एकीकृत समाजवादीको शर्तले बागमतीका मुख्यमन्त्री अप्ठ्यारोमा
बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आज प्रदेश सभामा विश्वासको मत लिंदै छन् भने नेकपा (एकीकृत समाजवादी)को शर्तले अप्ठ्यारो पारेको छ।
प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई आज बागमती प्रदेश सभामा छलफल गराउने निर्णय सहित कार्यसूची तय गरेको थियो। प्रदेश सभाका सचिव कृष्णहरि खड्काका अनुसार मुख्यमन्त्री जम्कट्टेलले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ।
बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची छ। प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने र प्रस्तावमाथि विभिन्न दलका प्रदेश सभा सदस्यले धारणा राख्ने सचिव खड्काले बताए।
नेपाली कांग्रेसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्। तर एकीकृत समाजवादीले राखेको शर्तले मुख्यमन्त्री जम्कट्टेललाई अप्ठ्यारोमा पारेको छ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बनेको छ। अहिले माओवादीका जम्कट्टेल मुख्यमन्त्री छन् भने यसपछि एमालेबाट मुख्यमन्त्री बन्ने सहमति बनेको छ।
सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले पनि सरकारको नेतृत्व गर्न पाउनुपर्ने शर्त राखेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सर्वदलीय बैठकमा एउटा प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने अडान राखेका छन्।
त्यसलाई ध्यानमा राखेर एकीकृत समाजवादीले बागमतीमा विश्वासको मत दिनका लागि आफूले पनि सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिएको छ। यथास्थितिमा विश्वासको मत दिन नसकिने एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण खनाल बताउँछन्।
एकीकृत समाजवादीले मत नदिएमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत पाउन मुश्किल हुनेछ। ११० सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका सात सांसद छन्। विश्वासको मतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ।
अहिले एमालेका २७, माओवादीका २१ र हाम्रो नेपाली पार्टीका दुई सांसद विश्वासको मतको पक्षमा देखिएका छन्। विपक्षमा रहेका कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सांसद छन्। एकीकृत समाजवादी निर्णायक रहेको छ।
आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ। मुख्यमन्त्री जम्कट्टेल एकीकृत समाजवादीलाई मनाउने प्रयासमा छन्।