कोभिडमा बन्द भएका नाका खोल्न चीन तयार छ : परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड-१९ को महामारीका वेला बन्द गरिएका उत्तरी सीमानाका खोल्न चीन तयार भएको बताएका छन्।
चीनको औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले नाका खोल्ने विषयमा छलफल भएको बताएका हुन्। “कोभिड महामारीका कारण बन्द भएका नेपाल-चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमानाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको छ,” श्रेष्ठले भने।
यसले चीनको सीमा नजिक बसोबास गर्ने नेपालीलाई दैनिक जीवनयापनमा सहज हुने उनको भनाइ थियो। यससँगै दुई देशको सम्बन्धका विविध विषयमा छलफल गर्न उच्चस्तरीय आयोग गठन गर्न पनि सकारात्मक छलफल भएको उनले बताए। श्रेष्ठले भने, “नेपाल-चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामबारे उच्च स्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्षबीच सकारात्मक छलफल भएको छ।”
चिनियाँ कम्युनिस्ट पार्टीका राजनीतिक ब्यूरोका केन्द्रीय कमिटी सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ चीन भ्रमणमा थिए। भ्रमणका अवसरमा श्रेष्ठले समकक्षी यीलाई यसै वर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएको बताए।
चीन भ्रमणले दुई देशको सम्बन्ध थप सुदृढ बनेको उनको भनाइ थियो। मन्त्री श्रेष्ठले भने, “नेपाल-चीनबीच भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन तथा विद्यमान संयन्त्रको नियमित बैठक बसी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएका छन्।
त्यस्तै, नेपालको काठमाडौं र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सीधा बस सेवा पुनःसञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएको, भैंसीको मासु, वनस्पतिजन्य औषधि उत्पादन, तरकारी तथा फलफूल लगायत नेपाली वस्तुको निर्यातमा सहजीकरण गर्न आफूले अनुरोध गर्दा चिनियाँ पक्षले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए।
भ्रमणका क्रममा काठमाडौं र पोखरा तथा चीनका विभिन्न शहरबीच थप हवाई उडान सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएको उनले जानकारी दिए। यसले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा चिनियाँ पर्यटक भित्र्याउन थप सहयोग पुग्ने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गरे।