अनलाइन ठगीको आरोपमा तीन चिनियाँ नागरिक वीरगन्जबाट पक्राउ
अनलाइन मार्फत ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले तीन जना चिनियाँ नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीनको वुहान प्रान्तका ३३ वर्षीय लियु गुई काई, हुबेई बस्ने २६ वर्षीय वाङ बोहान र ३६ वर्षीय जियाङ जिओ छन्।
उनीहरूलाई अनलाइन मार्फत ठगी गरेको आरोपमा चैत १७ मा पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए। त्यस्तै, भिस्वाबाट पक्राउ परेका दुई जना चिनियाँ नागरिक र दुई जना नेपाली भाषा अनुवादक भने घटनामा संलग्न नदेखिएकाले छोडिएको ढुंगेलले जानकारी दिए।
अनलाइन लट्री, अनलाइन शपिङ जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशी नागरिकलाई ठगी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए। “साढे दुई तलाको घर भाडामा लिएर डेढ महीनादेखि ठगी गर्दै रहेछन्, विभिन्न विद्युतीय उपकरण सहित तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएका छौं,” उनले भने।
भाषा अनुवादक झिकाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध विद्युतीय कारोबार ऐन अर्न्तगत मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको ढुंगेलले बताए।
उनीहरूले सञ्चालन गरेको कार्यालयबाट कम्प्युटर सीपीयू १२० वटा, मनिटर ११८ वटा, पासपोर्ट तीन वटा, मोबाइल ३५ वटा, ल्यापटप चार वटा, भारतीय जियो सीमकार्ड १३ वटा, विभिन्न ब्यांंकका एटीएम कार्ड तीन वटा, बीआर ०१ सीएक्स ५७९२ नम्बरको गाडी, प्र.२-०३-०११ प १३६७ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।