महालेखा परीक्षकमा तोयम राया
संवैधानिक परिषद्ले तोयम रायालाई महालेखा परीक्षक पदमा नियुक्तिका लागि सिफारिश गरेको छ।
आइतबार बसेको परिषद्को बैठकले नेपाल सरकारका विशिष्ट श्रेणीमा कार्यरत रायालाई महालेखा परीक्षक पदमा नियुक्तिका लागि सिफारिश गरेको हो। राया हाल राष्ट्रिय तथ्यांक कार्यालयका सचिव छन्।
महालेखा परीक्षक पदमा नियुक्तिका लागि मागिएको आवेदनमा १५ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा नेपाल सरकारका पूर्व सचिवहरू गोपीनाथ मैनाली, शिशिर ढुंगाना लगायत थिए।
यसअघिका महालेखा परीक्षक टंकमणि शर्माको कार्यकाल गत जेठ ७ मा सकिएपछि उक्त पद रिक्त थियो। परिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले रायालाई महालेखा परीक्षक नियुक्त गर्नेछन्।
रायालाई महालेख परीक्षक नियुक्त गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जोड दिएका थिए। ओलीकै प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहालले परिषद् बैठकबाट निर्णय गराएका हुन्।