देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
सभापति देउवाले चैत २० गते दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा सबै पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ। उपनिर्वाचनका लागि उम्मेदवार चयन, संसद्मा जारी विरोध लगायत विषयमा छलफल हुने भएको छ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै आएको छ। सत्तारूढ दलहरूले भने संसदीय समिति आवश्यक नभएको जिकिर गर्दै आएका छन्।
त्यस्तै, इलाम २ र बझाङ १ ‘क’ मा हुने उपनिर्वाचनका लागि पनि कांग्रेसले उम्मेदवारको टुंगो लगाउन बाँकी नै छ। प्रदेश समितिले सम्भावित उम्मेदवारहरूको नाम सिफारिश गरिसकेको छ।