सल्लाघारीको घुम्तीबाट जीप खस्दा दुई जनाको मृत्यु, १० घाइते
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित सल्लाघारीको घुम्तीबाट जीप खस्दा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
अन्नपूर्ण गाउँपालिका-४, भदौरेस्थित सल्लाघारीमा आइतबार ग१ज ५५४७ नम्बरको यात्रुवाहक जीप दुर्घटना भएको हो। दुर्घटनामा पोखरा महानगरपालिका-२३ का ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले बताए।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइएको थियो। उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरूमध्ये पाँच जनाको मणिपाल र पाँच जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको जीप सल्लाघारीको घुम्तीबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनास्थलबाट घाइतेको उद्धार गरेको प्रहरी निरीक्षक रानाले बताए। घटनास्थल पोखराबाट २९ किमि टाढा पर्छ।