कीचकवध उत्खनन : भेटिए २२ सय वर्ष पुराना पाँच भवनका संरचना
पुरातत्त्व विभागको उत्खननबाट झापाको भद्रपुर नगरपालिका-३, पृथ्वीनगरस्थित कीचकवधमा दुई हजार २०० वर्ष पुराना पाँच वटा भवनका संरचना भेटिएका छन्।
पुरातत्त्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्ने सहितको अर्को भवन, सोही भवनको केही दक्षिणपश्चिममा अर्को बहुतले भवन फेला परेको जानकारी दिए। पुरातत्त्वविद् आचार्यले चारवटै भवनको दक्षिणमा करीब २०० फिटको दूरीमा सुरक्षाकर्मी बस्ने अर्को दुईतले भवन गरी पाँच भवनका संरचना फेला परेका बताए।
आचार्यका अनुसार यस स्थलको मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुनेछ। “शायद अर्को सालसम्म उत्खनन पूरा हुन्छ। अझ गहिराइसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकालभन्दा अगाडि जाने संकेत पाइएको छ,” पुरातत्त्वविद् आचार्यले भने।
उनले हाल उत्खनन गरिएको क्षेत्रमा रूखहरू भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचकवधस्थलभित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए।
पुरातत्त्व विभागले कीचकवधमा २०५८ सालमा पहिलो पटक उत्खनन गरेको थियो। उक्त उत्खनन पुरातत्त्वविद् आचार्यकै नेतृत्वमा भएको थियो। त्यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा उत्खनन भएको थियो। यस पटकको उत्खनन सातौं हो। -रासस