तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलियो, २०८३ असारमा निर्माण सकिने
तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रू’ (छिचोलिएको) भएको छ।
ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी जलविद्युत् उत्पादन गर्न निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाइसचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रूपमा स्वीच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रू’ भएको हो।
आयोजनाको जलाशयको मुहान (इनटेक)बाट शुरू भई पेनस्टक पाइप रहने स्थानसम्म एक हजार ४९३ मिटर लामो सुरुङ छ। यो सुरुङको व्यास ७.४ मिटर छ। सुरुङ छेडिएकाले अब कंक्रिट लाइनिङ अर्थात् सिमेन्ट हालेर सुरुङलाई बलियो पारिनेछ। मुख्य सुरुङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइप मार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ।
ऊर्जा, जलस्रोत तथा सिंचाइसचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको बताए। उनले यो जलाशययुक्त आयोजनाको अनुभवले दूधकोशी, नलगाढ, बूढीगण्डकी जस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउने बताए।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सुक्खा यामको विद्युत् माग र आपूर्तिको असन्तुलन हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने बताए। उनले आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिको १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माण छिटै अगाडि बढाइने बताए।
मुख्य संरचनाहरूलाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत पुगेको छ। समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ। प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करीब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण कार्य धमाधम भइरहेको छ।
आगामी असार दोस्रो साताभित्र जग खन्ने कार्य सम्पन्न गरी त्यसपछि मुख्य बाँधको जग निर्माण शुरू गर्ने लक्ष्य आयोजनाले राखेको छ।
प्याकेज-१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोंग दा कर्पोरेशन, भियतनाम-कालिका कन्सट्रक्सन नेपाल जेभीले काम गरिरहेको छ। आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत प्याकेज-२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेशन, चीनले गरिरहेको छ।
प्याकेज-३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको काम केईसी इन्टरन्याशनल लिमिटेड, भारतले गरिरहेको छ। ३४.७ किमि प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७६ वटा टावरको जग हालिएको छ भने ६२ वटा टावर खडा गरिएको छ।
यस आयोजनाको निर्माणमा ५० करोड ५० लाख अमेरिकी डलर (अहिलेको मूल्यमा करीब ६७ अर्ब रुपैयाँ) खर्च हुने अनुमान छ। आयोजनामा एशियाली विकास ब्यांक (एडीबी)ले १५ करोड अमेरिकी डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख अमेरिकी डलर, यूरोपियन लगानी ब्यांकले आठ करोड ५० लाख अमेरिकी डलर र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख अमेरिकी डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।
यो पनि पढ्नुहोस् : चार दशकपछि जलविद्युत् यात्रा जलाशयतिर