चुरेमा जलवायु संकटसँग जुध्न पारिवारिक खेती
जलवायु परिवर्तनले निम्त्याएको संकटसँग जुध्न चुरे क्षेत्रका बासिन्दा पारिवारिक खेती गरिरहेका छन्।
गाउँका युवासँगै दार्चुलाका सुरेन्द्र धामी मलेशिया हुइँकिए। परिवारको जीवनस्तर उकास्न राम्रो आम्दानी गर्ने आश थियो। तर सोचे जस्तो भएन। “थोरै कमाइ र काम गर्न पनि गाह्रो भयो,” ३६ वर्षीय सुरेन्द्र भन्छन्, “केही महीनामै नेपाल फर्किएँ।”
विदेशबाट घर त फर्किए तर दार्चुलामा के गर्नु? खेतीपातीबाट न पर्याप्त आम्दानी हुन्थ्यो न त उत्पादनले बजार पाउँथ्यो। परिवार पाल्न गाह्रो हुँदै गएपछि उनले गाउँ छोडे।
हिमाली क्षेत्रबाट तराई झरेका उनी हेर्दैफिर्दै कैलालीको चुरे क्षेत्र पुगे। दार्चुला लाग्ने बाटोमै पर्ने चुरे गाउँपालिकाको घरखेडा गाउँमा भयो, बसाइँ। घरखेडा बसाइँ सरेको सात वर्षमा उनले परिवारसँगै खेती गरे, तरकारी फलाए र सुन्तलाको बोट रोपे। “पोहोर साल ५० क्विन्टल सुन्तला बेचें। परार साल १०० क्विन्टल सुन्तला बेचेको थिएँ,” उनी सुनाउँछन्।
कैलालीको सिरानमा रहेको निगाले क्षेत्रको सुन्तला सुदूरपश्चिममै चर्चित छ। केही वर्षयता सुन्तलाको उत्पादन कम हुँदै गएको उनी बताउँछन्। फलेका सुन्तलामा कीराको संक्रमण, सानैमा सुन्तलाको बोट मर्न थालेपछि सुरेन्द्रसँगै निगालेवासी चिन्तित छन्।
सुन्तलाको बोटमा मात्र निर्भर नभई सुरेन्द्र र उनकी पत्नी भाका धामी तरकारीखेती पनि गरिरहेका थिए। अहिले योे परिवार कृषिमा निर्भर छ। ३० वर्षीया भाका भन्छिन्, “खेतीपातीले गुजारा चलेको छ, दार्चुलाभन्दा त सजिलो छ।”
घरखेडाकै ३७ वर्षीया कृष्णादेवी कँडेल र उनका पति ४९ वर्षीय देवेन्द्र कँडेलको पनि दैनिकी खेतबारीमै बित्छ। पाँच सन्तान सहित परिवार सुन्तलाखेतीबाटै धानिएको छ। यस वर्ष उनको परिवारले १० क्विन्टल सुन्तला बिक्री गरेको छ। बर्सेनि सुन्तला उत्पादन घट्दै गएको देवेन्द्र सुनाउँछन्।
सानो बोट मर्ने, एकातिरबाट पहेंलो हुँदै जाने गरेको छ। गाउँमा सिंचाइको अभाव, वैशाख-जेठमा पानी नपर्ने समस्याले सुन्तला सुक्दै गएको उनको भनाइ छ।
यस गाउँमा अन्यत्रबाट बसाइँ आएका परिवार छन्। दार्चुला, बैतडी लगायत पहाडी जिल्लाबाट कृषि गर्न नै घरखेडा पुग्ने धेरै छन्। तर पछिल्लो समय उनीहरू एउटा खेती कम हुँदै गएपछि अर्को खेतीतिर लाग्दै आएका छन्। पहिला सुन्तला फलाउने किसान बिस्तारै तरकारीतिर सरेका छन्।
पवित्रा सापकोटाले व्यावसायिक खेती गर्ने सोचेकी थिइन्। तर पानीको अभाव र सुन्तलामा रोग लाग्न थालेपछि तरकारीखेतीमा लागेको बताउँछिन्। “सुन्तलासँगै तरकारीखेती गरिरहेका छौं,” सापकोटा भन्छिन्, “खेतीपातीबाटै ६ जनाको परिवार धानिएको छ।”
उनले घरछेउमै टनेल बनाएकी छन्। त्यसमा गोलभेंडा फल्दै छ। “छोराले लगाएको गोलभेंडा पनि फल्न थालिसक्यो,” उनी भन्छिन्। गाउँछेउकै बाटोमा बिक्री गरेर पैसा पनि आएको उनी सुनाउँछिन्।
किन यस्तो भयो त? चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी जलवायु संकटको प्रत्यक्ष प्रभाव चुरे क्षेत्रमा देखिएको बताउँछन्। “सुन्तलाखेतीमा देखिंदै आएको नयाँ नयाँ किसिमको रोग जलवायु संकटको प्रत्यक्ष उदाहरण हो,” बोगटी भन्छन्।
जलवायु संकटले सबैतिर जनजीवन प्रभावित भइरहेको छ। अझ चुरे क्षेत्रमा बढी नै छ। जलवायु संकटसँग जुध्न पारिवारिक खेतीमा जोड दिइएको अध्यक्ष बोगटी उनी सुनाउँछन्। “चुरेबाट बसाइँ सरेर जानेभन्दा बसाइँ सरेर आउनेहरू धेरै छन्,” उनी भन्छन्, “बसाइँ सरेर आउनेहरू व्यावसायिकभन्दा पनि घरपरिवारकै सहकार्यमा पारिवारिक खेतीपाती गरिरहेका छन्।”
के हो पारिवारिक खेती?
जलवायु संकटसँग नेपाल पनि जुधिरहेको छ। हिमशृंखलाको सौन्दर्य प्राकृतिक र आर्थिक हिसाबले वरदान सावित भए पनि यससँगै निम्तिने जलवायु संकटका प्रभावको अभिशाप पनि नेपालले भोगिरहेको छ। जलवायु संकटले निम्त्याउने प्रमुख प्रभाव खाद्य संकट हो। खाद्य तथा पोषणको सुरक्षा, वातावरण सुरक्षा, भोकमरी र गरीबी कम गर्ने लगायतको उद्देश्यले अन्तर्राष्ट्रिय जगत्मा पारिवारिक खेतीको अवधारणा ल्याइएको छ।
परिवारका सदस्य संलग्न भएर गरिने खेतीपाती नै पारिवारिक खेती हो। जबकि परापूर्वकालदेखि नै नेपालको कृषि प्रणाली पारिवारिक खेतीका रूपमा गरिंदै आएको छ।
केही दशकयता गाउँबाट शहर पस्ने तथा विदेशिनेको संख्या बढेको छ। शहर पस्ने तथा विदेशिने गरेका कारण नै नेपालको कृषि प्रणालीमा प्रत्यक्ष असर परेको विज्ञहरू बताउँछन्। कुनै समय ८० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर रहने गरेको थियो भने अहिले ६२ प्रतिशतमा झरेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.६ प्रतिशत रहने अनुमान गरेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकमा दैनिक तीन हजार युवा वैदेशिक रोजगारका लागि बाहिरिने गरेका छन्। जसले गर्दा नेपालको पारिवारिक खेतीपातिमा असर परेको छ।
पारिवारिक खेतीको दशक
संयुक्त राष्ट्रसंघले सन् २०१४ लाई अन्तर्राष्ट्रिय पारिवारिक खेतीको वर्ष घोषणा गरेको थियो। विशेषत: खाद्य सुरक्षा, भोकमरी र गरीबीलाई कम गर्न, पोषणको सुरक्षा, जीविकोपार्जनमा सुधार ल्याउन, जैविक स्रोतको व्यवस्थापन गर्न, वातावरण सुरक्षा र दिगो विकासका लागि पारिवारिक खेतीको महत्त्व बुझाउन पारिवारिक खेतीको वर्ष घोषणा गरिएको थियो। राष्ट्रसंघको सदस्य राष्ट्रका हिसाबले नेपालले पनि पारिवारिक खेती वर्षलाई स्वागत गरेको थियो।
विशेषगरी व्यावसायिक उद्योगका रूपमा गरिने खेतीले वातावरण, खाद्य सुरक्षामा नकारात्मक असर गरेको विज्ञहरूको बुझाइ छ। सोही अनुसार विश्वभर नै पारिवारिक खेतीको पक्षमा बहस र अभियान चलेको १० वर्ष पुग्न लागेको छ। पारिवारिक खेतीबारे प्रोत्साहन र सचेतना जगाउन अन्तर्राष्ट्रिय रूपमा सन् २०१९ देखि २०२८ लाई राष्ट्रसंघले पारिवारिक खेतीको दशक घोषणा गरेको छ। जसलाई पछ्याउँदै पारिवारिक खेतीलाई प्रोत्साहन गर्न र जलवायु संकटको प्रभाव कम गर्न नेपालले पनि २०७० सालदेखि विविध कार्यक्रम गरिरहेको छ।
अन्तर्राष्ट्रिय रूपमा पारिवारिक खेतीलाई अवलम्बन गर्न विशेषत: सात मुख्य खम्बा तय गरिएका छन्। जसमा पारिवारिक कृषि प्रणाली साथै परम्परागत खेतीको सुरक्षाका लागि प्रभावकारी नीति ल्याउन जोड दिइएको छ। त्यस्तै, युवाको संलग्नता बढाउने, ग्रामीण महिला किसानको नेतृत्वदायी भूमिका सुनिश्चित गर्ने, किसानको आर्थिक स्थितिमा सुधार, समावेशी, दिगो कृषिको प्रवर्द्धन गर्ने तय गरिएको छ।
यससँगै जलवायु परिवर्तनका चुनौती सामना गर्न केन्द्रित, पारिवारिक खेतीपातीको विविधीकरणमा जोड दिने गरिएको छ। तर अहिले नेपालमा पारिवारिक खेती कम हुँदै गएको कृषिविद्हरू बताउँछन्। युवा पलायन हुँदा पहाडी क्षेत्रमा खेतबारी बाँझिंदै गएका छन्।
चुरेमा जलवायु संकट
चुरे क्षेत्र हिमालय पर्वत शृंखलाको सबैभन्दा कान्छो, कमलो र कमजोर पर्वतीय शृंखला रहेको क्षेत्र हो। नेपालको करीब १२.७८ प्रतिशत भूभाग चुरे पर्वत शृंखलाले ओगटेको छ। जसमा पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुरसम्म ३७ वटा जिल्ला पर्छन्।
चुरे क्षेत्रको संरक्षण तथा विकासका लागि नेपाल सरकारले २०७१ सालमा राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको गठन गरेको थियो। चुरे क्षेत्र जलाधारको भण्डार र जैविक विविधताको केन्द्र मानिन्छ। यससँगै चुरे क्षेत्रको भूबनोट, माटोको प्रकृति, जैविक विविधतामा ह्रास र छोटो समयमा हुने सघन वर्षका कारण संवेदनशील पनि छ।
तराई क्षेत्रका लागि भूमिगत जलभण्डारको काम गर्ने हुनाले चुरेको भूमि खेतीपातीका लागि महत्त्वपूर्ण छ। तर खुकुलो पत्रे चट्टान भएका कारण चुरे क्षेत्र प्राकृतिक रूपमा अति संवेदनशील क्षेत्र रहेको राष्ट्रपति चुरे-तराई संरक्षण विकास समिति सदस्य डा. सुस्मिता ढकाल बताउँछिन्। “चुरे पहाड तथा भावर क्षेत्रमा जलाधारको अवस्था क्षयीकरण हुँदै जानु तथा जलवायु संकटले सुक्खापन ल्याउँदै जाँदा जमीनको उत्पादकत्वमा ह्रास आउन थालेकोे छ,” डा. ढकाल भन्छिन्।
जलवायु संकटले वर्षा याममा अधिक वर्षा हुने, वर्षात्को समयमा पनि एकनास नहुने गरेकाले माटो, जलाधारको क्षयीकरण भइरहेकोे उनी बताउँछिन्। त्यस्तै, बर्सेनि सुक्खापन बढिरहेको र चुरे क्षेत्रमा गरिने खेतीपातीमा आवश्यकताभन्दा बढी मलखाद, विषादीको प्रयोग हुँदा जमीनको उत्पादकत्वमा ह्रास आइरहेको उनको भनाइ छ।
जलवायु संकटको प्रभावसँगै प्राकृतिक स्रोतको अत्यधिक दोहन, वनविनाश, जनसंख्याको चाप, अवैज्ञानिक खेतीपाती, वनविनाशले पनि चुरे क्षेत्रमा नकारात्मक असर परिरहेको छ।
विकल्प पारिवारिक खेती
जलवायु संकट र मानवीय कारणले उत्पादनमा आइरहेको ह्रास कम गर्न पारिवारिक खेती उपयुक्त हुने कृषिविद् बताउँछन्। यसले एकातिर आर्थिक रूपमा सबल बनाउन सहयोग गर्ने र अर्कातिर जलवायु संकटबाट जोगाउने उनीहरूको तर्क छ। यसको उदाहरण कैलालीकै चुरे गाउँपालिकास्थित लिसबेलीमा भइरहेको तरकारीखेती हो। लिसबेलीको तरकारी अत्तरिया, धनगढ, महेन्द्रनगर लगायत बजारसम्म आइपुग्छ।
स्थानीय डम्मरी भट्ट तरकारीबाट आर्थिक उपार्जन भइरहेको बताउँछिन्। परिवारकै सदस्य मिलेर तरकारीखेती गर्छन्। खेतीपातीका लागि थप कामदार लगाउनु पर्दैन। जति गर्छन्, परिवारकै सदस्यले गर्छन्। परिवारलाई वर्षभरि खानपिन गर्न र सन्तानलाई स्कूल पढाउन खेतीपातिबाटै पुगेको डम्मरी सुनाउँछिन्।
उनका पति मदनराज भट्टले स्थानीय लिसबेली कृषक समूहको नेतृत्व गर्दै आएका छन्। गाउँकै किसान मिलेर बनेको समूहले हिउँदमा १८ क्विन्टल बन्दा र सात क्विन्टल गोलभेंडा बिक्री गरेको थियो। उत्पादन पनि राम्रो भइरहेको उनी बताउँछिन्।
यसको कारण हो, जैविक मल। चुरे क्षेत्रको माटोको क्षयीकरणलाई कम गर्न लिसबेलीका ३० परिवार रासायनिक मलको प्रयोग गर्दैनन्। उनीहरूले घरमा नै तयार पारिएको जैविक मलको प्रयोग गर्दै आएका छन्। जैविक मल बनाउन अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को ग्रेप परियोजनाले सिकाएको थियो। यो परियोजनाले पर्यावरणमैत्री जैविक मल बनाउन सुदूरपश्चिम र कर्णालीका कृषकलाई तालीम दिंदै आएको छ।
जसमा रासायनिक मल र विषादीको प्रयोगलाई निरुत्साहित गर्दै जैविक मलको प्रयोग गरेर रोग तथा कीरा नियन्त्रणका उपायहरू सिकाइएको छ। यसले खाद्य उत्पादनलाई सुरक्षित बनाउनका लागि जमीनको उत्पादकत्वलाई पनि ह्रास आउन दिंदैन। “जैविक मलको प्रयोगले उत्पादन बढेको छ, रोग लाग्ने समस्या कम भएको छ,” स्थानीय मन्जु जाग्रिती भन्छन्।
चार वर्षअघि उनी शिक्षक थिइन्। कोभिड-१९ महामारीका कारण उनले शिक्षकको जागीर गुमाउनुपर्यो। त्यसपछि खेतीपातीमा लागेको उनी सुनाउँछिन्। अहिले लिसबेलीमा रहेको शैलेश्वरी आमा समूहको अध्यक्ष समेत रहेकी मन्जु भन्छिन्, “कृषि गरेर परिवार पाल्न पुगेको छ।”
उनको परिवार मिलेर खेतीपाती गरिरहेको छ। उत्पादनलाई आफैं बजारसम्म लग्छन्। परिवारका सदस्य मिलेर सबै काम गरिरहेको उनी सुनाउँछिन्।
चुरेको जमीनमा कृषि राम्रो हुन्छ भनेरै धर्मसिंह मडै लिसबेली आएका थिए। अहिले परिवार नै खेतीपातीमा व्यस्त छन्। जलवायु संकटले असर पर्न थालेपछि जैविक मलमा जोड दिएको उनी सुनाउँछन्। “घरछेउमै टनेल खेती गरिरहेका छौं,” धर्म भन्छन्, “राम्रै आम्दानी भइरहेको छ। चार सन्तानको लेखाइपढाइ र घरपरिवार चलेको छ।”
दिगो कृषिविज्ञ विनायकराज भण्डारी परापूर्वकालदेखि नै नेपालमा पारिवारिक खेती प्रणालीको चलन रहेको उल्लेख गर्दै अहिले यसैको महत्त्व झनै बढेको बताउँछन्। विश्वमा कृषिले व्यावसायिक रूप लिएसँगै रासायनिक मल तथा विषादीको प्रयोग हुन थालेको भण्डारी सुनाउँछन्। व्यावसायिक रूपमा भइरहेको एकल खेती प्रणालीको विकासले संस्कृति र प्रकृतिमा असर परेको भनाइ छ।
एकल कृषि प्रणालीले दिगो कृषि, खाद्य सुरक्षा, वातावरण सुरक्षामा ध्यान नदिएको जनाउँदै यसलाई सन्तुलनमा ल्याउन पारिवारिक खेतीको आवश्यकता रहेको उनी बताउँछन्। विज्ञ भण्डारी भन्छन्, “जलवायु संकटसँग जुध्न, कृषि प्रणालीलाई सन्तुलित बनाउन पनि नेपालमा रहेको पारिवारिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ।”