कर्णालीका मुख्यमन्त्रीले चैत २० मा विश्वासको मत लिने
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चैत २० मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव दर्ता गराएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ। प्रस्तावमा चैत २० गते मंगलबार विश्वासको मत लिने व्यवस्था गराउन आग्रह गरिएको छ।
गठबन्धन फेरिएपछि नेपाली कांग्रेसले माओवादीका मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
४० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ। अहिले गठबन्धनमा रहेका नेकपा (एमाले)का १३, नेकपा (माओवादी केन्द्र)का १० र नेकपा (एकीकृत समाजवादी)का एक सांसद छन्। विपक्षमा कांग्रेसका १४, राप्रपा र स्वतन्त्र एक-एक सांसद छन्।