‘मिडियामा देखिएको शिथिलता संकटको पूर्व संकेत मात्रै हो’
आमरूपमा हामीले भएका पाठक, श्रोता, दर्शक गुमाइरहेका छौं र नयाँलाई आकर्षित गर्न सकेका छैनौं। अहिले संकटको पूर्व संकेत मात्रै देखिएको हो जस्तो लाग्छ। रूपान्तरण हुन नसक्दा छापामा जस्तो संकट देखिएको छ, तिनै कारणले अनलाइन पोर्टलमा पनि त्यस्तै संकट देख्दै छु।
कोभिड-१९ महामारीको संकट थिग्रिए पनि महामारीले नेपाली मिडियामा सिर्जना गरेको महाव्याधि सकिएको छैन। आर्थिक शिथिलताका कारण मिडियाको अर्थतन्त्र खुम्चिंदा संकट गहिरिंदो छ। पत्रकार तथा लेखक सुधीर शर्मा यसलाई नेपाली मिडियाको संकटको पूर्व संकेत भन्छन्।
खोज पत्रकारिता केन्द्र (खोपके)ले धुलिखेलमा आयोजना गरेको सम्पादकहरूको भेलामा शर्माले आमपाठकको अपेक्षा र प्रविधिमा आएको परिवर्तनलाई आत्मसात् गर्न नसक्दा यस्तो संकट आएको बताए। दुईदिने भेलाको दोस्रो दिनको सत्रमा खोपकेका अध्यक्ष कुन्द दीक्षित र नरेश नेवारसँग पत्रकारिता र एआईको विषयमा विमर्श गरिएको थियो।
‘मिडिया र पत्रकारितामाथिका प्रश्न’ शीर्षकमा पत्रकार शर्मासँग खोपकेका सम्पादक किरण नेपालले गरेको संवाद:
नेपाली पत्रकारिताको दम कम भएको हो?
पत्रकारिताको जिम्मेवारी छोडेर बाहिर बस्दा समय पनि हुने भएकाले कतिपय कुरा अलि बढी वस्तुगत रूपमा देखिंदो रहेछ। २०४६ सालपछि साप्ताहिक पत्रिकाहरू मूलधारमा थिए। गोरखापत्र लगायत केही दैनिक थिए। त्यति वेलाका पाठकका मागलाई ती पत्रिकाले पूरा गर्न नसकिरहेका वेला कान्तिपुर लगायत दैनिकहरू आए। उनीहरूले आफूलाई मूलधारको पत्रिकाका रूपमा स्थापित गरे। पछि निजी रेडियो–टेलिभिजन र अनलाइन न्यूज पोर्टल आए। त्यो समय एक खालको संक्रमणबाट गुज्रिएको थियो।
नेपाली पत्रकारितामा अहिले फेरि ठूलो संक्रमण आएको छ। पाठकहरूको अपेक्षा र प्रविधिमा आधारभूत रूपमै परिवर्तन आएको छ। संक्रमणले गर्दा हाम्रो दम कम भएकै हो कि जस्तो लाग्छ। पहिला पाँच-सात वटा सञ्चारगृहले हामी मुख्य हौं है भन्ने दाबी गर्थे। तर अहिले ती विभिन्न टापुमा विभाजित भएका छन्, र सञ्चारमाध्यमको प्रभाव पनि त्यसरी नै छरिएको छ। त्यही भएर नै कहिले कसले, कहिले कसले ‘ब्रेक’ गरेको समाचारले अजेन्डा सेट गरेको हुन्छ। अजेन्डा सेट गर्ने हक पनि विगतमा मुख्य भनिने सञ्चारगृहबाट खोसिएछ जस्तो लाग्छ।
हामीले पत्रकार भनेर आफ्नो ढंगले काम गरिरहेका छौं। तर पत्रकार नभनी हामीले गरिरहेको भन्दा पनि बढी आकर्षक हिसाबले नयाँ प्रविधि मार्फत काम गरिरहेकाहरूले ठूलो जमातलाई आफूतिर तानिरहेका छन्। त्यसरी काम गर्नेहरू प्रायः २५-३० वर्षका छन्। हामीले मूलधार भनिरहेका सञ्चारमाध्यम अहिलेका नेता र कर्मचारीहरूले हेर्ने हुनाले नीतिगत तहमा एक खालको प्रभाव होला। तर आमरूपमा हामीले भएका पाठक, श्रोता, दर्शक गुमाइरहेका छौं र नयाँलाई आकर्षित गर्न सकेका छैनौं। अहिले संकटको पूर्व संकेत मात्रै देखिएको हो जस्तो लाग्छ। रूपान्तरण हुन नसक्दा छापामा जस्तो संकट देखिएको छ, तिनै कारणले अनलाइन पोर्टलमा पनि त्यस्तै संकट देख्दै छु।
यो संक्रमण मिडियाको हो कि पत्रकारिताको?
कारण फरक होलान्, तर संक्रमण मिडिया र पत्रकारिता दुवैको हो। सञ्चारगृहको संकटको कुरा सञ्चालकहरूले अझै राम्रोसँग भन्न सक्नुहोला र अवलोकनकर्ताका रूपमा हेर्दा त्यहाँ अर्थतन्त्र नै प्रमुख समस्या हो जस्तो लाग्छ। पहिलो, आर्थिक मन्दीको असर परेको देखिन्छ। तर भारतकै हेर्दा पत्रिकाहरू मोटोे नै निस्किरहेका छन्। विज्ञापन आइरहेको छ। त्यहाँ किताब पनि बिक्री भइरहेकै छ।
दोस्रो, विज्ञापनमा आएको ‘शिफ्ट’ ले पनि सञ्चारगृहलाई धक्का दिए जस्तो लाग्छ। तेस्रो, कतिपय संस्थाहरूमा अव्यवस्थापन पनि समस्या देखिएको छ। जस्तै- नाफा भएको वेला अरू सम्पत्ति किन्ने र संकटको वेला त्यसलाई प्रयोग नगर्ने। सामान्यीकरण गरेर सबैलाई भन्न खोजेको होइन। सञ्चारगृहपिच्छेका चुनौती र संकट फरक फरक होलान्। तर त्यसले पत्रकारिताप्रतिको प्रतिबद्धता अलि धर्मराएको हो कि भन्ने चाहिं देखाउँछ। यद्यपि यो सबैमा लागू हुँदैन।
जुन तहको बदलाव चाहिएको छ, त्यसका लागि सम्पादक वा समाचार कक्षले मात्रै चाहेर पनि हुँदैन। प्रकाशकको रुचि, सहमति र आर्थिक स्रोत नै अपरिहार्य हुन जान्छ। यो पाटोले पनि रूपान्तरणमा बाधा गरिरहेको जस्तो लाग्छ। माथि भने जस्तो पाठकको अपेक्षा र प्रविधिमा ठूलो परिवर्तन आएको छ। हामीले त्यसको भेउ पाइरहेका छैनौं जस्तो लाग्छ। दृष्टिकोण र काम गर्ने शैलीको हिसाबले बूढो हुन थाल्यौं कि!
अहिलेको संक्रमण पत्रकारितामा मात्रै छैन। राजनीतिमा पनि संक्रमण हुन थालेको देखिन्छ। समाजमा एकदमै ठूलो उथलपुथल आएको छ। पछिल्लो १५-२० वर्षको शहरीकरण, संयुक्त परिवार, गरीबी, बसाइँसराइ, डायस्पोरामा देखिएको परिवर्तन हेरे पुग्छ। त्यसको असर पत्रकारितामा पनि देखिएको हो। संक्षिप्तमा मैले यसलाई थ्री डी भन्ने गरेको छु– डेमोग्राफिक परिवर्तन, डिजिटल र डायस्पोरा। त्यसैको असर पत्रकारितामा देखिएको हो।
२०४६ सालको परिवर्तनपछि अर्थतन्त्र एकदमै विस्तार भयो। त्यसपछि माओवादी हिंसा शुरू भयो। द्वन्द्वकालमा सरकार र माओवादी पक्षबाट भएको अत्याचारलाई निर्धक्कसँग पत्रकारिताले बाहिर ल्यायो। त्यहीबीचमा शाही संहार भयो। २०६२/६३ को जनआन्दोलन हुँदै संविधान निर्माणको संक्रमण भोग्यौं। संविधान निर्माणका क्रममा चर्को जातीय, भाषिक, क्षेत्रीय कुरा हुँदा नेपाली पत्रकारिताले सन्तुलित ढंगले सार्वजनिक वृत्तमा स्थापित गर्न सकेको थियो। त्यत्रो काम गरेको नेपाली पत्रकारिता पछिल्लो पाँच-सात वर्षमा ओरालो लागेको देखिन्छ। यसमा अर्को खालको प्रविधि आयो भन्ने कि मिडिया सञ्चालकहरूले लगानी गरेनन् भनेर बस्ने हो कि? पत्रकारिताको पूँजी जोगाउन नसक्नुमा हामी नेतृत्वमा भएकाहरूले के चाहिं गर्न सकेनौं? गल्ती कहाँ गर्यौं?
एउटा आयामबाट मात्र हेरेर अहिलेको संकट बुझ्न सकिंदैन। हामी पनि दोषी पक्कै छौं। मैले अघि पनि भनें, पत्रकारितामा आवश्यक रूपान्तरणतिर हामी जान नसक्दा नयाँ पाठक, दर्शक, श्रोतालाई तान्न सकिरहेका छैनौं। त्यसको मतलब हामीमा समस्या केही त छ। तर त्यो समस्या बुझ्दाबुझ्दै पनि किन सम्बोधन गर्न सकिरहेका छैनौं भने त्यसका बहुकारण छन्। मानिसका अपेक्षा बढिरहेका छन्, प्रविधिमा ठूलो परिवर्तन आइरहेको छ।
त्यसमा पनि सबैभन्दा ठूलो पक्ष भनेको जनसांख्यिक परिवर्तन हो। नयाँ उमेरसमूहका पाठकलाई त हामीले समेट्नै सकेका छैनौं। उनीहरूले जे हेर्छन्, पढ्छन्, त्यसमा काम गर्ने अरू नै हुन थाले। हामीलाई भइरहेका पुराना पाठक जोगाउन नै धौधौ परिरहेको छ। उनीहरूका अपेक्षा अनुसार हामीले दिन सकेनौं वा हामीले दिइरहेको उनीहरूलाई पुगेन।
राजनीतिक रूपमा हेर्दा हाम्रो काम गराइमा एउटा त्रुटि देखियो। त्यो के भने, जसरी नेपालको राजनीतिक संक्रमण लम्बियो त्यति वेला समावेशी लगायत अजेन्डालाई लगभग सबैजसो सञ्चारमाध्यमले आफ्नो पनि अजेन्डा मानेर उभिए। अहिले पनि उभिरहेको देख्छु। जनआन्दोलनकै वेला मिडिया एउटा पक्षका रूपमा आयो। नेताहरूले गरेका गल्तीलाई छुट्टाछुट्टै रूपमा हामीले बाहिर त ल्यायौं, उनीहरूले बाटो बिराइरहेका कुरामा अलि धेरै आलोचक हुन सकेनौं कि!
अर्को कुरा, रूपान्तरण भइरहेका र नयाँ जन्मिरहेका पाठकमा राजनीतिक दलको अक्षमता र भ्रष्टाचारको मतियार मिडिया पनि हो भन्ने मिसमास खालको बुझाइ पनि भयो। हामीले जुन अजेन्डालाई समर्थन गरिरहेका थियौं त्यसमा सीमारेखा कोर्न सकेनौं कि! सिमाना नछुट्टिंदा लोकरिझ्याइँवादी राजनीति गर्नेहरूले अस्त्रका रूपमा प्रयोग गरेकै कुरालाई मलजल गर्यो।
लोकरिझ्याइँको राजनीति गर्नेहरू वा सामाजिक सञ्जालबाट कुनै समूहले मिडियालाई लगाइरहेको आरोपको जवाफ दिन कति जरूरी छ? गत वर्ष एउटा पार्टीका सभापतिले जुन हिसाबले मिडियामाथि आक्रमण गरे, त्यसको जवाफ दिनु आवश्यक थियो कि थिएन? र त्यो जवाफ मिडियाका लागि प्रत्युपादक भयो कि भएन?
‘बाह्र भाइ’ भनेर जसरी मिडियामाथि आक्रमण भयो, त्यो पूर्णतया गलत थियो। सम्पादकहरू एक ठाउँमा भेला भएर के गर्ने भन्ने निर्णय गर्छन् भन्ने कुरा त हावादारी हो। त्यसलाई एक हिसाबले जवाफ त दिनुपर्थ्यो होला। तर ती आरोप सही नभए पनि बहुसंख्यक मानिसले पत्याइदिए जस्तो भयो।
यस्तो किन भइरहेको छ भनेर चाहिं घोत्लिनैपर्ने विषय हो। हामीले हाम्रो धरातल किन गुमाइरहेका छौं? फेरि दोहोर्याएर भन्छु, हामीले अर्को माध्यमतिर आकर्षित भइरहेका पाठकलाई तान्न सकेका छैनौं। हामी आफू रूपान्तरित हुन सक्छौं वा सक्दैनौं भन्ने कुरामै हाम्रो विश्वसनीयता र आधिकारिकता निर्भर छ। जस्तो- पत्रिकाको वितरण घटिरहेको वेला सञ्चारगृहले डिजिटलमा आफूलाई लैजान सकेन।
अहिले हामी यस्तो पत्रकारिता गरिरहेका छौं, हामी आफैं त्यसको सन्दर्भ बिर्सन्छौं। एउटा समाचार पढ्यो भने त्यो कुन सन्दर्भको हो भन्ने कुरा नै बुझिंदैन। वा पत्रकार, नेता लगायत सानो जमातले मात्रै बुझ्छ। जसले आफूलाई पत्रकार दाबी नगरी काम गरिरहेका छन् उनीहरूतर्फ दर्शकको आकर्षण बढ्नुको एउटा कारण सन्दर्भ सहित आउनु पनि हो। यो कुरा छापा र टेलिभिजन मात्रै होइन, अनलाइन पोर्टलहरू पनि बुझ्न सकिरहेका छैनन्।