बागमती सरकार विस्तार, एकीकृत समाजवादीकी आलेले लिइन् शपथ
नेकपा (एकीकृत समाजवादी)की सांसद रमा आले मगरले बागमती प्रदेश सरकारको विना विभागीय मन्त्रीको शपथ लिएकी छन्।
मगरलाई मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुुन्। बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिए लगत्तै मगरलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए।
आले एकीकृत समाजवादीका तर्फबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद हुन्। उनी २०७९ मंसीर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ बाट निर्वाचित भएकी हुन्। मन्त्री बन्ने पक्का भएपछि मात्रै आले बैठकमा सहभागी हुन काठमाडौंबाट हेटौंडा आएकी थिइन्।
११० सदस्यीय प्रदेश सभामा ५६ जनाले विश्वासको मत दिएपछि जम्कट्टेल नेतृत्वको सरकारले निरन्तरता पाएको छ।
बागमती प्रदेशका १२ वटा मन्त्रालयमध्ये माओवादी केन्द्रले मुख्यमन्त्री सहित आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय सम्हालिरहेको छ। ती मन्त्रालयमा क्रमशः गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मुक्तान मन्त्री छन्। मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय र स्वास्थ्य मन्त्रालय आफैंसँग रोखका छन्।
बागमतीमा एकीकृत समाजवादीबाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल र कृषि तथा पशुपन्छी विकासमन्त्री राजेन्द्रमान श्रेष्ठ छन्। एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया चैत १७ गते आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका छन्। चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री नियुक्त भएका थिए।