संसद्मा कांग्रेसको प्रश्न- ठूलो माछा काखी च्याप्ने, सानाको मात्रै छानबिन गरेर हुन्छ?
सरकारले ठूला माछालाई काखी च्यापेर साना माछामाथि मात्रै छानबिन गरिरहेको नेपाली कांग्रेसले आरोप लगाएको छ।
प्रतिनिधि सभाको आइतबारको बैठक शुरू हुने बित्तिकै कांग्रेसका सांसदले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरले कांंग्रेस सांसद सञ्जयकुमार गौतमलाई बोल्न समय दिएका थिए।
कांग्रेसका तर्फबाट संसद् बैठकमा बोल्दै सांसद गौतमले सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएर प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला माछालाई काखी च्याप्ने काम गरेको आरोप लगाए। उनले प्रधानमन्त्री दाहाललाई प्रश्न गरे, “ठूलो माछा काखीमा च्यापेर सानो माछाको मात्रै छानिबन गरेर हुन्छ?”
गोरखा मिडिया प्रालिका नाममा सहकारीका बचतकर्ताको ८० करोडभन्दा बढी रुपैयाँ हिनामिना गरिएको गौतमले स्मरण गराए। सहकारीबाट पैसा लिएर लगानी गर्दा गोरखा मिडियामा रहेका लामिछानेमाथि बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेको छ।
अहिले लामिछाने नै गृहमन्त्री हुँदा छानबिन प्रभावित भइरहेको सांसद गौतमको भनाइ थियो। प्रधानमन्त्री दाहाल र प्रहरी महानिरीक्षक वसन्त कुँवरको भनाइले त्यसको पुष्टि गरेको उनको जिकिर थियो। “जसमाथि छानबिन भइरहेको थियो, उहाँ नै गृहमन्त्री बन्नुभएको छ,” सांसद गौतमले भने, “प्रधानमन्त्रीजीले न्यायाधीश जस्तो, राजा महाराजा जस्तो क्लीन चिट दिनुभयो। सुरक्षा प्रमुखले समेत क्लीन चिट दिनुभयो।”
त्यसैले हजारौं बचतकर्ताले न्याय पाउनेमा आशंका उब्जिएको उनको भनाइ थियो। त्यसको छानबिनका लागि संसदीय समिति गठन गर्न आग्रह गरे।
उनले यो कानूनी मात्रै नभएर नैतिक प्रश्न भएकाले गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने जिकिर गरे। यसअघि आरोप लागेका व्यक्तिले राजीनामा दिएको प्रसंग सम्झाए। विदेशी ब्यांकमा खाता रहेको आरोप लागेपछि रामशरण महतले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। त्यस्तै, गोकुल बाँस्कोटा, जनार्दन शर्मा, शेरबहादुर तामाङले पनि संसद्मा प्रश्न उठेपछि राजीनामा दिएका थिए। यसअघिका उदाहरण पेश गर्दै सांसद गौतमले भने, “यो नैतिकताको पनि विषय हो। यसमा सरकार गम्भीर हुनुपर्छ।”
प्रधानमन्त्री दाहालले नै जोगाउन खोजेकाले कांग्रेसले यो विषय उठाइराख्ने उनको भनाइ थियो। संसदीय समिति गठन नहुँदासम्म विरोध जारी रहने गौतमले बताए।