विप्लव प्रतीकले ल्याए ‘शाडेनफ्रोएडा’
कवि विप्लव प्रतीकको पुस्तक शाडेनफ्रोएडा शनिबार विमोचन गरिएको छ।
साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका विप्लवले हाइकुसंग्रह ल्याएका हुन्। संगीतकार न्ह्यू बज्राचार्य, अभिनेता सुनील थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनले पुस्तकको विमोचन गरेका छन्।
पुस्तक विमोचन समारोहमा बोल्दै विप्लवले भने, “कविता सुनाउन भक्तपुर गएका बखत ख्याल ख्यालमै लेखेको एउटा हाइकुले मलाई यहाँसम्मको यात्रा गराएको हो।”
तीन हरफमा जम्मा १७ अक्षरभित्र जीवन र दर्शनको उथलपुथललाई उतार्नुपर्ने हाइकुले शब्दको किफायत गर्दै सशक्त अभिव्यक्ति पस्कन सिकाउने उनको भनाइ थियो। “हाइकुको किताबले बजारलाई खासै आकर्षित नगर्ला भनेर मैले निजी संग्रहमै सीमित राखेको थिएँ,” विप्लवले भने, “बजारलाई हेरेर नभई कृतिका आधारमा प्रकाशन गर्ने तर्कका साथ पब्लिकेशन्स नेपालयका सम्पादक तथा प्रकाशकले तत्परता देखाएकोमा आभार प्रकट गर्छु।”
लेखनका अन्य विधासँगै काव्य विधालाई पनि फैलाउन प्रयत्नशील रहेको पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले बताइन्। मास्केले भनिन्, “पहिलो पटक हाइकुहरूको संग्रह प्रकाशन गर्न पाउँदा खुशी लागेको छ।”
पुस्तकको मूल्य ४९५ रुपैयाँ रहेको छ। नेपालयले भौतिक पुस्तक सँगसँगै ईबूक पनि बजारमा ल्याएको छ।