कप्तानीमा फर्किए बाबर
क्रिकेट बाबर आजम पुनः पाकिस्तानको कप्तान नियुक्त भएका छन्।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को छनोट समितिको सर्वसम्मत सिफारिशमा बाबरलाई पुनः कप्तानको जिम्मेवारी दिइएको हो। पीसीबीका अध्यक्ष मोहसिन नक्वीले बाबरलाई ह्वाइट बल (एकदिवसीय र टी-२०)को कप्तानमा पुनःस्थापित गरेका हुन्।
यसअघि भारतमा सम्पन्न सन् २०२३ को एकदिवसीय विश्वकपमा टोलीको खराब प्रदर्शनपछि बाबरले कप्तानबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि टेस्ट टोलीको कप्तानी शान मसूदले पाएका थिए। यसबीच टी-२० को कप्तानी शाहीनशाह अफ्रिदीले गरेका थिए। एकदिवसीयका लागि भने कप्तान तोकिएको थिएन।
पीसीबीले बाबरलाई कप्तानको प्रस्ताव गरेको विषय केही दिनयता चर्चामा थियो। तर बाबरले आफूलाई तीनै फर्म्याटको कप्तानी दिइए मात्र कप्तानीमा पुनरागमन गर्ने बताएका थिए। यद्यपि अहिले उनलाई रेड बल (टेस्ट)को कप्तानी दिइएको छैन।
बाबर वर्तमानका उत्कृष्ट ब्याटर मानिन्छन्। उनी एकदिवसीय क्रिकेटका शीर्षस्थानका ब्याटर हुन्। यस्तै, टेस्ट क्रिकेटमा तेस्रो र टी-२० मा चौथो स्थानमा छन्।