टरिगाउँ विमानस्थलमा किन हुँदैन नियमित उडान?
२०११ सालमै स्थापना भएको टरिगाउँ विमानस्थलमा अहिले नियमित उडान हुन नसक्दा यात्रुलाई भैरहवा र नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ।
लुम्बिनी प्रदेशमा एक अन्तर्राष्ट्रिय सहित चार विमानस्थल छन्- रुपन्देहीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बाँकेमा नेपालगन्ज (राँझा) विमानस्थल, गुल्मीमा रेसुंगा विमानस्थल र दाङमा टरिगाउँ विमानस्थल।
तर यी चारमध्ये गौतम बुद्ध, नेपालगन्ज र रेसुंगा विमानस्थलमा मात्र उडान नियमित छ। तुलसीपुर उपमहानगरपालिका-१२ स्थित टरिगाउँ विमानस्थलमा सातामा चार दिनको उडान तालिका भए पनि सामान्यतः एकदेखि तीन दिन मात्र उडान हुन्छ। कहिलेकाहीं त महीनादिनसम्म ठप्प हुने गरेको छ।
अहिले सातामा चार दिन आइतबार, सोमबार, मंगलबार र बिहीबार उडानको तालिका छ।
किन अनियमित छ उडान?
७५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग भएको टरिगाउँ विमानस्थलमा साना १९ सीटे विमान मात्रै अवतरण गर्न सक्छन्। यी विमानको सेवा पनि कहिले यात्रु अभाव त कहिले मौसमको कारण देखाएर अवरुद्ध हुँदै आएको तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमाल रिजाल बताउँछन्।
यसअघि विमानस्थलमा बाउजर (इन्धन भर्ने व्यवस्था)को अभाव देखाएर एअरलाइन्सहरूले उडान भर्न मानेका थिएनन्। अहिले भने टरिगाउँमा बाउजर पनि राखिसकिएको छ। तर यात्रुको अभाव छ भन्नु गलत प्रचार भएको रिजाल बताउँछन्। “टिकटका लागि मानिसहरूले मलाई रातदिन हैरान पार्दै आएका छन्,” उनी भन्छन्।
यस्तै, निजी विमान कम्पनीहरूले सिजनको समयमा हिमाली तथा पहाडी क्षेत्र रोज्ने हुँदा टरिगाउँमा उडान प्रभावित हुने गरेको रिजाल जनाउँछन्।
नेपाल एअरलाइन्स दाङका इन्चार्ज बलबहादुर सुनार पनि उडान अनियमित भएको स्विकार्छन्। “कहिले नेपाल एअरलाइन्सले सेवा दिन्छ भने कहिले सीता एअरले सेवा दिंदै आएको छ,” इन्चार्ज सुनार भन्छन्, “अहिले नेपाल एअरलाइन्सले सेवा दिंदै आएको छ। तर जहाज पुराना भएको कारण विमान सेवा अनियमित छ।”
विमानमा वेलावेला समस्या आइरहने हुँदा नयाँ विमान खरीद नगर्दासम्म नियमित उडान गर्न गाह्रो भएको उनी बताउँछन्।
टरिगाउँ विमानस्थलमा नियमित उडान हुन नसक्दा दाङका यात्रुहरूलाई काठमाडौं जान १२० किलोमिटर परको नेपालगन्ज र १६० किलोमिटर परको भैरहवा पुग्नुपर्ने बाध्यता छ। टरिगाउँमा उडान नियमित हुने हो भने सल्यान, प्यूठान र रोल्पाका नागरिकलाई समेत सहज हुने रिजाल बताउँछन्।
प्रदेशकै जेठो विमानस्थल
जानकारहरूका अनुसार टरिगाउँ विमानस्थल लुम्बिनी प्रदेशकै सबैभन्दा पुरानो हो। दाङको महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा ऐतिहासिक डा. सुदीप गौतमका अनुसार टरिगाउँ विमानस्थल २०११ सालमै स्थापना भएको थियो। दरबारसम्म पहुँच भएका झग्गुप्रसाद देवकोटा लगायतले पर्ती डाँडोलाई सम्याएर सेनाको एक टुकडी समेत ल्याई २०११ सालमा पहिलो पटक यहाँ विमान उतारेका थिए। त्यसपछि २०१६ कात्तिकमा गणेशमान श्रेष्ठ यातायातमन्त्री भएका वेला देवकोटाकै पैरवीमा विमानस्थल सञ्चालनमा आएको हो।
पोखरा विश्वविद्यालयका प्राध्यापक डा. गोविन्द लामिछाने पनि टरिगाउँ विमानस्थल २०११ सालमै स्थापना भएको र २०१६ बाट नियमित रूपमा सञ्चालनमा आएको बताउँछन्। उनी टरिगाउँ विमानस्थल लुम्बिनी प्रदेशकै सबैभन्दा पुरानो भएको पनि दाबी गर्छन्।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रिजालका अनुसार टरिगाउँमा २०१६ देखि २०४२ सालसम्म नियमित उडान भएको थियो। “जति वेला दाङदेखि काठमाडौं जाने सडक थिएन, त्यस वेलासम्म नियमित विमान सेवा थियो,” रिजाल भन्छन्, “२०४२ पछि दाङ-काठमाडौं रात्रि बस चल्न थालेपछि विमान सेवा बन्द भएको थियो।”
यसको १८ वर्षपछि २०६० सालबाट विमान सेवा पुनः शुरू भयो। रिजालका अनुसार तत्कालीन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार श्रेष्ठले त्यस वेलाका पर्यटनमन्त्री रविभक्त श्रेष्ठलाई भेटेर टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याउन माग गरेका थिए। यसपछि २०६६ सालसम्म टरिगाउँमा उडान नियमित भएको थियो। तर पुनः डेढ वर्ष कालोपत्रेका लागि विमानस्थल बन्द भयो।
२०७९ सालयता भने विमानस्थल सञ्चालनमै भए पनि तालिका अनुसार उडान हुन सकेको छैन।
स्तरोन्नतिका लागि साढे तीन अर्ब आवश्यक
प्रा. डा. लामिछाने आफ्नो अध्ययनमा टरिगाउँ विमानस्थल मौसमका हिसाबमा लुम्बिनी प्रदेशकै उत्कृष्ट भएको बताउँछन्। लामिछानेले नागरिक उड्डयन प्राधिकरण (क्यान)सँगको सहकार्यमा १५ दिन लगाएर ‘दाङको टरिगाउँ विमानस्थलको (१५०० मिटर) स्तरोन्नति’ अध्ययन गरेका थिए। उनले उक्त अध्ययन प्रतिवेदन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई बुझाएका हुन्।
अध्ययनमा टरिगाउँ विमानस्थल सानो भए पनि भैरहवा र नेपालगन्जको तुलनामा उत्कृष्ट स्थानमा रहेको तथा अन्यत्रभन्दा कम हुस्सु लाग्ने भएकाले मौसम लगायत पक्ष अनुकूल भएको लामिछानेको दाबी छ।
यस्तै, विमानस्थलको स्तरोन्नतिका लागि तीन अर्ब ४२ करोड २८ लाख ३५ हजार २३० रुपैयाँ आवश्यक पर्ने देखिएको पनि लामिछानेको अध्ययनमा उल्लेख छ। उनका अनुसार स्तरोन्नतिपछि टरिगाउँमा ७२ सीटे विमान समेत अवतरण गर्न सक्ने उनी जानकारी दिन्छन्। यसका लागि विमानस्थलसँग जग्गा समेत प्रशस्त रहेको उनको भनाइ छ। “त्यसका लागि करीब ३६० कट्ठा जग्गा आवश्यक देखिन्छ,” उनी भन्छन्, “मैले अध्ययन र अनुसन्धान गर्दा जग्गा पनि प्रशस्त मात्रामा देखें।”
प्रतिवेदन बुझ्दै मन्त्री तामाङले आफू विमानस्थल स्तरोन्नतिबारे सकारात्मक भए पनि मन्त्रालयको बजेटबाट मात्रै यो काम सम्भव नभएको बताएका थिए।