एनसेललाई एक्सिलेन्स अवार्ड
मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरेको भन्दै एनसेललाई दुई वटा अवार्ड प्रदान गरिएको छ।
एचआर मीट २०२४ मा एनसेलले ‘न्याशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ पाएको हो। स्वतन्त्र मानव संसाधन परामर्श कम्पनी ग्रोथ सेलर्स प्रालिले आयोजना गरेको एचआर मीट २०२४ को विशेष समारोहमा अवार्ड प्रदान गरिएको छ। यसअघि पनि एनसेलले न्याशनल एचआर एक्सिलेन्स अवार्ड २०२० पाएको थियो।
अवार्ड ग्रहण समारोहमा बाेल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यो उल्लेखनीय उपलब्धि भएको बताए। यसलाई एनसेलले आफ्नो श्रमशक्ति केन्द्रित भएर कार्य गरेको प्रमाणका रूपमा लिएको उनको भनाइ थियो।
प्रा.डा. विजय केसी, विना राणा र रीतु न्याछो सम्मिलित निर्णायक मण्डलले एनसेललाई ‘न्याशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ बाट सम्मान गर्ने निर्णय गरेको थियो। एचआर मीट २०२४ मा विभिन्न कम्पनीलाई पनि क्षेत्रगत उत्कृष्ट कार्यका लागि सम्मान गरिएको छ।