मुख्यमन्त्रीका लागि कर्णालीमा एमाले-माओवादीबीच फेरि किचलो
कर्णाली प्रदेशमा सरकारको नेतृत्वलाई लिएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच फेरि किचलो शुरू भएको छ।
मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेसँगै कर्णाली प्रदेशको राजनीतिले नयाँ तरंग लिने संकेत देखिएको छ। नेतृत्वका विषयमा विवाद बढ्ने देखिएपछि सत्ता गठबन्धनमा कर्णाली प्रदेशको भागबन्डा नटुंगिंदै शर्माले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री शर्माले चैत १८ मा प्रदेश सभा सचिवालयमा विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गराएका छन्। उनले चैत २० मा विश्वासको मत लिंदै छन्।
यद्यपि प्रदेश नेतृत्वका लागि एमाले र माओवादी दुवैको दाबी छ। जसका कारण कर्णालीका तीन मन्त्रालय एक महीनादेखि नेतृत्वविहीन छन्। यसबारे केन्द्रीय नेतृत्वमा प्रारम्भिक छलफल भए पनि निर्णायक सहमति जुट्न सकेको छैन। आधा आधा कार्यकालका लागि एमालेले नै पहिलो पटक आफूलाई मुख्यमन्त्री बनाएकाले त्यही आधारमा विश्वासको मत दिने शर्माको दाबी छ।
एमालेले पनि शुरूआती चरणबाटै प्रदेशको नेतृत्वको दाबी गर्दै आए पनि अहिलेसम्म पाएको छैन। मुख्यमन्त्री बन्ने आकांक्षाले प्रदेश सभाको सांसद रोजेका एमाले नेता यामलाल कँडेल यति वेला फेरि नेतृत्वको दौडमा छन्। पटक पटक नेतृत्वबाट धोका पाएका उनी यस पटक जसरी पनि मुख्यमन्त्री बन्ने योजनामा रहेको एमाले स्थानीय नेताहरू बताउँछन्।
यस्तो अवस्थामा एमाले सांसदहरू विश्वासको मत नदिने पक्षमा देखिएका छन्। यसअघि पनि गठबन्धनलाई नै असर पुग्ने गरी एमाले सांसदले कर्णालीमा विद्रोह गरेका थिए। एमालेले सरकारलाई विश्वासको मत नदिएमा शर्मा अल्पमतमा पर्नेछन्।
कांग्रेसले अहिलेसम्म समर्थन दिने वा नदिने भन्ने विषयमा कुनै प्रतिक्रिया जनाइसकेको छैन। गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र नेकपा (एकीकृत समाजवादी)का एक गरी २४ सांसद छन्। त्यस्तै, कांग्रेसका १५ सांसद छन्। विश्वासको मतका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ।
कर्णालीका नेताहरूकै दबाबमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति बनेको खबर आएको थियो। लुम्बिनीमा माओवादी र कर्णालीमा एमालेले नेतृत्व लिने सहमति भएको नेताहरूको भनाइ थियो। तर यो प्रदेशको राजनीतिमा प्रभावशाली मानिएका माओवादी उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीले नै सरकारको नेतृत्व लिनुपर्ने अडान राख्दै आएका छन्।
माओवादी नेता शर्माले अडान राखिरहेका वेला एमाले महासचिव शंकर पोखरेलले पनि कर्णालीका विषयमा सार्वजनिक कार्यक्रममा बोल्दै आएका छन्। कर्णालीको नेतृत्व एमालेले पाउनुपर्ने महासचिव पोखरेलको भनाइ छ। कर्णालीको बदलामा लुम्बिनीको नेतृत्व माओवादीलाई दिने गरी ‘कोर्स’ अघि बढिसकेको पोखरेलको संकेत छ।
जसले गर्दा ओली र दाहालबीच भएको भनिएको सहमति पनि कर्णालीमा कार्यान्वयनमा आउन सकेको छैन। शर्माको सक्रियताले कर्णालीमा एमाले नेताहरूबीच आशंका उत्पन्न भएको छ।
मुख्यमन्त्री शर्माले एमाले संसदीय दलका नेता कँडेलसँग छलफल पनि गरेका छन्। तर कुनै सहमति जुट्न सकेको छैन। विश्वासको मत लिने विषयमा कुनै सहमति नबनेको एमालेका प्रमुख सचेतक टेकराज पछाईं बताउँछन्। “मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनका लागि संसद्लाई जानकारी गराउनुभएको छ। एमालेले अहिलेसम्म विश्वासको मत दिने विषयमा कुनै धारणा बनाइसकेको छैन,” पछाईंले हिमालखबरसँग भने।
अहिलेसम्म केन्द्रबाट सहमतिका विषयमा आधिकारिक जानकारी नआएकाले विश्वासको मत दिन नसकिने एमाले नेताहरू बताउँछन्। उनीहरू सरकारको नेतृत्व पाउनुपर्ने अडानमा छन्। एमाले प्रमुख सचेतक पछाईं पनि विश्वासको मत दिनुअघि बसेर निर्णय गर्ने बताउँछन्। “पार्टी केन्द्रबाट कुनै आधिकारिक निर्णय आएको छैन,” उनी भन्छन्, “हाम्रो दलको बैठक बसेर के गर्ने भन्ने विषयमा छलफल हुन्छ।”
माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसी मुख्यमन्त्री शर्माले विश्वासको मत लिनु स्वाभाविक भएको बताउँछिन्। “नेतृत्व गरिरहेकाले निरन्तरता दिनुपर्छ, यो स्वाभाविक हुन्छ,” केसी भन्छन्, “केन्द्रीय गठबन्धन अनुरूप एमालेले शर्मालाई विश्वासको मत दिनुपर्छ।”