केजरीवाललाई थप दुई साता हिरासतमा राख्न अनुमति
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप दुई साता हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
मदिरा घोटाला प्रकरणमा पक्राउ परेका केजरीवाललाई १५ अप्रिल (वैशाख २) सम्म न्यायिक हिरासतमा पठाउने दिल्लीको राउज एभेन्यू कोर्टले निर्णय गरेको हो। चैत ८ मा वित्तीय अपराधको आरोप लगाउँदै प्रवर्तन निर्देशनालय (ईडी)ले उनलाई गिरफ्तार गरेको थियो।
न्यायालयले शुरूमा सात दिन हिरासतमा राख्ने अनुमति दिएको थियो। पछि उनको हिरासत अवधि चार दिनका लागि थपिएको थियो। पछिल्लो पटक थपिएको अवधि सोमबार सकिंदै थियो।
भारतीय सञ्चारमाध्यम बार एन्ड बेन्चका अनुसार ईडीका तर्फबाट बहस गरेका अधिवक्ता एसभी राजुले केजरीवालको व्यवहार ‘पूर्णत असहयोगी भएको र छानबिनलाई प्रभावित पार्ने प्रयास गरेको’ आरोप लगाएका थिए। पदमा रहेकै वेला पक्राउ पर्ने पहिलो भारतीय मुख्यमन्त्री हुन् केजरीवाल।
आमनिर्वाचनको मुखैमा भएको उनको गिरफ्तारीलाई विपक्षी दलहरूले भने सत्ताधारी भारतीय जनता पार्टी (भाजपा)द्वारा लोकतन्त्रमाथि गरिएको आक्रमण भनी टिप्पणी गरिरहेका छन्। गत चैत १८ मा विपक्षी गठबन्धन इन्डियाले उनको गिरफ्तारी विरुद्ध दिल्लीमा विरोध प्रदर्शन गरेको थियो।