारीद्वेष आदि प्रकट हुने माध्यम मात्र हो? यी प्रश्नहरूको जवाफ प्रस्ट छैन। यस विषयमा प्राज्ञ र शोधकर्ताहरू नै विभाजित छन्।
नेचर पत्रिकामा हालै प्रकाशित एक लेख अनुसार परिस्थिति बमोजिम मिथ्या सूचना लक्षण वा कारक दुवै हुन सक्छ। कुनै व्यक्तिले उपभोग गर्ने सूचनामा मिथ्या सूचनाको अंश थोरै हुने उक्त लेखमा उल्लेख छ। कहिलेकाहीं लक्षण र कारकबीच अन्तरसम्बन्ध हुने जनाउँदै लेखमा भनिएको छ, ‘जस्तै राजनीतिक ध्रुवीकरण वा संस्थाहरूप्रतिको अविश्वासले मिथ्या सूचना फैलाउन मद्दत गर्न सक्छ।’
उक्त लेखका शोधकर्ताहरूले मिथ्या सूचनाको प्रकार, गहिराइ र परिणामका आधारमा समाधानका उपायहरू खोजिनुपर्ने सुझाएका छन्। खासगरी मिसइन्फर्मेशन (गलत सूचना) भन्दा डिसइन्फर्मेशन (भ्रामक सूचना)ले हानि गर्ने भएकाले यी दुईबीचको भिन्नता छुट्याउनुपर्ने उनीहरूको राय छ।
डिसइन्फर्मेशनभित्र पनि व्यंग्य वा प्यारोडी, भ्रामक सामग्री, गलत सन्दर्भ जोडेर वा तोडमोड गरेर तयार पारिएको सामग्री, धोखा दिने र फर्जी सामग्री आदि पर्दछन्।
यता, मिसइन्फर्मेशन अध्येताहरूबीच नै यस समस्याको व्यापकता र समाधानका उपायबारे फरक दृष्टिकोण पाइन्छ। सेज जर्नलमा एक वर्षअघि प्रकाशित लेख अनुसार मिसइन्फर्मेशनकै बारेमा धेरै भ्रम छ।तथ्यांक संकलनका लागि सामाजिक सञ्जाल सजिलो हुने भएकाले शोधकर्ताहरू त्यसमा भर पर्दा सामाजिक सञ्जालमा गलत र भ्रामक सूचना फैलिएको विवरण बढी आएको उक्त लेखमा जनाइएको छ। डिजिटल मिडियाको उदयसँगै ‘टेक्नोप्यानिक’ अर्थात् प्रविधिको सन्त्रास फैलिएको उनीहरूको विश्लेषण छ।
खासगरी, मूलधारका सञ्चारमाध्यमले फैलाउने मिसइन्फर्मेशनबारे पर्याप्त अध्ययन नभएको उनीहरूले बताएका छन्। मानिसहरू सूचनाका लागि मात्र नभई साथीभाइसँग जोडिन, किनमेल गर्न, काम गर्न र मनोरञ्जनका लागि पनि सामाजिक सञ्जालको प्रयोग गर्ने भएकाले मिसइन्फर्मेशनको व्यापकता र प्रभावबारे भ्रम रहेको ती शोधकर्ताहरूको निष्कर्ष छ।
त्यसो त मनोवैज्ञानिकहरू मान्छेले आफ्नो भोगाइ र अध्ययनबाट बनाएको अवधारणाका कारण पनि के विश्वास गर्ने, के नगर्ने भन्ने तय हुने बताउँछन्। एउटै कुरा पटक पटक दोहोर्यायो भने त्यो सही लाग्न थाल्ने मानवीय प्रवृत्ति पनि यसका लागि जिम्मेवार भएको मनोवैज्ञानिकहरूको ठहर छ।
अझ षड्यन्त्र सिद्धान्तमा विश्वास गर्नेहरूले सत्यको सानो त्यान्द्रो समातेर भ्रम फैलाइरहेका हुन्छन्। षड्यन्त्र सिद्धान्तले उत्तर फेला नपरेका कतिपय विषयमा सजिलो व्याख्या गर्ने भएकाले मानिसहरू त्यसलाई पत्याउँछन्।
फुलप्रूफ पुस्तकका लेखक तथा क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक स्यान्डर भ्यान डर लिन्डेनले गलत समाचार शीर्षक पटक पटक दोहोरिएमा त्यो सही लाग्नुको कारण ‘इल्युजरी ट्रूथ इफेक्ट’ भएको बताएका छन्। लिन्डेनका अनुसार एउटै कुरा पटक पटक दोहोर्याइएमा मानिसको दिमागले त्यसैलाई सत्य ठान्छ।
त्यसैगरी, गलत वा भ्रामक सामग्री साधारण भाषामा प्रस्तुत गरिने तर वास्तविकता जटिल हुने भएकाले पनि मिसइन्फर्मेशन फैलिएको उनले बताएका छन्।
सञ्चार साक्षरता अपरिहार्य
सूचना प्रणालीमा देखा परेको यो विकृति कसरी रोक्न सकिन्छ त? सन् २०१७ मा अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताले इतिहासविद् र तथ्य जाँचकीबीच स्रोतको मूल्यांकन सम्बन्धी अध्ययन गरेका थिए। अध्ययनका क्रममा एउटा वेबसाइटको मूल्यांकन गर्न लगाउँदा तथ्य जाँचकीले तुरुन्तै इन्टरनेट ब्राउजर खोली त्यसबारे अन्यत्र प्रकाशित सामग्री अध्ययन गर्न थालेका थिए। तथ्य जाँचकीले अपनाएको ‘ल्याटरल रीडिङ’ विधि (उपलब्ध सामग्रीबारे त्यसभन्दा बाहिर गई गरिने खोजी) प्रभावकारी भएको फेला परेको थियो।
तर इतिहासविद्हरूले चाहिं ‘भर्टिकल रीडिङ’ अर्थात् त्यही वेबसाइटकै मात्र अध्ययन गरेकाले व्यावसायिक तवरले बनाइएका त्यस्ता वेबसाइटबाट सजिलै झुक्किन सक्ने अध्ययनको निचोड थियो।
गलत र भ्रामक सूचनालाई चिर्न तथ्य जाँच र माथि उल्लेख गरिए जस्ता शोध अध्ययन त जरुरी छ नै, सूचना र सञ्चार साक्षरता पनि उत्तिकै जरूरी छ। समाचार कुन हो? विज्ञापन के हो? समाचार कसरी संकलन र उत्पादन गरिन्छ? विश्वसनीय सूचनाका आधार के हुन्? भन्ने सूचनाका सबै उपभोक्तालाई थाहा हुनुपर्दछ।
त्यसमाथि अहिलेको डिजिटल युगमा यो सीप बाल्यकालदेखि नै अपरिहार्य भइसकेको छ। हाम्रा विद्यालयका पाठ्यक्रममा सूचना र सञ्चार साक्षरता समावेश गर्न ढिला भइसकेको छ।
पत्रकारहरूले पनि आफ्नो पेशाको रहस्योद्घाटन गर्न जरूरी भइसकेको छ। पत्रकारले कसरी सूचना संकलन गर्छन् भन्ने पाठक, स्रोता र दर्शकलाई बुझाउनु आवश्यक छ। आखिर सही सूचना सार्वजनिक हितकै लागि त संकलन र उत्पादन गरिन्छ।
यसका अलावा पत्रकारले प्रमाण र तथ्यमा आधारित ज्ञानको उत्पादन र वितरणमा जोड दिनुका साथै त्यसको आधारशीला बनाउनु जरूरी छ।
(अधिकारी तथ्य जाँच गर्ने संस्था नेपाल चेकका सम्पादक हुन्। अप्रिल २ तारिखमा अन्तर्राष्ट्रिय तथ्य जाँच दिवस मनाइन्छ।)
यो पनि पढ्नुहोस् :