महालेखा परीक्षकमा सिफारिश भएका राया विरुद्ध उजुरी आह्वान
महालेखा परीक्षकमा सिफारिश भएका तोयम राया विरुद्ध उजुरी आह्वान गरिएको छ।
महालेखा परीक्षकमा सिफारिश भएका रायाका विषयमा संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया अघि बढाएको हो। सुनुवाइ समितिको सोमबार बसेको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सूचना जारी गर्ने निर्णय गरेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए।
उजुरी दिने समय सकिएपछि रायाबारे सुनुवाइ हुनेछ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।
आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षकमा सिफारिश गर्ने निर्णय गरेको थियो। यससँगै संसदीय समितिले सुनुवाइ प्रक्रिया थालेको हो।