इजरायल र हमासबीच युद्धविरामबारे वार्ता हुने
प्यालेस्टाइनको गाजामा नरसंहारकारी आक्रमण गरिरहेको इजरायल र प्यालेस्टिनी सशस्त्र विद्रोही समूह हमासबीच ६ महीनादेखि स्थगन रहेको युद्धविराम वार्ता इजिप्टको कायरोमा हुने भएको छ।
अरब न्यूजका अनुसार इजिप्टको एक टेलिभिजनले सुरक्षा स्रोतलाई उद्धृत गर्दै वार्ताको समाचार शनिबार सार्वजनिक गरेको थियो। त्यस्तै, रोयटर्सले पनि एक इजरायली अधिकृतले आज कायरोमा एक प्रतिनिधिमण्डल पठाउने जानकारी दिएको उल्लेख गरेको छ।
हमासका एक अधिकारीले भने कायरोका मध्यस्थकर्ता र इजरायलीहरूबीचको वार्ताको परिणाम पर्खिने जानकारी गराएको रोयटर्सले उल्लेख गरेको छ।
कतार र इजिप्टको मध्यस्थतामा यी दुई युद्धरत पक्षहरूबीच वार्ता प्रक्रियाले तीव्रता पाएको छ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरी बन्दी बनाएका १३० जनामध्ये ४० जना अहिले पनि बन्दी छन्। बन्दीहरूको रिहाइको शर्तमा इजरायलले ६ साताका लागि आक्रमण विराम गर्ने प्रस्तावमा छलफल भइरहेको छ।
हमास भने युद्धको अन्त्य र प्यालेस्टिनी भूमिबाट इजरायली सेनाको फिर्ता चाहन्छ। तर उक्त प्रस्ताव इजरायलले ठाडै अस्वीकार गरेको छ। इजरायलले हमासको प्रशासकीय र सैन्य क्षमता ध्वस्त गरेरै छोड्ने बताउँदै आएको छ।
हमासले यो आक्रमणको शुरूमा गाजाको उत्तरी भेगबाट दक्षिणतर्फ भागेका हजारौं प्यालेस्टिनीलाई पहिलेकै स्थानमा फर्किन दिनुपर्ने माग राखेको छ। इजरायलका एक अधिकारीले रोयटर्ससँग विस्थापितमध्ये ‘केही’ लाई फर्किन दिने सम्भावनाबारे छलफल गर्न तयार भएको बताएका छन्।
हमासको हमलापछि इजरायलले गरेको आक्रमणमा परी अहिलेसम्म ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ जसमध्ये अधिकांश बालबालिका र महिला छन्।